कृषि व्यवसायीकरणमा खाद्य स्वच्छताको भूमिका

  • मुख्य आलेख
  • १. बिषय प्रवेष  

    नेपालमा करिव ६५ % जनता कृषि पेशामा आश्रीत रहेका छन् l कुल ग्राहस्थ उत्पादनमा करिव ३२ % कृषि क्षेत्रको योगदान रहेको छ l तिब्र गतिमा जनसंख्याको वृद्धि, शहरीकरण, खेतीयोग्य जमिनको सीमितता, जग्गाको खण्डिकरण, प्रम्परागत खेती प्रणाली, कृषि श्रमिकको बैदेशिक रोजगारीमा आकर्षण आदिको कारणले खेतीयोग्य जमिन बाँझो रहन गइ दिन प्रतिदिन उत्पादन घट्दै गएको छ l परिणाम स्वरुप सन् १९७० ताका खाद्यान्न निर्यात गर्ने हाम्रो देश क्रमश: खाद्यान्न आयात गर्ने राष्ट्र बन्दै गएको छ l

    हामीले खाने प्रमुख खाद्य बस्तु कृषि वा पशुजन्य उपज नै हुन् l खाद्य बस्तु स्वच्छ र गुणस्तरीय हुन पर्दछ l स्वच्छ खानाले हाम्रो शरीरमा शक्ति प्रदान गर्ने, वृद्धि बिकास गर्ने, घाउचोट निको पार्ने र रोगसंग लड्ने प्रतिरोध क्षमता बढाउने गर्दछ l हामीले दैनिक रुपमा जे जति काम गर्दछौं, त्यो खानामा पाइने पोषक तत्त्वहरु र तिनको प्रभावको परिणाम हो l हामीले खाने खाना स्वच्छ र गुणस्तररिय नभएमा विभिन्न रोगहरु लाग्दछन्, फलस्वरूप व्यक्तिको कार्यसम्पादन घट्दछ र अपेक्षित नतिजा प्राप्त हुँदैन l त्यसैले विद्वानहरुले भन्ने गरेका छन् “तिमि जस्तो खान्छौ, त्यस्तै हुन्छौ” l

    परम्परागत खेती प्रणालीमा आफ्नो घर परिवारका लागि खाना पुग्ने गरी अन्न बाली उत्पादन गर्ने गरिन्छ l व्यवसायिक खेती प्रणालीमा निश्चित बाली बस्तु आफ्नो परिवारको उपभोगका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा समेत बिक्रि वितरण गर्ने उद्देश्य राखी उत्पादन गर्ने गरिन्छ l यस लेखमा खाद्य स्वच्छताको परिचय, कृषि उत्पादनमा खाद्य स्वच्छता कायम राख्ने उपाय र कृषिको व्यवसायिकरणमा यसको भूमिका बारे चर्चा गरिएको छ l

     

    २. खाद्य स्वच्छता र गुणस्तर

    कुनै खाद्य तथा पेय पदार्थको उपभोगले उपभोक्ताको स्वास्थ्यमा तत्कालिन तथा दीर्घकालिन हानी नोक्सानी हुँदैन भने त्यो खाद्य बस्तुलाई स्वच्छ भएको मानिन्छ l खाद्य बस्तुको उत्पादनदेखि उपभोगको चरणसम्म आँउदा असल कृषि अभ्यास, सही तरिकाले बाली कटानी, ग्रेडिङ्ग, उचित प्रशोधन, प्याकेजिङ्ग, भण्डारण, वितरण गरिएन भने खाद्य पदार्थको स्वच्छता बिग्रन सक्छ l संक्षेपमा भन्नुपर्दा खाने वा पिउने बस्तुका माध्यमबाट तत्कालीन वा दीर्घकालीन कुनै शारीरिक हानि नहोस् वा रोग व्याधी नलागोस् भन्ने पक्षलाई खाद्य स्वच्छता शब्दले संकेत गर्दछ l खाद्य गुणस्तरले उपभोक्ताको समग्र सन्तुष्टि, पोषक तत्त्व, भौतिक तथा रासायनिक गुण लगायत खाद्य ऐन नियमले तोकेका विविध पक्षहरु समेतमा जोड दिन्छ l  स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ प्राप्त गर्नु आम उपभोक्ताको अधिकार हो l

    ३. खाद्य स्वच्छतामा असर पार्ने प्रमुख कारक तत्त्वहरु

    खाद्य बस्तुको स्वच्छता बिगार्ने प्रमुख कारक तत्त्वहरु ३ वटा रहेका छन् l भौतिक, रासायनिक र जैविक l खाद्य पदार्थको उत्पादनदेखि उपभोगको चरणसम्म आउँदा असल कृषि अभ्यास, उचित समयमा बाली कटानी,  सही परिचालन, उचित प्रशोधन, प्याकेजिङ्ग, भण्डारण, वितरण नभएमा यी कारक तत्त्वहरु खाद्य पदार्थमा प्रवेश गर्दछन् र खाद्य बस्तुको स्वच्छता बिगार्ने कार्यमा सहयोगी हुन्छन् l

    क) भौतिक कारक तत्त्वहरु  

    उत्पादनको क्रममा ढुङ्गा, माटो, किला, फलाम तथा प्लाष्टिकका टुक्रा, सन्पाट, प्वाँख, मरेका किराका खापटा, सडे-गलेका खाद्य अंश, काठ, बाँस, छेस्का, डोरी, मुसाको लिँड, चराको विष्टा, आदि जस्ता बाह्य बस्तुहरु खाद्य पदार्थमा मिसिन सक्दछन् l यस्ता बाह्य बस्तुलाई भौतिक कारक तत्त्वको रुपमा लिने गरिन्छ l खेतबारीबाट बाली भित्र्याउने क्रममा थुपार्ने खलो, चउर, मैदानमा सुकाउँदा तथा प्रारम्भिक प्रसोधन कार्य गर्दा यस्ता बाह्य तत्त्वहरु खाद्य पदार्थमा मिसिन सक्छन् l यसैगरी चरा, मुसाको आक्रमण, कीराको आक्रमण समेत भएको हुन सक्छ l खाद्य पदार्थमा त्यस्ता बाह्य भौतिक बस्तुको प्रवेशलाई न्युनिकरण गर्न निम्न कुरामा विशेष ध्यान दिनु पर्दछ:

    • बाली तयार (पाकेपछि) भएपछि मात्र काट्ने,
    • बाली राम्ररी सुक्न दिने,
    • सुकाउने खलो, खमार, मैदान सदैव सफा राख्ने,
    • चरा, कीरा, मुसाको आक्रमण हुनबाट जोगाउने उपाय गर्ने,
    • खाद्य गोदाम सदैव सफा राख्ने,
    • उत्पादन स्थलको सर-सफाईमा बिशेष ध्यान दिने l

    ख) रासायनिक कारक तत्त्वहरु

    बालीनाली वा पशुपंक्षीको उत्पादकत्व बढाउन रासायनिक तत्त्वहरुको प्रयोग गरिन्छ l कृषि बालीको उत्पादन बढाउन, रोग व्याधीबाट जोगाउन विभिन्न प्रकारका रासायनिक मल, कीटनाशक विषादी प्रयोग गरिन्छ l त्यस्तै, पशुपालन व्यवसायमा पशुपंक्षीको उत्पादन बढाउन, रोगव्याधी लाग्नबाट बचाउन र बिरामी भएपछि उपचार गर्न बिभिन्न प्रकारका औषधिहरु खुवाउने गरिन्छ l उत्पादनको क्रममा प्रयोग गरिएका यी रासायनिक तत्त्वहरु अवशेष (residues) को रुपमा हाम्रो खाने कुराहरुमा आँउछन् l यी अवशेषहरु खानाको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्छन् l खाद्य पदार्थमा यी अवशेषहरुको मात्रा तोकिएभन्दा बढी भएमा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष वा परोक्ष रुपमा असर पर्दछ l खाद्य पदार्थमा यस्ता रासायनिक तत्त्वको अवशेषलाई न्युनिकरण गर्न निम्न कुरामा विशेष ध्यान दिनु पर्दछ:

    • अनावश्यक रुपमा विषादी नछर्कने,
    • अस्वीकृत विषादी नछर्कने,
    • एकीकृत शत्रुजीव व्यवस्थापन (आई.पी.एम.) विधि अनुसरण गर्ने,
    • जथाभावी बिषादी तथा हर्मोनको प्रयोग नगर्ने,
    • प्राविधिकको रेखदेखमा मात्र विषादी छर्कने,
    • विषादी छर्कदा सुरक्षाका उपाय पूर्ण रुपले अपनाउने,
    • विषादी छर्कि सके पछिका खाली बट्टा, बोटल जलाइदिने वा गाडिदिने,
    • विषादी, उब्रेको विषादी वा बट्टा, बोटललाई नदीखोला, खेतबारी वरीपरी वा घर वरिपरि नफाल्ने,
    • विषादी प्रयोग भएका खाली बोटल, बट्टा, टोक्री आदिमा खाद्य पदार्थ नराख्ने l

    ग) जैविक कारक तत्त्वहरु

    खाद्य पदार्थको स्वच्छता बिगार्ने तेस्रो कारक तत्त्व जैविक तत्त्वहरु हुन् l यी तत्त्वहरु सुक्ष्म जीवाणु, कीरा, चरा, मुसा, कुकुर, बिराला, जन्तु जनावर, ढुसी, पारासाइट, भाइरस (विषाणु) आदिको रुपमा/मार्फत खाद्य पदार्थमा प्रवेश गर्दछन् l चरा, मुसा, कुकुर, बिराला र अन्य जीव जन्तुबाट खाद्य पदार्थ प्रदुषित भई विभिन्न जीवाणु र भाइरसको संक्रमण हुन सक्छ l अन्न बाली राम्ररी नसुकाई भण्डारण गरिएमा ढुसी लाग्दछ l कुनै बिशेष जातको ढुसीले अफ्लाटक्सिन नामक हानिकारक बिष उत्पादन गर्छ l प्राम्भिक कृषि उत्पादनमा भन्दा तयारी खाद्य पदार्थमा जैविक कारक तत्त्वहरुको असर बढी जोखिमपूर्ण हुन्छ l खाद्य पदार्थमा जैविक तत्त्वको प्रवेशलाई न्युनिकरण गर्न देहायका कुरामा विशेष ध्यान दिनु पर्दछ:

    • सर-सफाईमा ध्यान दिनुपर्छ l
    • खाद्य पदार्थको प्रकृति हेरी विविध खालका प्रशोधन विधि अपनाउनु पर्छ l
    • ढुसी परेको टुक्रा वा दाना थुप्रोबाट तुरुन्त हटाउनु पर्छ l
    • ढुसी परेको भाँडाकुडा, बोरा, बाकस जस्ता प्याकेजिङ्ग सामग्री प्रयोग गर्नु हुँदैन l

    ४. कृषिको व्यवसायीकरणमा खाद्य स्वच्छता

    निश्चित बाली वा कृषिजन्य उपज आफ्नो उपभोगका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा समेत बिक्रिवितरण गर्ने उद्देश्य राखी उत्पादन गर्ने कार्य कृषि व्यवसायीकरण हो l कृषिको व्यवसायीकरणका लागि उन्नत बीउबिजन, रोग किरा नियन्त्रण, मलखाद, सिंचाई र कृषि यान्त्रिकरणमा लगानी बढाउनु पर्दछ l यसले मात्रात्मक रुपमा उत्पादन बढाउन मद्धत गर्दछ l  यसको लागि सरकारले साना किसान सहकारी र निजि क्षेत्र बिशेष गरि ठुला व्यापारिक गृहलाई समेत कृषिमा लगानी गर्न प्रेरित गर्नु पर्दछ l

    कृषिको व्यवसायीकरण हुन अर्को महत्वपूर्ण पक्ष बजार हो l बजार भन्नाले राष्ट्रिय, अन्ताराष्ट्रिय हुन सक्छ l बजार भन्नाले कृषिजन्य उद्योग पनि हुन् जहाँ प्रारम्भिक कृषिजन्य उपजकोको ग्रेडिङ्ग, प्रशोधन, उत्पादन विविधिकरण, प्याकेजिङ्ग र भण्डार गरिन्छ l बजारको सुनिस्चितता नभई लगानीकर्ता कृषिमा आकर्षित हुँदैनन् l त्यसैले, बजार सुनिस्चित गर्ने कार्यमा सरकारले सहयोगी भूमिका निभाउनु पर्दछ l बजारले त्यस्तो खाद्य बस्तु स्वीकार गर्दछ, जसमा स्वच्छता र गुणस्तर तोकिएको मापदण्ड भित्रको हुन्छ l अर्को शब्दमा भन्नु पर्दा, स्वच्छ र गुणस्तरीय खाद्य बस्तु मात्र बजार (उद्योग, अन्तरिक तथा बाह्य उपभोक्ता) ले स्वीकार्छ l

    नेपालका कृषिको बिकासको रणनीति तयार गर्दा निम्न सवालहरुलाई मध्यनजर राख्नु पर्ने आवश्यकता मैले देखेको छु: नेपालमा फलेको आलु किन आलुचिप्स उद्योगलमा उपयोग हुँदैन ? सिराहा-सप्तरी जिल्लामा फलेला काँचा आँप किन अचार उद्योगमा प्रयोग हुँदैनन् ? त्यहाँ फालेका पाकेका आँप किन जुस उद्योगले किन्दैनन?  चितवनमा फलेको बन्दाकोवी र काउली किन सावर्क्रट तथा अचार  बनाउन प्रयोग भएका छैनन् ? इलामको किवीबाट किन जाम सर्वत बनाउने काम भएको छैन ? हाम्रा माछा जोनमा उत्पादन भएका माछा किन क्यानिङ्ग गरिंदैन ? बियर बनाउन प्रयोग हुने जौको खेती नेपालमा किन गरिंदैन ? नेपाली मैदा मिलमा प्रयोग हुने गहुँ किन भारतबाट आयात हुन्छ ? तोरी तेल बनाउने कारखानाले चितवन र मोरङ्गको तोरी किन पाउन छोडे ? नेपाली दाना उद्योगले प्रयोग गर्ने मकै, गहुँ किन विदेशबाट मात्र आयात गरिन्छ ? आदि आदि l

    मेरो बुझाइमा यी सबै प्रश्नको उत्तर हो- हाम्रो कृषिमा व्यवसायिकरण हुन सकेको छैन l हाम्रा कृषिजन्य उत्पादनमा बान्छनीय गुणस्तरको कमी छ l हामी २-४ डोको तरकारी फलाउँछौं, त्यसमध्ये कहिलेकाँहि २-४ के.जि. बिक्रि भएन भने समाचार बनाउँछौँ l हामीले बजार भनेको साप्ताहिक हाटबजार हो भन्ने मात्र बुझ्यौं, जहाँ २-४ डोका सामान बिक्रि हुन्छ l लाखौँ टन कृषिजन्य कच्चा पदार्थ खपत हुने उद्योग र बाह्य बजारलाई  हामीले बजार नै देखेनौं l

    उल्लेखित समस्याको समाधानका लागि खाद्य बस्तुको उत्पादनदेखि उपभोगको चरणसम्म आँउदा असल कृषि अभ्यास, सही तरिकाले बाली कटानी, ग्रेडिङ्ग, उचित प्रशोधन, प्याकेजिङ्ग, भण्डारण, वितरण गरिनु पर्दछ l उत्पादनको शुरु बिन्दुदेखि उपभोगको चरणसम्म खाद्य स्वच्छता र गुणस्तर कायम हुनु पर्दछ l यसो भए मात्र कृषि उपजको बजार सुनिस्चित हुन्छ, ठुला लगानीकर्ता आकर्षित हुन्छन् र कृषिको व्यवसायीकरणमा टेवा पुग्दछ l कृषिको व्यवसायीकरण भएमा खाद्य श्रृङ्खलाका सबै चरणमा क्रियाशील व्यक्तिको आम्दानी बढ्ने र उनीहरुको जीवन शैली गुणस्तरीय हुने हुन्छ l जसले गर्दा समग्र कृषि व्यवसाय नै भरपर्दो र टिकाउ हुनजान्छ l खाद्य श्रृङ्खलाका प्रत्येक चरणमा खाद्य स्वच्छता कायम गर्नाले देहायका उपलब्धी हाँसिल हुन्छन्:

    • स्वच्छ दाना पदार्थको उपभोगबाट पशु स्वास्थ्य, उत्पादन र उत्पादकत्वमा वृद्धि हुन्छ l
    • स्वच्छ खाद्य पदार्थबाट उपभोक्ताको स्वास्थ्यमा सकारात्मक हुन्छ l
    • कृषिजन्य उपजको निर्यातमा आउन सक्ने अवरोधबाट बचाउंछ l
    • खाद्य तथा कृषि उपजको व्यापार व्यवसायमा पारदर्शिता र अनुशासन कायम गर्छ l
    • कृषि व्यवसायिकरणमा टेवा पुर्याउंछ l

    ५. निष्कर्ष  

    खाद्य स्वच्छता कायम गर्ने कार्य बहुआयामिक तथा बहुपक्षिय कार्य हो l यसमा गोठदेखि ओठसम्म तथा आलिदेखि थालिसम्म विभिन्न पक्ष/पात्र क्रियाशिल रहेका हुन्छन् l यसमा कृषि बैज्ञानिक, खाद्य बैज्ञानिक, कृषि अभियन्ता, अर्थशास्त्री, उद्योगी व्यवसायी समेतको महत्वपूर्ण भूमीका रहेको हुन्छ l खाद्य श्रृङ्खलामा कृषि उत्पादक (कृषक), ढुवानीकर्ता, सङ्कलनकर्ता, वितरक, प्रशोधनकर्ता (उद्योगी), थोक तथा खुद्रा बिक्रेता, उपभोक्ता, संचार माध्यम, र नियमनकारी निकाय (सरकार) आदि, रहेका हुन्छन् l यस श्रृङ्खलाका सबै पक्ष/पात्रले खाद्य स्वच्छतामा टेवा पुग्ने गरी कर्म गरे मात्र स्वच्छ र गुणस्तरीय खाद्य वस्तु बजारमा उपलब्ध हुन्छ l उत्पादित उपज स्वच्छ र गुणस्तरीय भए मात्र त्यसलाई बजारले स्वीकार्छ l उत्पादित बस्तु बजारले स्वीकार गरेमा कृषिमा लगानी बढ्छ l कृषिमा लगानी बढे, उत्पादन बढ्छ र समग्रमा कृषि क्षेत्रको व्यवसायीकरण हुनेछ  l

    बरिष्ठ खाद्य अनुसन्धान अधिकृत, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा

    © 2025 krishipatra All right reserved