लुम्बिनी प्रदेशमा दुध उत्पादनमा ह्रास

लुम्बिनी : लुम्बिनी प्रदेश दुधमा आत्मनिर्भर छ । तर पछिल्लो समय गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग तथा कोराना महामारीपछि पशु पालनबाट धेरै किसान पलायन भएकाले दुघको उत्पादन घट्दो क्रममा छ । दैनिक एक हजार पाँच सय ७२ मेट्रिक टन दुध उत्पादन हुन्थ्यो । अहिले दैनिक दश हजार लिटर दुध कम उत्पादन भैरहेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयको कृषि तथा पशुपन्छी विकास महाशाखाका पशु विकास अधिकृत हुमकान्त पाण्डेले जानकारी दिए । त्यसो त प्रदेशमा दैनिक हुने खपटबाट अझै १२ हजार लिटर दुध अन्य प्रदेशमा बिक्री भैरहेको छ । रोगको महामारी दुधको लागत अनुसारको मुनाफा हुन छोडेपछि धेरैले पेशा फेरेका छन् । जसको असर उत्पादनमा परिरहेको छ ।
दुध क्षेत्रको दिगो विकास आर्थिक समृद्धीको आधार भन्ने मूल नाराका साथ बिहिबार दाङको भालुबाङमा विश्व दुध दिवस मनाइएको छ । कृषि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकारीहरुले दुधमा एक महत्वपूर्ण पोषण खाद्यपदार्थ पाइने भएकोले सेवन बढाउनुपर्ने उल्लेख गरे । एक व्याक्तिलाई वार्षिक ९१ लिटर दुध पर्याप्त हुने पशु प्राविधिकहरुको भनाई छ । कार्यक्रममा बोल्दै कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारी लाल अहिरले बजारमा अस्वस्थकर दुध बिक्री भैरहेको र स्वच्छ र पौष्टिक तत्व पुरा भएको दुध बिक्रीकालागि अनुगमन बढाउनुपर्ने बताए ।
बजारमा पाउने पेय पदार्थको साटो दुध र दुधबाट बनेका परिकारको सेवन बढाउने उद्देश्यले दुग्ध दिवस मनाउँदै आएको कषि सचिव याम नारायण देवकोटाले बताए । पशुपालनलाई व्यवसायीकरण गर्दै दुधको उत्पादन बढाउन प्रदेशमा अहिले उत्पादनमा आधारित अनुदान दिन थालेको देवकोटाले बताए ।
अनुदान वितरणमा गैर किसान हाबी भएको गुनासो बढ्दै गएका बेला अनुदानमा समान पहुँच बनाउन प्रतिफलमा आधारित अनुदान वितरण गर्ने कार्य उपयुक्त हुने अगुवा किसानहरुको भनाई छ । यो वर्ष दुध र मासु उत्पादकलाई प्रदेशले सात करोड अनुदान दिँदै गरेको कृषि तथा पशुपन्छी विकास महाशाखा प्रमुख घनश्याम चौधरीले बताए । महामारीले व्यवसायबाट मुनाफा नआइरहेका बेला अनुदानले केही राहत मिल्ने किसानहरुले भनाई छ । मन्त्रालयले दुधको उत्पादन बढाउन उन्नत नस्लका पाडापाडी, बाछाबाछी उपलब्ध गराउने तथा गाईभैँसीलाई पोषण युक्त आहार कसरी पुर्याउन सकिन्छ आगामी बजेट मार्फत सम्बोधन गर्न थालेको पशु विकास अधिकृत लोकराज भुसालले बताए । लुम्बिनी प्रदेशमा २४ लाख बढी गाई भैँसी रहेको तथ्यांक छ । जसबाट वार्षिक पाँच लाख ७३ हजार आठ सय २६ मेट्रि«क टन दुध उत्पादन हुने गरेको छ । प्रदेशले दुधको विविधिकरणमा अनुदान दिन थालेपछि व्यवसाय स्तरबृद्धि गदै दुधबाट धेरै परिकार बनाउन थालेका छन् ।

© 2024 krishipatra All right reserved