५ हजार किसान स्वरोजगार बनाउने योजनामा पौडेल

  • नेपालकै पहिलो फ्रेन्च फ्राईज उद्योग स्थापना
  • बुटवल, जेठ । कुनै दिन हातमुख जोर्नको लागि लाहुर (दिल्ली) पुगेका गुल्मी पुर्कोट दहका कृष्णप्रसाद पौडेल अहिले सफल तथा उदियमान उद्यमीको रुपमा स्थापित हुनु भएको छ । २०५८ सालमा बुटवलमा मासु व्यवसाय सुरु गर्नु भएका पौडेलको उक्त व्यवसाय आधुनिक मासु प्रशोधन उद्योगको रुपमा स्थापित भएको छ भने फ्रेन्च फ्राईजको आयात प्रतिस्थापन गर्न नयाँ उद्योग सञ्चालनको तयारीमा छ । हुन त दिल्लीको एउटा मासु पसलमा काम गरिरहेका पौडेललाई नेपाल आएर केही गरौंला भन्ने मनमा त्यस्तो केही थिएन ।

    त्यहाँ काम गर्दा प्रत्येक शनिबार जसो नेपालीहरुको एकता समाजमा भेटघाट हुने गर्थ्यो । त्यसबेला त्यहाँ पौडेल सहित ४–५ जना साथीहरुको विचमा दिल्लीमै आफ्नै केही व्यवसाय गर्ने सल्लाह भएको थियो । त्यो सल्लाह त्यत्तिकैमा तुहियो । उहाँ नेपाल आउनु भयो । २०२९ सालमा गुल्मीको पुर्कोट दहमा जन्मिएका पौडेलको परिवारमा साँझ विहानको हातमुख जोर्न पनि गाह्रो थियो । कक्षा ६ सम्म गाउँकै विद्यालयमा अध्ययन गरेका पौडेल त्यसपछिको दुई वर्ष दाङमा भान्से बनेर काम गर्नुभयो । त्यसपछि गाउँमै फर्किएका पौडेलको एसएलसी परीक्षा सफल हुन सकेन ।

    त्यसबेला गाउँमा लाहुर जाने चलन थियो । उहाँ पनि पैसा कमाउनको लागि दिल्ली जानु भयो । उहाँमा कुनै कामको सीप थिएन भने भाषाको पनि समस्या थियो । ६ महिना जति एउटा कम्पनीको क्यान्टिनमा भाडा माझ्ने काम गर्नुभयो । उहाँमा कामप्रतिको लगाव देखेर एक जनामालिकले आफ्नो मासुको पसलमा लगे । त्यसक्रममा आफैले काम गर्ने उक्त मासु पसलमा भारत सरकारले एउटा ६ महिने तालिम चलाएको थियो । त्यो तालिममा पौडेल पनि सहभागि हुने अवसर पाउनु भयो । जर्मनका प्राविधिकहरुले तालिम दिएका थिए । तालिममा मासुको गुणस्तर, हाईजिन लगायतका धेरै कुरा सिक्नु भएको थियो ।
    यो सीप सहित नेपाल आएका पौडेल बुटवलमा मासु किन्न जाने क्रममा त्यहाँको दुरावस्थाले मासुको व्यवसायप्रति आकर्षित गर्यो । त्यहाँ माखा झिंगा भन्कीरहेका थिए । धुलो पनि त्यस्तै थियो । त्यो देखेपछि उहाँले मासु नकिनी फर्किनु भयो । ’मासु नै गरौंला भन्ने मेरो मनमा थिएन, घर बनाउने काम भईरहेको थियो । अरु नै केही गरौंला भनेको थिए ।’ उहाँले भन्नुभयो । यो घटनाले नै उहाँलाई मासु व्यवसाय प्रति आकर्षित गरेको हो । मापदण्डको पालना सहित दुईवटा खसी र १० वटा कुखुराबाट क्वालिटि फ्रेस हाउस सुरु गर्नुभएको थियो । जसको अहिले कारोवार टनमा हुने गरेको उहाँ बताउनु हुन्छ । आवश्यकताको पहिचान त्यसमा आफ्नो मेहनत, लगनशिलताले नै सफलताको सिढिमा अगाडी बढाएको उहाँ बताउनु हुन्छ ।
    मासुको तयारी उत्पादन तथा निर्यात गर्दै आउनु भएको पौडेलले झन्डै २ अर्बको लगानीमा फ्रेन्च फ्राइज उद्योग सञ्चालनको तयारीमा हुनुहुन्छ । फ्रन्च फ्राईजमा राम्रो सम्भावना देखिएकाले आयात प्रतिस्थापन हुनेगरी नेपालमै उत्पादनको तयारी गरिएको उहाँ बताउनु हुन्छ।
    पौडेलका अनुसार गएको वर्ष पाँच हजार सात सय टन फ्रेन्च फ्राइज आयात भएको थियो । फ्रेन्च फाइज आयात गर्नु भनेको फ्राइ गर्न तयारी अवस्थाको चाना आलु विदेशबाट ल्याउनु हो । पौडेलका अनुसार नेपालमा हाल भारत, बेल्जियम र अन्य केही मुलुकबाट आलुको परिकार मात्रै वार्षिक कम्तीमा १५ अर्ब रूपैयाँको आयात हुन्छ । पौडेल आफैले पनि भारतको अहमदावादबाट फ्रेन्च फ्राइज आयात गरेर नेपालका होटलमा सप्लाई गर्नुहुन्थ्यो ।

    आयात प्रतिस्थापनको लक्ष्य सहित रुपन्देहीको शुद्धोधन गाउँपालिका–४, मैनहियामा ‘फस्ट च्वाइस फुड्स प्रालि’ उद्योगको संरचना निर्माणको काम भईरहेको छ । उद्योगले प्रतिघण्टा दुई टन फ्रेन्च फ्राईज उत्पादन गर्ने छ । जसमा करिव सय जनाले प्रत्यक्ष रोजगारी पाउने छन् भने कम्तिमा ५ हजार किसान स्वरोजगार हुने छन् ।

    #udojbypar patrika@ BUtwal udojbanja sanga

    © 2023 krishipatra All right reserved