बुटवल, बैशाख ।
किसानबाट दुध ल्याएर पैसा नदिने बुटवलका दुई वटा पसलमा किसानले दिदै आएको अनिश्चितकालिन धर्ना कार्यक्रम स्थगित गरेका छन् । बुटवलको पाठक डेरी र कस्तुरी मिष्ठान्न भण्डारले किसानलाई बक्यौता बापतको चेक दिएपछि किसानले आन्दोलन स्थगीत गरेका हुन । यद्यपी किसानले प्राप्त गरेको चेक साटिएको भने छैन ।
किसानले अनिश्चितकालीन धर्ना शुरु गरेपछि दुध खरिद गरेवापत दिनुपर्ने रकम तिर्न बुटवलका दुई वटा पसल वाध्य भएका छन् ।
बुटवलको कस्तुरी मिष्ठान्न भण्डार र पाठक दुध डेरीले सैनामैनाको सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थालाई दुध खरिद वापतको रकम नदिएपछि किसानहरु सालझण्डीबाट बुटवल आएर ब्यानरसहित पसलमा धर्ना शुरु गरेका थिए । किसानको धर्नाले व्यवसायमा असर र प्रतिष्ठामा धक्का लाग्ने देखेपछि दुबै पसलले रकम तिर्न सहमत भएका सहकारी संस्थाका अध्यक्ष तिलकराम घिमिरेले बताए ।
घिमिरेका अनुसार कस्तूरी मिष्ठान्न भन्डारले १३ लाख ७० हजार ४ सय रुपैयां मध्ये ३ लाख ३१ हजार नगद र बांकी रकम १५ दिनभित्र साटिने गरी चेक दिएको छ । यस्तै पाठक दुध डेरीले ११ लाख ६० हजार रुपैयां मध्ये एक लाख ६० हजार नगद मंगलबार दिने र बांकी रकमको चेक एक हप्ताभित्र साटिने गरी दिएपछि धर्ना स्थगित भएको अध्यक्ष घिमिरेले बताए ।
‘चेक साटिने दिनसम्मका लागि दुबै पसलको धर्ना स्थगित गर्ने सहमति भएको छ’–सहकारीका अध्यक्ष घिमिरेले भने–‘पटक पटक चेक दिने तर पैसा नभएको चेक दिएर किसानलाई झुक्काउंदै आएकाले वाध्य भएर अनिश्चितकालीन धर्नामा उत्रिनुपरेको हो, अब किसानलाई दुख दिने काम कतै नहोस् भन्ने मात्रै हाम्रो आन्दोलनको उद्देश्य हो ।’ किसानको रकम रोकिंदा गाई भैंसीलाई दाना, घांस , पराल र औषधि उपचार सबै प्रभावित भई दुध उत्पादन कम हुने भएकाले किसमानको पैसा रोक्न नहुने अध्यक्ष घिमिरेले भने । butwal today