मकै खेतीगर्ने किसानलाई बुटवलले दियो कृषि सामग्री

 बुटवल, चैत ।  बुटवल उपमहानगरपालिकाले बुटवल १४ मा मकै खेती गरिरहेका किसानलाई कृषि सामग्री उपलब्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तरगत बुटवल उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा मकै पकेट क्षेत्रका लागि पावर टिलर, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, मकै पिस्ने मेसिन, त्रिपाल, जैविक मललगायतका सामग्री र उपकरण उपलब्ध गराएको हो । शनिबार बुटवल १४ मोतीगञ्जमा आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीगञ्ज मकै पकेट सञ्चालन समन्वय समितिलाई उपकरण तथा सामग्री हस्तान्तरण गर्नुभयो । उपकरण तथा सामग्री हस्तान्तरण गर्दै पाण्डेयले तिनाउ पश्चिमका वडाहरुलाई कृषि उत्पादनमा अब्बल बनाउनका लागि उपमहानगरपालिकाले काम गरिरहेको बताउनुभयो । उहाँले किसानलाई लाभ हुने गरी गरिने खेतीमा बुटवल उपमहानगरपालिकाले सबै खालका सहयोग गर्ने बताउनुभयो ।

नगरप्रमुख पाण्डेयले कृषि उत्पादनलाई बजारीकरण गर्नका लागि बुटवल उपमहानगरपालिकाले प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले बुटवल उपमहानगरपालिकाले मकै पकेट सञ्चालन समन्वय समितिलाई मकै बिक्रीका लागि सटर उपलब्ध गराउने तयारीमा रहेको बताउनुभयो । बुटवल उपमहानगरपालिकाले ११ लाख २२ हजार रुपैयाँ अनुदान दिएर किसानलाई प्रोत्साहन गरेको उपमहानगर कृषि विकास शाखा प्रमुख सन्तोष जीसीले बताउनुभयो ।

उहाँले मकै पकेट विकास कार्यक्रममा आवद्ध किसानलाई मल, बिउ, कृषि यन्त्र आदिमा ५० प्रतिशत अनुदान उपमहानगरले दिएको बताउनुभयो । मोतीगन्ज मकै पकेट सञ्चालन समन्वय समितिका अध्यक्ष मुरारी खनालले पकेट क्षेत्रमा रामपुर ६, ८ र १० गरी ३ जातको हाइब्रिड र रामपुर कम्पोजिट नामको उन्नत जातका मकै खेती भएको र बुटवल उपमहानगरपालिकाको सहयोगमा वार्षिक ५० लाखसम्म आम्दानी गर्न सफल भएको बताउनुभयो ।

स्थानीय मुक्तिप्रसाद गैरेले बजारीकरणका लागि बुटवल उपमहानगरपालिकाबाट सहयोग हुनेबारे छलफल भइरहेकोले किसानले सिधै बजारमा लगेर आफ्ना उत्पादन बिक्री गर्दा दीर्घकालीन रुपमै मकै खेती अगाडि बढ्ने बताउनुभयो ।

© 2024 krishipatra All right reserved