मासु लाग्ने लोभले बोकालाई ‘संगीनी सुई’

बुटवल  चैत ।
गुल्मीको धुर्कोटमा मासु बढ्ने लोभले बाख्रा पालक किसानहरुले बोकालाई संगीनी सुई लगाउने गरेका छन् । गाउँपालिकाका अनुसार परिवार नियोजनको अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने तीन महिने संगिनी सुइ बोका, पाठामा लगाइएको पाइएको छ ।
गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ७ वाग्लाका निजी क्षेत्रमा काम गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूले बोको पाठालाई संगिनी सुइ लगाइदिएको पाइएको गाउँपालिकाले जनाएको छ ।

धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले सूचना जारी गरी महिलालाई लगाउने सुई बोका लाई लगाउने कार्य बन्द गर्न आग्रह गरेका छन् । सूचनामा भनिएको ‘‘धुर्कोट गाउँपालिका क्षेत्र अर्न्तगत वडा नं. १ नयाँगाउँ र वडा नं. ७ वाग्लाका केही पशुहरू (बोके पाठा) मा सोही वडाको प्राइभेट सेक्टरमा रही पशु सेवामा कामकाज गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूबाट नियम विपरित महिलामा प्रयोग गर्ने हर्मोन संगीनी सुइ पशुमा प्रयोग गरेको भन्ने जानकारी आएको हुदा उक्त हर्मोनको दिर्घकालिन असर मानव स्वास्थ्यमा पर्नजाने भएकोले सो कार्य जो सुकैले गर्दै गराउदै आएको भएतापनि यथासिघ्र बन्द गराउनुहुन अनुरोध छ । ’’

आगामी दिनमा सो कार्य गर्ने गराउने गरेको पाइएमा दुबैलाई कानुन बमोजि दण्ड सजाय गरिने समेत गाउँपालिकाले चेतावनी दिएको छ ।
संगिनी सुइ एक हर्मोनल साधन हो । जसले महिलाको शरीरमा हुने हर्मोनलाई व्यवस्थित गरी गर्भ रहन दिँदैन । तर तौल बढ्ने विश्वासका साथ किसानहरुकै सहमतिमा पशु स्वास्थ्य कार्यकर्ताहरुले बोका पाठामा यस्तो तीन महिने सुइ लगाउने गरेको पाइएको स्थानीयहरु बताउँछन् ।

© 2025 krishipatra All right reserved