हेफरद्धारा पशु स्वास्थ्य प्राबिधिकलाई एकस्वास्थ्य अवधारणा तालिम

बुटवल, चैत- हेफर प्रोजेक्ट इन्टरनेशल नेपालको आयोजनामा पाल्पा, गुल्मी, अर्घाखाची, कपिलवस्तु र रुपन्देही जिल्लामा समुदायतहमा कार्यरत पशु स्वास्थ्य प्राबिधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरुलाई एक स्वास्थ्य अबधारणा (-One Health Concept_) तालिम सम्पन्न भएको छ ।

मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय स्वास्थ्य बिचको अन्तर्निहित सम्बन्ध र यी तिनै क्षेत्रमा कार्यरत निकाय तथा संस्थाहरुको बीच समन्वय, सहकार्य गर्ने उदेश्यले तालिमको संचालन गरिएको थियो । मानव, पशु र वातावरणिय स्वास्थ्यको प्रभावकारी संचारको महत्व, यो संग सम्बधित विभिन्न पक्षहरु र जुनोटिक रोग ९मानिस र पशु बीच सर्ने संक्रामक रोग० बारे ग्रामीण क्षेत्रका कृषकहरु माझ प्राबिधिक ज्ञान पुर्याउन तालिमको आयोजना गरिएको हेफर ईन्टरनेशनल नेपालका वरिष्ठ कार्यक्रम प्रबन्धक प्रेम साम्बयूले जानकारी दिनुभयो ।

जनस्वास्थ्यको क्षेत्रमा कार्यरत अमेरिकी सरकारी निकाय “सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन” का अनुसार मानिसमा लाग्ने करिब ६० प्रतिशत संक्रामक रोगहरु जनावरबाट सर्दछन । त्यसैगरी हाल मानिसमा संक्रमण गर्ने नयाँ उत्पत्ति भएका करीब ७५ प्रतिशत संक्रामक रोगहरु जनावरबाट मानिसमा सर्ने गर्दछन् । जनावरबाट मानिसमा सर्ने रोगहरुको वारेमा जानकारी गराउँदै संक्रामक रोगहरु कम गर्न तालिमको आयोजना गरिएको साम्वयूले बताउनुभयो ।

तालिममा २० जना प्राविधिकहरुको सहभागिता रहेको थियो । तालिममा मानव र वातावरणिय स्वास्थ्य सुधारका लागि एक स्वास्थ्य अवधारणा र जुनोटिक रोगको बारेमा प्रशिक्षण गरिएको थियो । तालिमका सहभागी प्राविधिकहरुले आफ्नो क्षेत्रका पशुपालक कृषकलाई बुझाउन र समस्या समाधान गर्न तालिम उपयोगी भएको प्राविधिक शंकर कडरियाले बताउनुभयो ।

गत वर्ष देखि हेफरले परियोजना संचालन भएका जिल्ला तथा स्थानीय तहका सरोकारवाला निकायहरु तथा आम कृषकहरुलाई एक स्वास्थ्य तथा जुनोटिक रोगको बारेमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत मदन पौडेलले बताउनुभयो । तालिम चैत्र ८ र ९ मा बुटवलमा सम्पन्न भएको थियो । तालिमको सहजीकरण हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत डा। लेखनाथ अधिकारीले गर्नुभएको थियो ।

© 2024 krishipatra All right reserved