दुधको मुल्य लिटरमा ९ रुपैयाँ बृद्धि

बुटवल – सरकारले दुधको मुल्य वृद्धि गरेको छ । विगत लामो समय देखि किसानहरुले दुधको मुल्य वृद्धिका लागि आवाज उठाउदै आए पनि उचित संवोधन हुन सकेको थिएन ।
सरकारले दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर पु¥याउने निर्णय गरेको हो ।
अहिले सरकारले वृद्धि घोषणा गरेको मूल्य किसानले पाउने मूल्य भएको र यसैको आधारमा अब कृषि मन्त्रालय मातहतको दुग्ध विकास संस्थानले दूधको उपभोक्ता मूल्य तोक्ने छ ।
किसानको मूल्यमै प्रतिलिटर ठूलो मूल्यवृद्धि गरिएपछि अब दूधको उपभोक्ता मूल्य सामान्य मानिसको पहुँच भन्दा महँगो हुने भन्दै उपभोक्ता अधिकारकर्मीहरुले भने चिन्ता व्यक्त गरेका छन् । यस अघि गत २७ माघ २०७८ मा तत्कालीलन देउवा सरकारले दूधको मूल्य कम्तीमा ६ देखि १४ रुपैयाँसम्मले वृद्धि गरेको थियो ।
तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवको स्वार्थमा गत वर्ष दूधको मूल्य वृद्धि गरिएको थियो । यस वर्ष पनि गतवर्ष जस्तै किसानको लागत मूल्य घटाउनेतर्फ भन्दा पनि सरकारले दूधको मूल्य बढाउने निर्णय गरेपछि यसबाट उपभोक्तालाई प्रत्यक्ष आहात पुग्ने छ ।

राष्ट्रिय दुग्ध विकास बोर्ड र दुग्ध व्यवसायीहरु मिलेर गत २ फागुनमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई दूधको मूल्य १० रुपैयाँले बढाउन सिफारिस गरेको थियो । दूधको मूल्य बढाउने पर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केहीदिन अघि मन्त्रिपरिषद्मा पेश गरेको थियो ।

© 2024 krishipatra All right reserved