बुटवल फागुन ।
पछिल्लो समयमा बंगुर व्यवसायी नै पलायन हुने अवस्था रहेको भन्दै व्यवसाय जोगाउनको लागि सबैले आ आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने कुरामा जोड दिइएको छ । पोर्क फेष्टिवल २०७९ को अवसरमा बुटवलमा आयोजना गरिएको‘ बंगुरपालन व्यवसाय वर्तमान अवस्था, संभावना र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले बंगुर पालन व्यवसायलाई अझ व्यवस्थित गरी त्यसलाई गुणस्तर कायम गरी विदेश निर्यात गर्न सकिने समेत बताएका हुन ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अहिले पनि नेपालमा बंगुरको मासु विभिन्न देशबाट फ्रोजनको रुपमा आयात हुने गरेको बताउँदै यसलाई रोक्नको लागि सबैले आ आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताए ।उनले बंगुर व्यवसायीहरु पलायन हुने अवस्था आउन नदिनको लागि बुटवल उपमहानगरपालिका, स्थानीय सरकार प्रदेश र संघीय सरकारसंग हातेमालो गर्न तयार रहेको बताएका थिए । उनले आयात प्रतिष्थापन गरी निर्यायत प्रर्बद्धनको लागि सबैले आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने बताएका थिए ।
बंगर व्यवसायी महासंघ लुम्बिनी प्रदेश, बुटवल उद्योग बाणिज्य संघ बुटवलको सहकार्यमा लुम्बिनी प्रदेश कृषि तथा भूमी व्यवस्था मन्त्रालय अन्र्तगतको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयको आयोजानमा गोष्ठी भएको हो ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल प्रसाद कसजुले किसानको समस्या समाधानका लागि सबैले सहकार्य गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका निमित्त निर्देशक डा. परवेज आलमले बोल्दै किसानको समस्या केही हद सम्म समाधानको लागि, बंगुरका परिकारको प्रर्वद्धनका लागि पोर्क फेष्टिवल आयोजना गरिएको जानकारी गराएका थिए ।
कार्यक्रममा विज्ञ डा. प्रदिप शर्मा पौडेल, तुलसीराम भण्डारीले कार्यपत्र प्रस्तुत गर्दै बंगुर पालन, व्यवसायको संभावना, चुनौति, अव गर्नुपर्ने कार्यको विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा मन्त्रालयका सूचना अधिकृत शालीकराम गौतम, पशुपंक्षि विकास अधिकृत लोकराज भुषाल सहित विभिन्न मातहतका कार्यालय किसानहरुको सहभागीता रहेको थियो ।