
तिलोत्तमा,१८ मंसिर । परम्परागत सिंचाईलाई आधुनिक र प्रविधियुक्त बनाउन सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् । यस्तै कृषि क्षेत्रमा छुट्टाइने वजेट अत्यन्त न्यून भएकाले कृषिमा वजेट बढाउन पनि उनीहरुले माग गरेका छन् । तिलोत्तमा–१० शान्तिनगर स्थित जल उपभोक्ता समिति नलकुप नं ९ को २६औं साधारणसभाका अवसरमा कृषि क्षेत्रका विज्ञ डा. दामोदर भुसालले परम्परागत सिंचाईलाई आधुनिक र प्रविधिमैत्री बनाउन सकेमात्रै किसानले लाभ लिन सक्ने बताए । परम्परागत कुलोबाट गरिने सिंचाई सबै खाले खेतीमा उपयुक्त नहुने र कतिपय खेतीलाई नोक्सान गर्ने भएकाले थोपा सिंचाई, बटर फ्लाई, स्प्रिङकल जस्ता नयां र प्रविधियुक्त आधुनिक सिंचाई सुविधा विस्तारमा सरकारले ध्यान दिनुपर्ने भुसालले सुझाए ।
आधुनिक सिंचाई सुविधा विस्तार गर्न सके बेमौसमी तरकारी, तोरी लगायतका खेती बढाउन सकिने उनको सुझाव छ । कृषि क्षेत्रमा नेपालको कुल जनसंख्याको ७० प्रतिशत भन्दा धेरै घरधुरी आश्रित भएकाले कृषि उत्पादन बढाउन, लागत घटाउन र किसानलाई प्रोत्साहनका लागि सरकारले कृषि क्षेत्रमा छुट्टाउंदै आएको वजेट बढाउनुपर्ने डा. भुसालले बताए । उनले भारतीय उत्पादनसंग मुल्यमा प्रतिस्पर्धा गर्न कठीन हुने भएकाले नेपालले अर्गानिक उत्पादनमा ध्यान दिनुपर्ने पनि सुझाए ।
तिलोत्तमा १० का वडाध्यक्ष गोपालप्रसाद घिमिरेले सिंचाई सुविधा नभएकै कारण किसानहरु खेती गर्न आकर्षित नभएकाले सिंचाई सुविधा विस्तारमा तिनै तहका सरकार गम्भीर बन्नुपर्ने सुझाए ।जल उपभोक्ता समितिका अध्यक्ष होमबहादुर बज्राचार्यले २६ वर्ष पुरानो सिंचाई प्रणालीका संरचनाहरु जीर्ण र पुरानो भइसकेकाले मर्मत सम्भार संगै आधुनिक प्रविधियुक्त सिंचाई सुविधा विस्तारमा स्थानीय,प्रदेश र संघीय तिनै तहका सरकारको ध्यान जानुपर्ने बताए ।
सिंचाईको उचित प्रबन्ध हुन सके तिलोत्तमा १० लाई अर्गानिक जोन बनाउन किसानहरु तयार रहेको उनले बताए ।समितिका सचिव शिवप्रसाद ढकालले जल उपभोक्ता समिति नलकुप नं ९ अन्तर्गत ४ सय घर र २ सय बिघा खेत रहेको जानकारी गराए ।