प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा आर्थिक बर्ष २०७९÷८० को प्रथम चौमासिकको समीक्षा गरिएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रदेशका कृषि मन्त्री सुमन शर्मा रायमाझीले किसानको हितमा लागेर काम गर्न आग्रह गरिन् । मातहतका कार्यालयहरुले गरेको प्रगति सन्तोष जनक रहेको भन्दै उनले आगामी दिनमा अझ बढी मिहिनेतका साथ काम गर्नको लागि आग्रह गरेकी थिईन् ।
कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका निमित्त प्रमुख परवेज आलमले कार्यपत्र प्रस्तु गर्दै चालु आर्थिक बर्षको प्रथम चौमासिकमा निर्देशनालयको वित्तीय प्रगति ६२.८३ प्रतिशत रहेको बताएका थिए । उनका अनुसार सोही अवधिमा ७३ प्रतिशत सम्म भौतिक प्रगति हासिल गर्न निर्देशनालय सफल भएको छ । मातहतका १७ वटा कार्यलयहरुको एकमुष्ट समीक्षा गर्दा ४३.९५ प्रतिशत भौतिक प्रगति र ४१.६७ प्रतिशत वित्तीय प्रगति देखिएको हो ।
कार्यक्रममा कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव याम नारायण देवकोटाले कृषि क्षेत्रमा प्रदेश सरकारले विभिन्न समस्याका बाबजुद पनि काम गर्न सफल भएको बताएका थिए । उनले कोरोना कालदेखि लिएर निर्वाचनको समयको कारणले पनि कार्यसम्पादनमा केही असहज भएपनि यसमा मातहतका कार्यालयका कर्मचारीहरुको मिहिनेतका कारण सफलता प्राप्त गर्न सकिएको बताएका थिए ।
कार्यक्रममा मन्त्रालयका प्रवक्ता तथा भूमिस्रोत तथा नक्शांकन महाशाखा प्रमुख अनिल मरासिनी, प्रशासन महाशाखा प्रमुख कमल ज्ञवाली सहित विभिन्न महाशाखा प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कृषि विकास निर्देशनालय बुटवलका निमित्त प्रमुख राम प्रसाद पाण्डे लगायतले शुभकामना मन्तव्य राख्दै सबैको साथ र सहयोगबाट मात्रै सफलता प्राप्त हुने बताएका थिए ।
कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय अन्तर्गत रहेका १७ वटा मातहतका कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यालय प्रमुख तथा प्रतिनिधिहरुले प्रगति प्रगतिवेदन प्रस्तुत गरेका हुन् ।