बुटवल, असार ।
माछाको राजधानीको रूपमा पहिचान बनाएको रूपन्देहीको सियारी क्षेत्रका किसानको माछा बिक्रीमा गिरावट आएको छ । प्रति बर्ष २ अर्ब बराबरको माछाको कारोबार हँुदै आएको सियारी क्षेत्रका कतिपय किसानले माछा बिक्री घटेको बताएका हुन ।
सियारी बनघुसरी क्षेत्रमा विगत लामो समयदेखि माछापालन गर्दै आएका किसान गौरव गौतमले पछिल्लो समयमा माछा खाने चलन बढ्दै गएको परिपेक्ष्यमा भएको आर्थिक मन्दिको कारण अहिले माछा बिक्री घटेको बताउँछन् ।
सियारीमा छपिया फिस भिलेज रिर्सोट समेत सञ्चालन गर्दै आएका उनले रिर्सोटमा माछा खपत बाट पोखरीका माछा परिपूर्ति नभएको समेत बताए । उनले भने–‘यहाँ केही खपत भएको छ तर पोखरीमा स्टक धेरै छ, मान्छेमा पैसा छैन, जसले गर्दा खरिद गरेर खाने परिपाटीको पनि कम भएर खपत नभएको हो की भन्ने हाम्रो अनुमान छ ।’
यस्तै दाना उद्योगी समेत रहेका किसान विन्दुलाल श्रेष्ठले समेत माछाको कम क्षेत्रमा बढि भन्दा बढि उत्पादन गर्नुपर्नेमा पोखरी बिस्तारमा सरकार केन्द्रीत हुँदा उत्पादन बढि हुने तर बजार अभाव भएको बताउँछन् । उनले खासगरी क्षेत्रफलमा बढि भन्दा बढि मात्रा उत्पादन गर्ने, गुणस्तरिय दाना प्रयोग गर्नुको सट्टा खेतियोग्य जमिनमा पोखरी खनेर माछापालन गर्न समस्या आएको बताए ।
उनले माछाको उत्पादकत्व वृद्धि र खपतका साथै निर्यातमा समेत सरकारी निकायबाट ठोस ध्यान दिन नसकेको कारण समस्या आएको बताउँछन् । उनले भने–‘अहिले माछा बढि उत्पादन भा छ, जसले गर्दा बजार कम छ ढुवानीको लागि सहकारीले मात्रै जिम्मा लिँदा अन्य किसानहरू समस्यामा रहेका छन् ।’ गर्मीको मौसमको कारण पनि मानिसले माछा कम खाने गरेको कारण समस्या रहेको उनको भनाइ रहेको छ ।
यता, जिल्ला मत्स्य उत्पादक किसान संघका अध्यक्ष दिवाकर भुषालका अनुसार पछिल्लो समयमा किसानबाट आधिकारिक रूपमा माछा विक्री नभएको वा समस्या भएको भन्ने विषयमा कुनै जानकारी नआएको भन्दै मानिसले गर्मी मौसममा माछा कम गर्ने गरेको कारण पनि समस्या भएको हुन सक्ने बताउँछन् । उनले भने–‘उत्पादन बढि भएको हो तर विक्री नभएको भन्ने आधिकारिक जानकारी छैन, तर किसानको उत्पादन बजारीकण गर्ने, गर्मीको समयमा माछा अलि बढि गर्मी हुने भएको कारण पनि खपत कम नभएको चै हुन सक्छ ।’ माछा उत्पादनको अवस्था, बजारीकण, माग र आपूर्तिको विषयमा सरकारी निकायका कुनै पनि निकायसंग आधिकारिक तथ्यांक नभएको कारण पनि समस्या भएको उनको भनाइ छ । रुन्देहीलाई कति माछा आवश्यक हो, कति उत्पादन भएमा बजारीकरणलाई सहज हुन्छ भन्ने विषयमा कसैसँग पनि ठोस तथ्यांक छैन, जसले गर्दा पनि समस्या भएको छ ।’–अध्यक्ष भुषालले भने ।
रूपन्देही जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत माछा सुपरजोन लागू भएको छ । क्षेत्रफल १००६ हेक्टर रहेको छ । यस कार्यक्रममा प्रत्यक्ष रूपमा १३२ कृषक समूह, कृषि सहकारी संस्था, जल उपभोक्ता समिति तथा निजि उद्यमी सहितका जम्मा १६२७ कृषक परिवार लाभान्वित रहेका छन् । सियारी गाउँपालिका, सुद्धोधन गाउँपालिका, गैडहवा गाउँपालिका, मायादेवी गाउँपालिका, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाका गरि जम्मा ४४ वटा वडाहरूमा यो कार्यक्रम संचालनमा रहेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रूपन्देहीका प्रमुख बरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले किसानबाट उत्पादन भएको माछा बिक्री नभएको भन्ने कुनै पनि जानकारी नभएको बताउँछन् । उनले किसानले उत्पादन गरेको माछा यो सिजनमा कम भएको कारण पनि समस्या भएको हुन सक्ने भन्दै यसको लागि आफूले पहल गर्ने बताए । उनले भने–‘किसानले उत्पादन बढि गर्नुभयो, साईज अनुसारका माछा उत्पादन भए भनि त बिक्री नहुने भन्ने छैन, अहिले पनि व्यवसायीहरूबाट माग आइरहेको छ, हामी सहजीकरण गरिरहेका छौं ।’
यता, रूपन्देहीको एक मात्रै मत्स्य सहकारी संस्था जलदेवी मत्स्य उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष गणेश बहादुर शाहीले माछा बिक्रीमा कुनै समस्या नभएको बताउँछन् । उनले किसानको उत्पादन सहजीकरणको लागि भ्यान समेत जहिले पनि तयारी अवस्थामा रहेको भन्दै उनले यसमा कुने समस्या नभएको बताउँछन् । गर्मी मौसममा माग समेत कम हुने भएको कारण केही समस्या भएको हुन सक्ने उनको भनाइ रहेको छ ।
उनले किसानको उत्पादन बढि भएको र बजारीकरणमा समस्या भएको कारण पनि केही उत्पादन खेरा जाने अवस्था रहेको बताए । उनले भने–‘क्षेत्रफल बढेको बढै छ, उत्पादन पनि वृद्धि भएको छ, जसले गर्दा बजार अभाव भएको हो ।’
रूपन्देहीमा उत्पादन भएको माछा रूपन्देही जिल्लाको बुटवल, भैरहवाको अलवा नवलपरासी, कपिलवस्तु सम्म निर्यात हुदै आएको छ । जिउँदो माछा को खाने प्रचलन विस्तारै बढ्दै जाँदा गर्मी समयको कारण पनि माछा खपत घटेका उनको भनाई रहेको छ । अध्यक्ष शाहीका अनुसार उत्पादन लागत बढ्दै जाँदा किसानले उचित मूल्य समेत पाउन सकेका छैनन, जसले गर्दा पनि बजारीकरणमा समस्या भएको हो ।
फ्रोजन माछाको विकल्प
रूपन्देहीको सियारी ५ मा रहेको जलदेवी मत्स्य उत्पादक कृषि सहकारी संस्थाले पछिल्लो समयमा माछा फ्रोजोन गरी विक्रि वितरण सुरुवात गरेको छ । बढि भएको माछा लाई विशेष प्याकेजिङ्ग मेसिनबाट विदेशमा जस्तै फ्रोजोन गरी विक्रि वितरण कार्य सुरुवात गरेको हो । यसको लागि परिक्षण उत्पादन सुरुवात भए पनि पुर्णरूपमा बजारीकरण भने हुन सकेको छैन । सहकारीका अध्यक्ष गणेश बहादुर शाहीका अनुसार छपियाको माछा ब्रान्ड निर्माण गरी देशका विभिन्न स्थानमा विभिन्न विशेष प्रकृतिको ढुवानी भ्यान सहित विक्रि वितरण गर्ने सहकारीको योजना रहेको छ । जस अनुसार मेसिन जडान गरी प्याकेजिङ्ग, लेवलिङ्ग र ट्यागीङ्ग काम गर्ने र सोही अनुसार मुल्य निर्धारण गरेर ढुवानी गर्ने योजना रहेको छ ।
पछिल्लो समयमा माछा खाने, जिउँदो माछा नै लगेर खाने प्रचलन बढ्दै जाँदा फ्रोजोन माछाको मासुमा उपभोक्ताको चासो कम रहेको कारण पनि बजारीकरणमा समस्या भएको अध्यक्ष शाहीको भनाइ छ । ‘विदेशमा जस्तो फ्रोजोन माछा, मासु खाने प्रचलन नेपालमा कम छ, जसको कारण नि बजारीकरणमा समस्या भएको हो ।’–अध्यक्ष शाहीले भने । तर जेठको अन्तीम साता तथा असारको पहिलो सातामा पोखरा, चितवन लगायतका जिल्लाबाट माग आएकोले बिक्री गर्ने योजनारहेको उनको भनाइ छ ।
रूपन्देहीमा सुरुमा सियारी, शुद्धोधन, मायादेवी र गैडहवा गाउँपालिकामा माछा जोन कार्यक्रम लागू भएको थियो । अहिले क्षेत्र विस्तार गरी बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सिद्धार्थनगर र लुम्बिनी सांस्कृतिक नगरपालिकाका केही वडाहरूलाई समेत समेटेर माछा सुपर जोन अन्तर्गत राखिएको छ । सुपरजोन तोकिएको क्षेत्रबाहेकका ठाउँमा पनि माछापालन हुँदै आएको छ ।
जिल्लामा १ हजार १७० हेक्टर क्षेत्रफलमा खनिएका ४ हजार बढी पोखरीमा माछापालन हुँदै आएको छ । जमिनबाहेक माछापालनमै कृषकले एक अर्ब बढी लगानी गरेका छन् । वार्षिक ६ हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको जिल्लामा एक अर्ब ५ करोड बराबरको कारोबार हुँदै आएको छ । जिल्लामा मत्स्य ह्याचरी ५ र नर्सरी १३ छन् । माछा पालनलाई सहज बनाउन किसानले २३८ वटा कृषक समूह, कृषि सहकारी संस्था, जल उपभोक्ता समिति तथा दर्तावाला निजी उद्यमी संस्था खोलेका छन् । यस्तै, जिल्लाका विभिन्न ठाउँमा ३० बढी जिउँदोे माछा पसल, दाना उद्योग र मत्स्य प्रशोधन केन्द्र छन् । परियोजनाको समन्वयमा यी कृषक समूह र सहकारीले वर्षभरि नै माछा उत्पादन र व्यवसायिकतामा सहयोग गर्ने गरेका छन् ।