बुटवल ७ बर्ष पहिला कृषिमा केही गर्नु पर्दछ भनेर लागेका तिलोत्तमा नगरपालिका वडा नम्बर १४ टिकुलीगढका किसान मुक्ति प्रसाद न्यौपानेले ‘व्यवसायिक कृषिमा लाग्ने भन्दै मेवा खेती’ सुरु गरे । सोही बर्ष नै हावाहुरी असिना पानीको कारण उनका सबै मेवा सखाफ भए । करिब २५ लाख घाटा व्यहोरेपछि न्यौपानेले कृषि क्षेत्रबाट पलायन हुने सोँच बनाएका थिए ।
दक्षिण कोरिया जाने भन्दै परीक्षा समेत दिए । नाम समेत निस्कीयो तर उनी जान पाएनन् । विगत सम्झीदै उनी भन्छन् ‘मलाई माटोले नै बोलाई र¥यो’ उनको मन पुनः कृषिमा फर्कीयो । सुरु गरे रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ कोटिहवामा तिलोत्तमा नर्सरी प्रा.(लि) । उनको नर्सरीमा हाल २ सय ५० भन्दा बढि जातका फलफूल, तथा सजावटका बिरुवा रहेका छन् ।
नर्सरीबाट समेत आशातित सफलता प्राप्त नभएको भन्दै उनले योजना बनाए ‘अब दुबो खेती गर्न पर्छ ।’, दुबोको व्यवसायिक खेती जोकोहीलाई पनि सुन्दा अचम्म लाग्ने खालको छ । नर्सरीकै काम गर्दै गर्दा ४ बर्ष पहिला लुम्बिनीमा रहेको नहरको वारी–पारी दुबो सतिहको गार्डेनिङ्ग गर्ने ठेक्का पाए । फूल तथा बिरुवाहरू उनले नर्सरीबाट लगाए । तर दुबो भारतबाट ल्याउनुपर्ने भयो । कलकत्ताबाट ल्याइएको दुबो भैरहवा भन्सारमा कागजी प्रक्रिया मिलाउँदा मिलाउँदै धेरै समय भएपछि त्यहि म¥यो । करिब १७ लाख घाटा लाग्यो । उनले पुनः दिल्लीबाट दुबो मगाएर ठेक्का सम्झौता पुरा गरे । तर न्यौपानेले हार मानेनन् । नेपालमा बर्षेनि लाखौं रूपैयाँको आयात हुने सजावटको लागि प्रयोग हुने दुबोको व्यवसायिक खेती स्वदेशमा नै गर्नुपर्दछ भनेर लागेका न्यौपानले सुरु गरे ‘तिलोत्तमा एग्रीकल्चर प्रालि’ । सोही नामबाट उनले स्वदेशमा नै व्यवसायिक दुबो खेती गरेका छन् ।
अहिले न्यापानेले २ स्थान रूपन्देहीको सियारी गाउँपालिका वडा नम्बर १ र चितवन जिल्लामा व्यवसायी दुबो उत्पादन गर्ने प्लान्ट चलिरहेका छन् भने केही समय पछि फर्साटिकरमा समेत नयाँ दुबोका प्लान्ट लगाउँदै छन् ।
उनले उत्पादन गरेको दुबो अहिले काठमाडौं सहित देशका विभिन्न स्थानमा सजावटको लागि जाने क्रममा छ । उत्पादन भन्दा माग बढि भएपछि उनले अहिले प्लान्ट बिस्तार समेत गर्दै छन् ।
सियारी गाउँपालिका वडा नम्बर १ मा उनले ४ विघा क्षेत्रफल खेत जग्गा भाडामा लिएर व्यवसायी दुबो खेती गर्दै आएका छन् । जसमा बरमुण्डा सेलेक्सन १, मेक्सीकन जातको दुबो व्यवसायिक रूपमा उत्पादन भैरहेको छ ।
यस्तै चितवनको भरतपुरमा पनि उनले ५ विघा क्षेत्रफलमा दुबो खेती गरिरहेका छन् । रूपन्देहीको दुवो उत्पादनमा भने बैनी ज्वाई ज्ञान प्रसाद शर्माले व्यवस्थापन गर्दै आएका छन् । चितवनमा बैनी ज्वाइँ तुलसीराम अर्यालले र तिलोत्तमाको नर्सरी उनका श्रमती सरिता न्यौपानले व्यवस्थापन गर्दै आएकी छिन् ।
मुक्तप्रसाद न्यौपानेले अलराउन्डर कृषकको रूपमा पहिचान बनाएका छन्, कहिले चितवन, कहिले तिलोत्तमा, कहिले फर्साटिकर उनी विभिन्न स्थानमा हिँडीरहेका हुन्छन्, व्यवसायिक उत्पादनमा जोड दिइरहेका छन् ।
दुबो मात्रै बिक्री गरेर उनले प्रत्येक बर्ष खर्च कटाएर करिब २५ लाख आम्दानी गर्दै आएका छन् । विभिन्न फार्ममा गरेर ९० जना भन्दा बढिले प्रत्यक्ष रोजगारी पाएका छन् । उनी भन्छन्–‘भारतबाट लाखौंको दुवो आउने कुरा थाहा पाएपछि म आफै सुरु गर्नु पर्दछ भन्ने लागेर सुरुवात गरेको हुँ, अहिले उत्पादन भएपछि बिक्रीको कुनै गुनासो छैन ।’
अघिल्लो पटक कोरोना महामारीको कारण उत्पादित करिब २ करोड बढिको दुबो फाल्नुपरेको बताउँदै न्यौपानेले हालसम्म करिब ६ करोड लगानी गरेका छन् । फार्मकै नाममा तिलोत्तमामा उनले ६ विघा जग्गा समेत किनेका छन् । जग्गा भाडामा लिएको स्थानको उनले १ लाख ५० हजार रूपैयाँ भाडा बुझाउँदै आएका छन् । जुन सियारी वडा नम्बर १ को हो । प्लाष्टिक माथि माटो, बालुवा राखेर रोपेको उक्त प्रविधिमा दुबोको व्यवसायिक खेती गर्ने काठमाडौं बाहिरका उनी एक मात्रै किसान हुन ।
उत्पादित दुबो चितवन, काठमाडौं, नेपालगञ्ज, दाङ्ग सहितका अधिकांश जिल्लाहरूमा जाने गरेको छ । खासगरी नयाँ निर्माण भएका रिर्सोट, गार्डेनिङ्ग हाउस, होटल, रेष्टुरेन्ट लगायतका स्थानमा जाने गर्दछ । उनले चितवनमा रहेको रिभर रिसोर्ट बैंकमा उनले गार्डेनिङ्गको काम गरेका छन् । यस्तै बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, लुम्बिनीमा र विभिन्न होटल तथा रेष्टुरेन्टमा समेत ईन्डोर आउटडोर गाडेनिङ्गको काम उनी गर्दै आएका हुन ।
यसको अलवा उनले फलफूलमा आप, लिची, कागती, अम्बा लगायतका बिरुवाको समेत व्यवसायिक उत्पादन गर्दै बिक्री वितरण गर्दे आएका छन् । जसको लागि उनले १० प्रकारका विरुवा उत्पादनगर्ने गरी आफ्नै घरमा समेत १० कठ्ठा क्षेत्रफलमा काम सुरुवात गरेका छन् । उत्पादित दुबो प्रति स्क्वारफुट ४० रूपैयाँमा बिक्री वितरण गर्दै आएको उनको भनाइ छ । जुन दुबो उत्पादनको बखत नै प्लाष्टिकका रोल गरेर राखिएको हुन्छ ।
कृषि क्षेत्रमा विदेशी दुवो आयात प्रतिष्थापित गर्न सफल भएको दावि गर्दै उनले काठमाण्डौमा भएका विभिन्न नर्सरीले ५० प्रतिशत र तिलोत्तमा एग्रिकल्चर र्फामबाट ५० प्रतिशत आपुर्ती हुँदै आएको दाबी गर्दछन् । सरकारी निकाय बाट विदेशी उत्पादन प्रतिष्थापन गर्नको लागि ठोस योजना नभएको भन्दै उनले स्थानीय सरकार प्रदेश सरकारले समेत कुनै प्रोत्साहन नगरेका बताउँछन् । फार्मको लागि प्रत्येक बर्ष ४० क्विन्टल डिएपी, ५० क्विन्टल युरिया मल आवश्यक रहेकोका सरकारी निकाय बाट मल पाउन नसको कारण आफु पिडामा रहेको उनको भनाई छ ।‘दुई महिनामा उत्पादन दिन सकिने मा मल को अभावको कारण ४ महिना भन्दा बढि लाग्ने गरेको छ ।’–उनी भन्छन् ।
@butwaltoday daily