बुटवल, जेठ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाका ६ वटा वडालाई कृषिको पकेट क्षेत्र घोषणा गरी सोहीअनुसारका कार्यक्रम ल्याउने नवनिर्वाचित जनप्रतिनिधिले उद्घोष गरेका छन् । नवनिर्वाचित मेयर खेलराज पाण्डेय र उपमेयर सावित्रा अर्याल लेडबुटवल उपमहानगरपालिका वडा नम्बर १४ देखि १९ नम्बरसम्मका सबै वडा कृषिका लागि अति उपयुक्त वडा रहेको भन्दै ती वडालाई कृषि क्षेत्रको पकेट क्षेत्र विभाजन गरी सोहीअनुसार ‘ग्रीन ल्याण्ड’ बनाउने बताएका हुन् ।
लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी समिति र बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिको आयोजना बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नवनिर्वाचित मेयर पाण्डेयले बुटवलका १४, १५, १६, १७, १८ र १९ वडालाई कृषिको विशेष क्षेत्र घोषणा गरी उत्पादनमा आधारित अनुदानसहितको कृषि क्षेत्र विकास गरिने बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने,‘ कृषि उपज केन्द्रको स्थान सानो भएको गुनासो आएको छ, विज्ञ, विशेषज्ञसँगको छलफलपछि हामी विस्तार गर्ने वा स्थानान्तरण गर्ने विषयमा हामी तयार रहेका छौं ।’
नवनिर्वाचित उपप्रमुख सावित्रा अर्यालले भनिन्, ‘बुटवलमा करोडौंको तरकारी आयात हुने गरेको पाइएको छ, त्यसमध्ये बुटवलका ६ वटालाई प्रयोग गरेर आधा मात्रै भए पनि प्रतिष्थापन गर्न सकियो भने यसले किसान, व्यवसायी र उपभोक्ता सबैलाई राहत हुनेछ ।’
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष लेखनाथ न्यौपाने, बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष घनश्याम भुसाल (गोपाल), लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी समितिका अध्यक्षका अध्यक्ष बाबुराम भुसाल, बुटवल कृषि उपज केन्द्रका व्यवस्थापक राम बहादुर खत्री लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए !