
रामपुर (पाल्पा), आसन्न वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिदै छ । गाउँ गाउँमा विभिन्न दलका नेताहरु मतदाता संग भेटघाटमा व्यस्त छन् ।
विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन जस्ता क्षेत्रमा काम गर्ने सबैजसो उम्मेदवारको चुनावी एजेण्डा छ । सो ऐजेण्डा २०७४ को निर्वाचनमा पनि थिए, तर विकास कति भयो÷भएन भन्ने मात्रै हो । पाल्पाका किसान मतदाता भने बिगत पाँच वर्षको अवधीलाई नियाल्दा कृषि क्षेत्रले फड्को मार्न नसकेकोमा असन्तुष्ट छन् ।
सत्ता, पहुँचवाला समक्ष मात्रै कार्यक्रम सिमित बन्ने गरेको किसान बताउँछन् । यस पटकको निर्वाचनमा भने यहाँका किसानहरु अब आउने जनप्रतिनिधिले प्रतिफलमा आधारित कार्यक्रम ल्याउनुपर्ने तर्क राखेका छन् ।
माथागढी गाउँपालिका वडा नं २ रुप्से बस्ने युवा कृषक कृष्ण भट्टराईले पालिकाले कृषि क्षेत्रमा रकम खर्च गरेपनि प्रभावकारी नभएको बताउनुभयो । किसानलाई प्रतिफलमा आधारित अनुदान दिइयो भने उत्पादन बृद्धि हुने र यसले कृषकलाई उत्प्रेरित बनाउने हुदा यसतर्फ ध्यान दिन जनप्रतिनिधिलाई उहाँको सुझाव छ ।
उहाँ भन्नुहुन्छ, “देशमा समृद्धि ल्याउन कृषिको विकास गर्नु जरुरी छ, पाँच वर्षको समयलाई फर्केर हेर्दा कृषिका कार्यक्रमले फड्को मार्न सकेन, स्थानीय तहमा जनप्रतिनिधि ठेकेदार क्षेत्रबाट प्रतिनिधित्व गरेका हुदा पनि सोँचेजस्तो काम नै भएन, वास्तविक किसानले कृषि क्रान्तिको महसुस गर्नै पाएनन्” ।
अब जनताको मतबाट चुनिएर आउने प्रतिनिधिले आर्थिक समृद्धिका लागि वास्तविक किसानको पहिचान गरी उत्पादन बढाउने खालका कार्यक्रम ल्याएमा आयस्तर बढ्ने उहाँले बताउनुभएको छ ।
जनप्रतिनिधि ठेकेदार भएकाले बाटो, पुल, पुलेसा जस्ता विकास निर्माण कार्यमा बढी जोड दिएको पाइएको छ । विकास निर्माणको काममा ठूलो रकम खर्चेर आफ्नै डोजर प्रयोग गर्ने होडबाजीले कृषिमा ध्यान नदिएको किसानको गुनासो छ । आर्थिक समृद्धिको मूल आधार नै कृषि भनिएपनि थोरै वजेट छुट्टाएर पहुँचवाला व्यक्तिलाई मात्रै अनुदानका कार्यक्रम पुग्ने गरेको पाइएको छ । यस कार्यले वास्तविक र साना, मेहनती किसान पछाडी परिरहेका छन् ।
किसान पहिचान गरी उसले गरेको उत्पादित वस्तुको व्यवस्थापन गरिदिनुपर्नेछ । किसानलाई अनुदान भन्दा पनि उत्पादित वस्तुको बजारको प्रबन्धको खाँचो छ । ठाउँ, बिशेष स्थान हेरेर बाली लगाउने व्यवस्था गरिनुपर्ने छ । फरक फरक ठाउँमा कृषि तथा पशुपालन व्यावसाय गरेर उत्पादन बढाउन जोड दिने नीति आवश्यक छ ।
बजारको राम्रो प्रबन्ध भएमा मात्रै किसान माथि उकासिने हुदा बेमौसमी उत्पादनलाई बढावा दिदै समय अनुसार भित्रिएका प्रबिधि सबै किसानका घर घरमा लैजान सकेमा बाँझिएका जमिन हराभरा हुनेछन् । किसानले साधारण किसिमले गर्न सक्ने प्रबिधि आजको आवश्यकता रहेको बताउनुहुन्छ, हाम्रो आधुनिक कृषि फार्म रामपुरका सञ्चालक दिलबहादुर थापा ।
“किसानलाई ठूलो प्रबिधि भन्दा पनि साधारण तरिका जानियो भने राम्रो उत्पादन गर्न सकिन्छ, समयमा वीउ विजन मलको उपलब्ध, सिंचाई र बजारको व्यवस्था भयो भने कृषिबाट धेरै आम्दानी गर्न सकिन्छ, अनुदान मात्रै ठूलो कुरा होइन” उहाँले भन्नुभयो ।
कृषि कार्यमा साधारण प्रबिधिमै किसान अल्मलिदा सोँचेअनुसारको लाभ लिन सकिरहेका छैनन् । बाली लगाउने समय वीउविजन तथा मल नपाउने समस्याले बेला बेलामा पिरोल्ने गर्छ । यसतर्फ ध्यान दिएर समयमा नै वीउविजन, मल उपलब्ध गराउने खालका कार्यक्रम ल्याउन किसानको अनुरोध छ ।
कृषिमा मुख्य समस्या भनेकै बाली लगाउने समय वीउ विजन, मल नपाउने, सिंचाईको राम्रो सुबिधा नहुनु, उत्पादन भएका कृषि उपजले बजार नपाउनु जस्ता हुन् । यी सामान्य समस्याले गर्दा किसान माथि उकासिन सकिरहेका छैनन् । पहुँचको भरमा वितरित अनुदान कार्यक्रम वास्तविक किसानको हातमा पुग्न सकिरहेको छैन । त्यसकारण पनि अब आउने जनप्रतिनिधिले किसानमुखी कार्यक्रम ल्याएर कृषि क्रान्तिमा जोड दिनुपर्नेछ ।
अनुदानका नाममा वितरण गरिएका कतिपय कृषिजन्य सामग्रीको सही सदुपयोग नभएको पाइएको छ । समुह, सहकारीमार्फत उपलब्ध गराइएको सामग्री व्यक्ति–व्यक्तिले प्रयोग गर्ने गरेका छन् । नेपाल सरकारको लगानी सही ठाउँमा हुनुपर्छ । कृषि अनुदानका नाममा सम्बन्धित व्यक्तिले सही ठाउँमा प्रयोग नगर्दा दुरुपयोग पनि भएका छन् । राज्यले गरेको लगानी उत्पादनमा खर्चिनुपर्छ ।
किसानको खेतमा अनुदान, उन्नत जातका वीउ, समयमा नै वीउ विजन, मल उपलब्ध गराउनुपर्ने योजना ल्याई त्यसलाई व्यावहारिक रुपमा प्रयोग गर्न सकियो भने लाभ मिल्ने रम्भा गाउँपालिका वडा नं १ सघाहाका अगुवा कृषक ऋषिराम अर्याल बताउनुहुन्छ ।
अर्याल भन्नुहुन्छ, “पाँच वर्षमा यहाँको पालिकामा कृषि क्षेत्रमा खासै प्रगति देखिएन, राज्यले कृषिमा दिएको लगानीको प्रतिफल छैन, अबका जनप्रतिनिधिले आर्थिक समृद्धि ल्याउन प्रतिफलमा आधारित कार्यक्रम ल्याउनुपर्नेछ, सरकारी लगानीबाट किसानले उत्पादन दिन सक्नुपर्छ, यहाँ आफन्ती र पहुँवालामै कार्यक्रम सिमित रहन्छ” ।
निमुखा किसानलाई माथि उकास्ने खालका कार्यक्रम ल्याउनुपर्ने बताउनुहुन्छ, श्रीकृष्ण उन्नत वीउ विजन तथा स्रोत केन्द्र रामपुरका सञ्चालक कृष्णकुमार अर्याल ।
“सोँचेअनुसारको उपलब्धी कृषिमा देखिएन, ५० प्रतिशत अनुदानमा मेसिनरी सामग्री वितरण गरिएपनि किसानले ५० प्रतिशत आफ्नो लगानी थप्नुपर्दा साना किसान समस्यामा परेका छन्, कृषिजन्य सामग्रीमा बिल बढाएर किसानलाई भारी थोपर्ने काम भएको छ, अब सिधै किसानको हातमा जाने कार्यक्रम ल्याउनुपर्छ” अर्यालले भन्नुभयो ।
सिधै किसानको हातमा कार्यक्रम लैजान सकियो भने यसको प्रभावकारिता देखिन्छ । रामपुर नगरपालिकामा ठूलो लगानीमा शित भण्डार, उच्च प्रबिधिको तरकारी (हाईटेक) टनेल निर्माण गरिएपनि त्यसको प्रयोग राम्रो नभएको र अब किसानलाई उत्पादनको आधारमा सहयोग गर्नुपर्ने उहाँ बताउनुहुन्छ । तरकारी, फलफूल, दुध, मासु, अण्डा उत्पादन गर्ने किसानलाई एउटा मापदण्ड तयार पारी उत्पादनमा आधारित अनुदान उपलब्ध गराउनुपर्ने अर्यालको भनाई छ ।
रामपुर नगरले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रम अन्तर्गत व्याज अनुदान कार्य सिधै किसानको हातमा पुगेको हुदा यसलाई निरन्तरता दिन उहाँ अनुरोध गर्नुहुन्छ । कृषिमा प्रबिधिमैत्री कार्यक्रम, स्थलगत रुपमा प्राबिधिक परिचालन, साना किसानलाई राहत पुग्ने जस्ता कार्यक्रम ल्याउनुपर्नेमा अर्यालको जोड छ ।
बिगत पाँच वर्षको कार्य मुल्याङ्कन गरेका यहाँका किसानले पदमा मात्रै नभई कृषिका कार्यक्रमलाई प्राथमिकता राखेर वजेट व्यवस्थापन गर्नुपर्ने बताउँछन् । खेतीयोग्य जमिन सिंचाईको अभावमा प्रयोगमा ल्याउन सकिएको छैन । सिंचाई योजनाको दीर्घकालिन व्यवस्थापन गरी बाँझो जमिनमा तरकारी, फलफूल, अन्नबाली, पशुपालन जस्ता व्यावसाय गरी मनग्य आयआर्जन गर्न सकिन्छ । प्रशस्त जग्गा भएरपनि सिंचाई अभावले खेती गर्नै छाडिएको छ । ठूला योजनामा मतदातालाई आश्वासन दिन भन्दा साना तर दीर्घकालिन योजनाले नै प्रशस्त उपलब्धी लिन सकिनेछ ।