
बुटवल, चैत । के तपाईंले दूध र दुग्धजन्य बस्तु प्लाष्टिकको भाँडामा राखेर उपभोग गर्नुभएको छ ? वा डेरी वा अन्य स्थानमा प्लाष्टिकको भाँडामा दूध वा दूधजन्य बस्तु राखेर बिक्री वितरण भएको छ भने अव सावधान हुनुपर्ने बेला आएको छ । नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले काठमाडौंमा गरेको अध्ययन अनुसार प्लाष्टिकमा राखीएको दूध ‘घातक’ हुने अनुसन्धानबाट पाइएको हो ।
पुश सेवा विभागले गरेको अध्ययन अनुसार भर्खरै मात्रै गाई वा भंैसी बाट दुहीएको तातो दूध होस् वा डेरी मा पास्चराईजेसन गरिएको ‘चिसो दूध’ होस, दुबै प्रकृतिको दूध प्लाष्टिकजन्य बस्तुमा ओसारपसार गर्दा दूधमा पाईने सुक्ष्म तत्व नष्ट हुने मात्रै नभई प्लाष्टिकले दूध संग गरेको रसायनीक प्रतिक्रियाको कारण मानिसको स्वाथ्यमा समेत असर पर्ने देखिएको हो । पशु सेवा विभागका उप महानिर्देशक जिवलाल न्यौपानेका अनुुसार यो विषयमा विभागले औपचारिक रूपमा नै जानकारी दिने गरी तयारी गरेको छ ।
उप महानिर्देशक न्यौपानले प्लाष्टिकको क्यान विस्तापित गर्ने र हाल बजारमा प्रचलनमा रहेका आल्मुनियमको क्यान समेत स्वास्थ्यको दृष्टिकोणबाट ठिक नभएको भन्दै स्टीलनेश स्टीलबाट निर्माण गरिएका क्यान मात्रै प्रयोगमा ल्याउन आग्रह गरेको जानकारी दिए ।
दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी गरी नेपाल सरकारले यसलाई पूर्णरूपमा कार्यन्यवनमा ल्याउने तयारी गरिएको न्यौपानेको भनाई रहेको छ । उनी भन्छन्–‘प्लाष्टिको भाडामा दूध बोक्नु त घातक नै हो, आल्मुनियमा भाँडो समेत स्वाथ्यको दृष्टिकोणबाट ठिक छैन, हामी यसलाई विस्थापित गर्ने योजनामा छांै । ’
प्लाष्टिकको भाँडोमा दूध बोक्ने कार्य बन्द गर्नुपर्ने भन्दै उनले यसरी नियम उल्लंघन गरिएको पाईएमा अनुगमन गर्दा प्रचलित कानुन बमोजिम कानूनी कारबाही समेत गर्ने बताए ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तयार पारेको निर्देशिकामा किसानले दूध दुहुँदा प्लाष्टिकको भाँडा प्रयोग गर्न नमिल्ने व्यवस्था गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट समेत २०७५ असोज ४ गते स्वीकृति भइसकेको उक्त निर्देशिकाको परिच्छेद ३ (छ) को ‘ङ’ मा दूध संकलन गर्दा स्टेनलेस स्टिलको भाँडा वा क्यान मार्फत मात्रै गर्नुपर्ने उल्लेख गरिएको छ ।
निर्देशिका निर्माण गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्लाष्टिकको भाँडो प्रयोग गर्दा त्यसमा दूध टाँसिने सम्भावना हुने र सफा गर्न अप्ठ्यारो हुने भन्दै प्लाष्टिकको भाँडामा दूध संकलन तथा दुहुन नहुने बताएको छ । स्टीलनेश स्टील्सको भाँडा सफा गर्न सजिलो पनि हुने र दूध पनि नटाँसिने हुने भएकाले प्रयोग गर्न आग्रह गरिएको छ ।
यता, डेरी एशोसीयसन केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद भट्टराईले सरकारले ल्याएको नियम स्वास्थ्यको दृष्टिकोणबाट उचित भएको बताउँदै प्लाष्टिक र आल्मुनियमका क्यान विस्तापित गर्नको लागि सरकारले निश्चित समय दिनुपर्नेै बताउँछन् । उनले विगत लामो समय देखि प्लाष्टिकका क्यान प्रयोग गर्दै आएका व्यवसायीहरूले हाल ९० प्रतिशत बढि विस्तापित गरी हाल आल्मुनियम को क्यान प्रयोग गर्दै आएको बताए । पछिल्लो समयमा निर्देशिका अनुसार अव आल्मुनियम समेत विस्तापित गरेर स्टेलनेश स्टील्स प्रयोग गर्न भन्नु जायज भए पनि यसको लागि व्यवसायीको एकल प्रयासबाट संभव नभएको भन्दै प्रदेश, संघीय सरकार र स्थानिय सरकारका विचमा संमन्य खाँचो रहेको बताए । उनले भने–‘हामी स्वाथ्यको मामिलामा सचेत छौ, सरकारले हातेमालो गरोस्, हामी विस्तापित गर्न तयार छौं । ’
रूपन्देही डेरी व्यवसायी समितिका अध्यक्ष गणेशदेव भण्डारीले सरकारले लिएको निती आफुहरूले मान्न तयार भएको तर यसको लागि पहिला स्थानिय निकाय, प्रदेश सरकारले व्यवसायी, किसान संग सहकार्य गरी अनुदानमा स्टेलनेश स्टील्सको क्यान वितरण गर्न आवश्यक रहेको बताए ।
उनले खुल्ला दूध, सडकको दूध समेत स्वाथ्यको लागि हानिकारक रहेको भन्दै पहिला सडकमा खुल्ला, धुलो, धुवाँमा विक्री हुदै आएको दूध बन्द गराउनको लागि स्थानि निकायले विशेष भूमिका खेल्नुपर्ने बताए ।
संघीय सरकारद्वारा जारी दुग्ध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवं गुणस्तर सम्बन्धित निर्देशिका–२०७५ लागु भएसँगै खुला दूध विक्री गर्न प्रतिबन्ध लागेको छ । निर्देशिकाले खुला दूध तथा दुग्धजन्य पदार्थ विक्री विरतण गर्न निषेध गरेको छ । निर्देशिका अनुसार प्रशोधन, प्याकेजिङ्ग गरी उत्पादन मिति, ब्याच नम्बर, प्रयोग गर्ने मिति र मुल्य उल्लेख भएको हुनुपर्ने उल्लेख छ । #butwaltodaydaily