- काठमाण्डौं । नेपाल व्यवसायिक बाख्रापालन महासंघले आयोजना गरेको पत्रकार सम्मेलन सम्पन्न भएको छ । आईतबार रिपोर्टर्स क्लब नेपालमा गरिएको पत्रकार सम्मेलनमा राज्यले किसानलाई बेवास्ता गरेको महासंघले गुनासो पोखेको छ । बाख्रापालक किसानलाई राज्यको तर्फबाट बेवास्ता भएको भन्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा आफूहरुले अघि सारेका मागलाई सम्बोधन गर्न महासंघले सरकारलाई सुझाव दिएको छ |
पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेलले जुनसुकै कर्ममा रहेपनि मान्छेको जीवन कृषि क्षेत्रमा आधारित रहेपनि कृषिलाई सम्मानित पेशाको रुपमा भने कसैले लिन नसकेको बताएका छन् । कृषक भनेको मान्छे पाल्ने जिउदो भगवान हो र यो कुरा बुझ्ने क्षमता सबैले बनाउनुपर्ने उनले बताए । अध्यक्ष पौडेलले कृषिमा लागेका जनसंख्याको ६० प्रतिशतले बाख्रा पाल्ने देशमा, नेपाली किसानको बाख्राको बजार भने ध्वस्त हुनेगरि भारतबाट बाख्रा आयात हुने गरेको बताए । नेपालका थुप्रै परिवर्तनका आन्दोलनमा किसानले महत्वपूर्ण भूमिका खेलेपनि सरकारले किसानका समस्या बुझ्न र ती समस्याको समाधान गर्न नसकेको पनि उल्लेख गरे ।
त्यसैगरी कार्यक्रममा नार्कका पूर्व निर्देशक डा. टेकबहादुर गुरुङले दुःखको मूल्य नपाएपनि उत्साहित रुपमा अगाडी बढेका बाख्रापालक किसानहरुको उर्जाले आफुलाई निकै खुसी तुल्याएको बताए । आफुले नेपालको प्रथम राष्ट्रिय बाख्रा सम्मेलन गरेको स्मरण गर्दै, नेपाली किसानहरुको हितको लागि सरकारले प्रभावकारी रुपमा काम गर्नुपर्ने र बिमामा देखिएका समस्या समाधानमा सरकारले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने भनाई राखे ।
महासंघले अघि सारेका मागमा किसान क्रेडिट कार्डको व्यवस्था गरी न्यूनतम मापदण्डका आधारमा कृषकलाई बैकिङ सेवामा सहज पहुँचको सुनिश्चितता गर्नुपर्ने, कृषि तथा पशुपन्छी पालन उद्यमस्थलहरुमा आवश्यकत्ता अनुसारको विद्युत तत्काल उपलब्ध गराउनुपर्ने, बाख्राहरुलाई खोरेत र पिपिआर पूर्ण खोपको सुनिश्चितता् गरिनुपर्ने, कृषि श्रमिकको अभिलेखीकरण, तालिम, सामाजिक सुरक्षा, प्रोत्साहन भक्ता, दुर्घटना विमा र सञ्चय कोषको व्यवस्था गरिनुपर्ने लगायत छन् ।