
चन्द्रौटा(कपिलवस्तु), चैत्र ।कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नम्बर २ लोहरौलामा ३ वटा पावर डिल स्यालो ट्युवेल सञ्चालनमा आएको छ । पावर डिल स्यालो ट्युवेल निर्माण पम्प जडान कार्यक्रम अन्तर्गत स्यालो ट्युवेल सञ्चालन गरिएको सिँचाई उपभोक्ता समिति लोहरौलाले जनाएको छ । यस्तै वडा नम्बर २ को पडरियामा पनि २ वटा पावर डिल पम्पसेट उपलब्ध गराइएकोे छ ।
भुमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन दाङको सहयोगमा पावर डिलसहितको स्यालो ट्युवेल निर्माण गरिएको कार्यालयका हाइड्रो जियोलोजिस्ट प्रकाश ज्ञवालीले बताए । यस ३ वटा पावर डिलले ७.५ हेक्टर जमिन सिचाँइ गर्न सकिने उनले बताए ।
यस्तै मेकानिकल अधिकृत नारायण पन्थीले १२ लाख रुपैयाँको लागतमा पावर डिलसहितको स्यालो ट्युवेल निर्माण गरिएको जनाए । यस कृषि उपकरणबाट सही सदुपयोग गर्दै बढी भन्दा बढी लाभ लिन सिँचाई उपभोक्ता समितिलाई उनले आग्रहसमेत गरे ।
नेपाली काँग्रेस संसदीय दलका नेता बिरेन्द्र कुमार कनोडियाको पहल र नेपाली काँग्रेस कपिलवस्तु जिल्ला सदस्य तथा युवा नेता श्याम चौधरीको नेतृत्वमा स्यालो ट्युवेल निर्माण कार्य सम्पन्न गरिएको उपभोक्ता समितिले जनाएको छ ।
नेपाली काँग्रेस कपिलवस्तु जिल्ला सदस्य चौधरीले यस क्षेत्रका १ सय ९० बढी घरधुरीका कृषकले प्रत्यक्ष रुपमा कृषिजन्य उत्पादन कार्यका लागि स्यालो ट्यालोबाट लाभान्वित हुने समेत उनले जिकिर गरे ।