सैनामैना ।
पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सैनामैनाको वडा नं।३ मुर्गियास्थित साप्ताहिक हाटबजारको उद्घाटन गर्नुभएको छ । बुधवार एक समारोहकाबिच पौडेलले उक्त साप्ताहिक हाटबजारको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले मुर्गियामा निर्माण गरिएको आधुनिक तथा आर्कषण हाटबजारलाई प्रदुषणमुक्त हाटबजार गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो—‘हाट बजार सुरुमा जति सफा हुन्छ, सकिने बेलामा पनि उत्तिकै सफा गर्ने प्रबन्ध मिलाउन जरुरी छ । ’
उहाँले हाटजार भएको ठाउँमा प्लास्टिक यत्रतत्र छरिएर प्रदुषण हुने हुँदा यसको व्यवस्थापनका लागि पालिकासँगै यहाँका स्थानीय सचेत हुनुपर्ने बताउनुभयो ।
नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका पौडेलले व्यवस्थित हाटबजारले कृषकहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्दै विक्री वितरणका लागि समेत टेवा पुग्ने धारणा राख्नुभयो ।
विशिष्ठ अतिथि लुम्बिनी प्रदेश सभाका सदस्य भोजप्रसाद श्रेष्ठले समृद्धिका हिसाबले सैनामैना विकसित शहरको रुपमा विकसित भइरहेको बताउनुभयो । उहाँले यस हाटबजारबाट यहाँका नगरवासीलाई लाभ लिन आग्रह गर्दै व्यवस्थित हाट बजारको रुपमा विकास गनुपर्ने उल्लेख गर्नुभयो ।
लामो समयदेखि साघुँरो र जोखिममा रहेर व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई एकीकृत किसिमले बजार व्यवस्थापन गर्ने उद्देश्यले अत्याधुनिक हाटबजार सञ्चालनमा ल्याइएको सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले बताउनुभयो ।
कार्कीका अनुसार खुल्ला आकाश मुनि तथा तिरपाल टाँगेर हाटबजारमा व्यापार गरिरहेका व्यापारीहरुको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले व्यवस्थित रुपमा हाटबजार सञ्चालनमा ल्याएको हो । कार्कीेले हाटबजारमा हरियाली प्रर्वद्धन गर्ने योजना समेत बाँकी रहेको बताउँदै पालिकालाई विस्तारै शहरीकरण गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नगरपालिकाका बरिष्ठ इन्जिनियर सुरज न्यौपानेले करिब १ विघा १४ कठ्ठामा निर्मित मुर्गियाको हाटबजारमा एक तर्फ ५८ र अर्को तर्फ ५५ वटा सेड रहेको जानकारी दिनुभयो । उहाँका अनुसार एउटा सेडमा चार जना व्यापारी बस्न मिल्ने बताउँदै चारैतिर २ सय मिटर पक्की नाली निर्माण समेत भएको बताउनुभयो । साथै उक्त हाटबजारमा साँझको समयमा पनि विक्री वितरण गर्न सहज होस् भन्ने हेतुले विद्युतीय सेवा समेत जडान गरिएको छ ।
हाटबजारको निर्माणका लागि संघीय सरकारबाट रु। ४० लाख, प्रदेश र नगरपालिकाको समपुरक अनुदानबाट ४ करोड गरि कूल रु।४ करोड ४० बजेट विनीयोजन भएको थियो । जसमा रु।३ करोड ४३ लाख २ सय ६९ उक्त हाटबजारको लागत रहेको छ ।
२०७६ सालको वैशाखमा निर्माण सुरु गरिएको हाटबजारमा पर्खाल, नाली, सडक स्तरोन्नती, इन्टरलक टायल गर्ने देखि शौचालय निर्माण सम्मका कामहरु भएका छन् ।
नगरपालिकाले परम्परागत रुपमा सञ्चालनमा रहेका हाटबजारलाई व्यवस्थित गर्दै आधुनिक हाटबजार सञ्चालनमा ल्याएको वडा नं। ३ का वडाध्यक्ष रत्न बहादुर पौडेलको भनाई छ ।
नगरपालिकाका अनुसार वडा नम्बर ३ मा रहेको मुर्गिया, वडा नम्बर ८ को कलौनी उत्तरमा रहेको शान्तिटोलमा अत्याधुनिक हाटबजार सञ्चालनमा आएका छन् । भने वडा नम्बर १० सालझण्डीमा रहेको पानबारीमा भने निर्माण कार्य जारी छ ।
वर्षौदेखि सैनामैनाको मुर्गिया, कलौनी लगायतका स्थानबाट परम्मरागत रुपमै साप्ताहिक हाटबजार सञ्चालन हुँदै आएका थिए । मुर्गियामा सोमबार र विहीबार, कलौनीमा शुक्रबार र सालझण्डी पानबारीमा मंगलबार साप्ताहिक हाटबजार लाग्छ । बजारमा तरकारी, घरायसी सामान देखि लत्ताकपडा सम्मका सामान किन्ने उपभोक्ताको बढी भिडभाड हुने गर्दछ ।
उद्घाटन कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना राना, प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारी, नेकपा एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, एमाले जिल्ला सदस्य खुसीराम चौधरी, नगर इञ्चार्ज मिन प्रसाद पौडेल, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम खड्का लगायतको आतिथ्यता रहेको थियो ।