तिलोत्तमा खुल्यो बहुयोजना सहितको सबैभन्दा ठुलो कृषि फार्म

तिलोत्तमा, जेठ
रुपन्देहीको तिलोत्तमा बहुयोजनासहितको कृषि फार्म स्थापना भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर–९ मा यस क्षेत्रकै ठुलो तथा बहुयोजना सहितको कृषि फार्म तिलोत्तमा एग्रो फार्म स्थापना भएको हो ।
यो फार्मले कृषिलाई आधुनिकीकरण गर्न ठूलो सहयोग पु¥याउने फार्मका संचालक बिष्णु कुमार श्रेष्ठले बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले केराको विरुवा रोपेर फार्मको उदघाटन गरेका हुन् ।


कृषि फार्मको उदघाटन गर्दै नगर प्रमुख घिमिरेले यस क्षेत्रको विकास समृद्धि र कृषि उपजको उत्पादन भण्डार र ब्यवसायिकता एवं आधुनिकीकरणका लागि यो फार्मले अनुकरणीय योगदान दिने बताए । नगरप्रमुख घिमिरेले तिलोत्तमा नगरपालिका कृषि उत्पादन र यसको बजारीकरणका लागि निरन्तर लागि परेकोले आगामी दिनमा पनि कृषकका समस्यालाई नजिकबाट सम्बोधन गर्ने बताए । यो क्षेत्रमा रहेका कृषिसंग सम्बन्धित सबै किसिमका खेतिपातिलाई आधुनिकीकरणतर्फ उन्मुख गराउनु सबै नागरिकको कर्तब्य रहेकोले त्यसमा नगरपालिका हातेमालो गर्दै अघि बढ्ने कुरामा ढुक्क हुन उनले किसानहरुलाई आग्रह गरे ।
सोही क्रममा बोल्दै वडा नम्बर–९ का अध्यक्ष नारायण न्यौपानेले किसानका लागि चाहिने प्रविधि, बिउ बिजन, सिंचाई, बिजुली, मलखाद लगायतका सामग्रीको ब्यबस्थापन गर्न आफु सधै तत्पर रहेकोले कृषकलाई ढुक्क भएर लगानी गरी यसक्षेत्रको गरिमा बढाउन आग्रह गरे । वडा अध्यक्ष नारायण न्यौपानेले कृषिमा उत्पादन बढाई बजारीकरण गर्दासम्म नगरपालिका र वडाले कृषकलाई साथ दिने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा नगरपालिकाका कृषि शाखा प्रमुख दोमलाल भुसालले कृषि सामाग्री, बिउबिजन तथा मलखाद र अनुदानका बिषयमा प्रकाश पारेका थिए ।


जम्मा १४ बिगाहा खेतमा सुरु गर्ने भनिएको एग्रो फार्ममा हाल ७ बिगाहामा केरा खेती गरिने भएको अर्का संचालक तारा जिसीले बताए । अहिले ७ बिगाहामा केरा खेतीसँगै दुई हजार मेवाका बिरुवा, एक हजार शितल चिनी लगाइने उनको भनाइ छ । हाल ५० लाख लगानीबाट सो खेती सुरु गरिएको भएपनि बार्षिक लगानी १ करोड ५० लाख पुग्ने उनको भनाइ छ । मौसम अनुसारका खेती र माटो परिक्षण सहित प्राविधिक औजार, ज्ञान तथा सिपले काम अघि बढेको संचालक बिष्णु कुमार श्रेष्ठले बताए । अहिले केरा खेतिबाट सुरु गरिए पनि निकट भविष्यमै विभिन्न खालका फलफुल तरकारी खेतिसँगै माछा पोखरी, अर्गानिक खाना, खाजा सहितको कटेज, सिप अनुसारका खेतीका अनुसन्धान केन्द्र, कृषि योजना सहितको हब, कुखुरा फार्म लगायतका अर्गानिक फार्मको बहुयोजना रहेको श्रेष्ठको भनाइ छ ।
अहिले केरा खेतीबाट सुरु गरिएको यो फार्ममा क्रमैसँग अरु खेती गरिने र ७ बिगाहामा केरा लगाइने छ । १० महिनामा तयार हुने हाइब्रिड जी नाइन केरा टिपेपछि समेत पुनः त्यही टुसाबाट अर्को बिरुवा रही फल्ने छ । उचाइ कम हुने र विश्वमा चलेको यो केराको प्रजातिमा फल समेत धेरै लाग्ने प्राविधिकहरु बताउँछन् ।

© 2022 krishipatra All right reserved