अर्घाखाँची, अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले व्यवसायिक रुपमा कृषि गर्ने कृषकहरुलाई सुलभ ब्याजमा कर्जा दिने भएको छ । विदेशबाट फर्किएका र कोरोना रोगका कारण रोजगार गुमाएका युवा लक्षित कार्यक्रम अनुसार नगरपालिकाले सुलभ ब्याजमा कर्जा दिने भउको हो ।
सोही अनुसार बुधवार सन्धिखर्कमा नगरपालिका र नेपाल बैंक लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल र नेपाल बैंक लिमिटेड लुम्बिनि प्रदेश मुख्य प्रमुख लेखनाथ भुसालले हस्ताक्षर गरे ।
कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख कमल प्रसाद भुसालले नगरपालिकाको सम्वृद्धि र बेरोजगार युवाहरुलाई अगाडी बढाउनका लागि बैंकसँग सम्झौता गरिएको बताउँदै नगरप्रमुख भुसालले १ लाखदेखि ३ लाखसम्म ऋण उपलब्ध गराउने बताए । सन्धिखर्क नगरपालिकाको ७५ लाख र नेपाल बैंक लिमिटेडको ७५ लाख गरि १ करोड ५० लाख रुपैयाँ कृषि पेशा गर्ने राम्रा उद्यमीहरुको गरि कर्जा वितरण गर्ने बताए ।
बैंकका लुम्बिनि प्रदेश मुख्य प्रमुख लेखनाथ भुसालले कृषि पेशा गर्नेलाई बिना धितो कर्जा प्रवाह गर्ने बताए । उनले कुनै भन्झटबिना २ देखि ३ प्रतिशतको हाराहारी ब्याजदर रहने, सुलभदरमा कर्जा लिनेलाई बैंकका अन्य सेवाहरु ईन्टरनेट बैंकिंग, एटिएम सेवा, इबिबिएस सेवा लगायतका अन्य सेवाहरु निशुल्क प्रदान गरिने बताए ।
नगर उपप्रमुख ठाकुर कुमार बिकले स्रोत साधन नभएका युवाहरुलाई हौसला प्रदान गर्ने हेतुले विना धितो सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने उल्लेख गरे । सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद मरासिनीले नागरिकहरुमा वित्तिय क्षेत्रमा पहुँच पुराउने जोसँग लगानी छैन, सीप दक्षता भएका व्यक्तिहरुलाई कर्जा वितरण गर्ने बताए ।