बुटवल, लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले स्मार्ट कृषि गाउँ कार्यक्रम प्रदेशकै गौरवको कार्यक्रम भएको बताउनुभएको छ । सरकारकै गौरवको कार्यक्रम भएको कारण सबैमिलेर यो कार्यक्रमलाई सफल बनाउनुपर्नेमा उहाले जोड दिनुभयो । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन ईकाईको आयोजनामा रुपन्देहीको मंगलापुरमा सम्पन्न स्मार्ट कृषि गाउँ कार्यक्रम अभिमुखिकरण गोष्ठी तथा कार्याशालाको शुभारम्भ प्रमुख अतिथि सचिव डा. पौडेलले स्मार्ट कृषि गाउँले गाउँको मात्रै नभएर प्रदेशकै मुहार फेर्नेमा आफु विश्वस्त भएको बताउनुभयो ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख सन्देश धितालको अध्यक्षतामा भएको कार्यक्रममा कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकोटा, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय प्रमुख तुलसीराम भण्डारीले मन्तव्य राख्दै स्मार्ट कृषि गाउँ कार्यक्रम पुर्णरुपमा कार्यान्वयनमा आउनुपर्ने कुरामा जोड दिनुभयो । एउटा मोडलको रुपमा रहेको कार्यक्रममा अन्य किसानहरुले पनि सिको गर्नुपर्नेमा उहाँहरुकोजोड थियो ।
पशु चिकित्सक डा. यज्ञ अधिकारीको स्वागत मन्तव्य तथा पशु विकास अधिकृत हुमाकान्त पाण्डेको सञ्चालनमा भएको कार्याशालामा योजना तथा अनुगमन महाशाखा प्रमुख सन्देश धितालले स्मार्ट कृषि गाउँ कार्याक्रम सञ्चालन प्रक्रियाको विषयमा कार्य पत्र प्रस्तुत गर्नुभएको थियो । यस्तै मन्त्रालयको खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रर्वद्धन महाशाखा प्रमुख श्रीधर ज्ञवालीले स्मार्ट कृषि गाउँ कार्यक्रमको आधारभुत मापदण्डको विषयमा कार्य प्रत्र प्रस्तुत गर्नुभएको थियो । यस्तै कार्यशालामा लेखा अधिकृत सुरज कुमार चुदाराले आर्थिक ऐन नियम तथा भुक्तानी प्रणालीको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा चालु आर्थिक बर्षमा सुरुवात भएका तथा गत बर्ष अभिमुखिकरणबाट छुटेका स्मार्ट कृषि गाउँ का संयोजक, सहजकर्ता तथा मन्त्रालय मतहतका कार्यालयका फोकल पर्सन लगायत करिव १ सय ५० जनाको सहभागीता रहेको पशु विकास अधिकृत हुमकान्त पाण्डेले जानकारी दिनुभयो ।