बुटवल, फागुन ।कृषि विकास निर्देशनालयको आयोजनामा विषादी व्यवस्थापन तथा न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । प्रदेशका विभिन्न जिल्लाहरुबाट किसान, सरोकारवाला निकायहरुको सहभागीतामा बुटवलमा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा कृषि विकास निर्देशनालय बुटवलका प्रमुख याम नारायण देवकोटा, निर्देशनालयका बरिष्ठ बालि संरक्षण अधिकृत कामना अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै निर्देशक याम नारायण देवकोटाले विषादीको बर्गिकरण, यसको प्रयोग, असर र चुनौतिको विषयमा प्रकाश प्रकाश पार्नुभयो । यस्तै बरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले विषादी को समुचित प्रयोगका फाईदाको विषयमा जानकारी दिदै विषादी प्रयोगमा अपनाउनुपर्ने सचेतनाको विषयमा प्रकाश पार्नुभयो ।
कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवालीले मन्तव्य राख्दै व्यवसायीक नाफा भन्दा पनि मानिसको हितमा राखेर विषादीको समुचित प्रयोग गर्नुपर्नेकुरामा जोड दिनुभयो । निर्देशनालयका बाली संरक्षण अधिकृत राम बहादुर खत्री, कृषि विकास अधिकृत दयाराम बस्याल, कृषि प्रसार अधिकृत अनिल कुमार बानिया, कृषि प्रसार अधिकृत आशा भण्डारी लगायतको सहभागीता रहेको थियो । कार्यालयमा निर्देशनालय र मातहतका कार्यालयका प्रमुख तथा प्रतिनिधी, किसान तथा सरोकारबाला अन्य निकायहरुको सभागीता रहेको थियो ।