
नेपालगन्जः लुम्बिनी प्रदेश सरकारले बाँकेको खजुरामा किसान कल सेन्टर स्थापना गरेको छ । लुम्बिनी प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खजुरामा रहेको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रमा किसान कल सेन्टर स्थापना गरेको हो । लुम्बिनी प्रदेशका किसानहरुलाई लक्षित गर्दै संचालनमा ल्याइएको किसान कल सेन्टरको कृषि अनुसन्धान निर्देशनालयका निर्देशक अमर बहादुर पुनले खजुराका किसान हरि पन्तको पहिलो फोन उठाउदै सोधिएका प्रशनको जवाफ दिएर उद्घाटन गर्नुभयो । किसान कल सेन्टरको उद्घाटन गर्दे निर्देशक पुनले कुनैपनि कृषि सम्बन्धि समस्या आए निधक्क फोन गर्न किसानलाई आग्रह गर्नुभयो ।
कृषकहरुले प्रावधिक सहयोग आवश्यक परेको बेला पाउन सकुन भन्ने उदेश्यका साथ किसान कल सेन्टर स्थापना गरिएको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रका प्रमुख अमरराज शर्मा घिमिरेले जानकारी दिनुभयो । उहाँले किसानको समस्या समाधान गर्न एकै स्थानबाट प्रदेशभरिका कृषकहरुलाई टेलिफोनको माध्यमबाट विज्ञहरु जोड्ने र प्रावधिक ज्ञान, सल्लाह सुझाव प्रदान गर्ने बताउनुभयो ।
किसान कल सेन्टर स्थापना भएपछि कृषकलाई परेको समस्या समाधान गर्न कार्यालय नै धाउन नपर्ने कृषि विज्ञहरुको बुझाई छ । किसान कल, सेन्टर स्थापना भएपछि विषय विज्ञहरुबाट कृषि सम्बन्धि सल्लाह, सुझाव, जिज्ञासा, नवीनतम प्रविधिबारे जानकारी, उत्पादनमा देखापरेका समस्याहरु तथा क्षति समाधानका उपाय, सुचनाहरु एकै ठाउँबाट उपलव्ध हुनेछन ।
तालिम केन्द्रले हप्ताको तिन दिन आइतबार, मंगलबार र विहिबार किसान कल सेन्टर सन्चालन गर्ने गरि आजबाट सुरुवात गरेको हो । दिउँसो १ बजेदेखि ४ बजेसम्म निशुल्क फोन नम्बर १६६०८१५२०९९ मा फोन गरेर किसानहरुले आफ्नो समस्या राख्ने र त्यसको जवाफ सम्बन्धित विज्ञले दिने तालिम केन्द्रका प्रमुख घिमिरेले जानकारी दिनुभयो ।
किसान कल सेन्टरलाई सफल बनाउन सबैले हातेमालो गर्न आवश्यक रहेको समितिका सदस्य समेत रहेका कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा एकिकृत कृषि तथा पशुपंक्षि कार्यालय बार्दियाका प्रमुख बिनोद घिमिरे, वीउ विजन प्रयोगशालाका प्रमुख दिलिप कुमार सिहं, बालि संरक्षण प्रयोगशाला खजुराका प्रमुख नरेश धिताल, अगुवा किसान गेहेन्द्र धिताल, कृष्ण विक्रम केसी लगाएत लुम्बिनी प्रदेशका १२ जिल्लाका अन्य किसानहरुको समेत सहभागिता रहेको थियो ।