सावित्राको लोभलाग्दो कौसी खेती

  • १० धुरमा बनेको एक तले घरको छतमा लटरम्म टमाटर फलाएकी छिन् । साग, गोभी, भन्डा र फलफुलका विरुवाले हरियाली मात्र बनेको छैन् । घरकै सुन्दरता बढाएको छ ।
  • बुटवल रुपन्देही तिलोत्तमा ५ मणिग्राम सिद्धार्थ पथकी सावित्रा भण्डारी विहान हुन साथ घरको छतमा पुग्छिन् । छतमा कौसी खेती गरेकी उनले तरकारी, फलफुल र फुलका विरुवाहरुमा पानी हाल्छिन् । सुकेका पात टिप्छीन् । केही समय करेसाबारीमा भुलेपछि मात्र घर भित्रको काम गर्दछिन् । लकडाउन अघि सम्म सावित्राको दैनिकी यस्तो थिएन । विहान उठ्ने उहि घरयासी काममा व्यस्त हुने थियो । तर लकडाउनले उनको दैनिकी फेरिएको छ ।

    लकडाउनमा विद्यालय नखुल्दा छोराछोरी घरमै बसे । उनीहरुकै स्यारसुसारमा व्यस्त सावित्रा एक दिन सामाजिक सञ्जालमा कौसी खेतीका बारेमा देखिन् । त्यसपछि उनले आफै कौसी खेती गर्ने योजना बनाईन् । यो कुरा छिमेकी कल्पना भण्डारीलाई सुनाईन् । तरकारी संगै फलफुल पनि रोप्ने भन्दै रमेश पाण्डेलाई भनिन् । सवैले सहयोग र हौसला दिएपछि उनले लकडाउनकै बीचमा कौसी खेती सुरु गरिन् ।
    ५ बर्ष अघि तिलोत्तमा बसाई सराई गरी आएकी सावित्राका श्रीमान विदेशमा छन् । २ सन्तान सहित तिलोत्तमा ५ मणिग्राम सिद्धार्थ पथमा बस्दै आएकी सावित्राको कौसी खेती साच्चै लोभलाग्दो छ । १० धुरमा बनेको एक तले घरको छतमा लटरम्म टमाटर फलाएकी छिन् । साग, गोभी, भन्डा र फलफुलका विरुवाले हरियाली मात्र बनेको छैन् । घरकै सुन्दरता बढाएको छ ।
    कौसीमा तरकारी लगाउँदा कुहिने फोहोरलाई व्यवस्थापन समेत गर्न सकिने भएकाले लकडाउन पछि कौसी खेती सुरु गरेको सावित्राले बताईन् । ‘घरमा सामाजिक सञ्जालमा रमाउनु भन्दा करेसाबारीमा भुल्दा छुट्टै आनन्द आउने रहेछ । त्यसैले पनि तरकारी र फूलका विरुवाहरु रोपे’ उनले भनिन् ।
    बाहिरको भन्दा स्वस्थकर हुने भएकाले कौसीको तरकारी राम्रो हुने उनको भनाई छ । अहिले सावित्राले गोभि, धनिया, प्याज, साँग, सिमि, भिन्डी, खुर्सानी, काक्रा लगाएतका तरकारी कौसीमा लगाएका छिन् । तरकारी मात्र होइन उनले सयपत्री, गोदावरी, मखमली, धुपी, स्वीकस, बेगमबेली, डग फलावरका विरुवाहरु समेत उनले रोपेकी छिन् ।
    घरको छतमै च्याउ खेती समेत गरेकी छिन् । गड्यौला मल बनाउने योजना समेत अघि बढाएकी सावित्राले कौसी खेती गर्नेहरुका लागि स्थानिय तहले तालिम दिएमा आफै स्वाबलम्ब बन्न सकिने बताउँछिन् ।
    बजारमा दैनिक जसो तरकारीको मुल्यबृद्धि, विषादी रहित तरकारी उपभोग गर्दा हैरानी भएका सावित्रा जस्तै धेरैले अहिले विकल्पमा कौसी खेतीलाई अगाडि सारेका छन् । कौसी खेतीबाट घरको कुहिने फोहोर व्यवस्थापनमा सहयोग पुग्ने समेत भएकाले अहिले रुपन्देहीमा कौसी खेती गर्नेहरुको लहर नै चलेको छ ।
    रुपनदेहीको तिलोत्तमा, बुटवल, सिद्धार्थनगर, सैनामैना, देवदह लगाएतका क्षेत्रमा अहिले कौसे तरकारी खेती गर्न थालिएको छ । सामान्यतया कौसी खेती भन्नाले घरको छतमा गमला, काठको बाकस, सिमेन्टको बोरा र प्लास्टिकको थैलामा उचित मात्रामा माटो र मलको प्रयोग गरेर खेती गर्नुलाई बुझिन्छ ।
    कौसीको खाली ठाउँको सदुपयोगबाट आर्गानिक तरकारी खेती गर्न सकिने र सानो परिवारलाई वर्षभरि पु¥याउन सकिने भएकाले पनि कौसी खेतीमा धेरै आर्कषित भएका छन् ।
    उक्त टोलमा कौसी खेती गर्ने सावित्रा एक्ली भने होइनन् । अहिले सोही टोलमा कल्पना भण्डारी, छविकला ढकाल, विष्णु गौतम, सम्भयता प्रोखेल, सुनिता पोख्रेलले समेत कौसी खेती गर्दै आएका छन् । टोलले अघि सारेको ‘एक घर एक बगैचा तथा कौसी खेती’ अभियान अनुसार टोलमै कौसी खेतीको सुरुवात गरिएको स्थानिय कल्पना भण्डारीले बताईन् ।
    ‘घरमा बस्दा मनमा धेरै कुरा खेल्ने भएकाले पनि हामीले यो कौसी खेतीलाई अभियानै चलाएर गर्नुपर्छ भन्ने लाग्यो । मैले मात्र कौसीमा फलाएको सिमि बाट घरमा खाएर पनि १६ केजी विक्रि गर्न सके ।’ उनले भनिन् ।
    तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले कौसी खेती गर्नेहरुका लागि नगरपालिकाले विउ र प्राविधिक सहयोग गर्ने बताउँछन् । ‘हामीले यसलाई अभियानकै रुपमा लैजाने योजना बनाएका छौ । अहिले टोलहरु हामीले सिजन अनुसारका विउ विजन दिन थालेका छौ । छिट्टै अभियानको सुरुवात हुन्छ ।’ उनले भने ।

     

    © 2022 krishipatra All right reserved