
धानको गभारोहरु(Rice Stem Borers):
धानमालाग्ने किराहरुमध्ये गभारो पनि एउटा प्रमुख किरा हो | गरम स्थानहरुमा यसले ठुलो क्षति पुर्याउछं | ब्याडमा उम्रेको बेर्नादेखिलिएरधानपाकुन्जेलसम्म यसले बिरुवालाई नोक्सान पुर्याउदछ | धानमा लाग्ने गभारो धेरै जातिका हुन्छन् रतीमध्ये हामीकहाँ पाइने प्रमुख जातिहरु यस प्रकार छन् :
- धानको पहेलो गभारो (Yellow Rice Borer, Scirpophaga incertulus):
- धानको सेतो गभारो (White Rice Borer, Scirpophaga innotata)
- धर्के गभारो (Stripped Rice Borer, Chilo partellus)
- गुलाबी गभारो (Pink Borer, Sesamia inferens)
जीवनी:
माउ पुतलीले धानको पातमा माथिल्लोपट्टि वा पातको आधारमा भित्रपट्टी फुल पार्दछ | फुलबाट हप्तादिनजतिमा लाभ्रेहरु निस्कन्छन र केहीबेरमै (१-२ घण्टा भित्रै) धानको डाठ खोतलेर भित्र पस्दछन | भित्र पुगेर बिरुवाको नरम गुदो खाएर लाभ्रेहरु बढ्न लाग्दछन् | यिनीहरु३-६ हप्तामा पूर्ण विकसित हुन्छन् र डाठभित्रै पातलोरेसमीकोयाबनाएरत्यसभित्र अचल अवस्थामा जान्छन | अचल अवस्थाबाट २-४ हप्ता बितेपछि पुतली निस्कन्छ | लाभ्रेहरु धानको जराको नजिकै जाडोभरि नखाई बस्दछन् र काटेको धानको ठुटोमा छुट्दछन् | उचित तापक्रम पाएपछि यिनीहरु पुतली भएर निस्कन्छन् र नयाँ धानबालीमा फुल पार्न थाल्छन् |
गभारोबाट हुने क्षति:
यिनी किराहरुले धानको गाभोमा प्वाल पारेर भित्र पसेर नरम भाग खान्छन् | यसरी भित्र पसेर खाँदा यिनले बिरुवाको बढ़ने भागलाई तल्लो तहबाटै काटिदिन्छन् जसले गर्दा धानको बिरुवा वा गाभो मर्दछ | यसरी कलिलो अवस्थामा गभारो लागेर मरेको गाभोलाई ‘मृत गा’ ( Dead Heart) भनिन्छ | यदि गभारो धान फुल्ने समयमा लाग्यो भने सद्य बालाको ठाउँमा सुकेको सेतो बाला निस्कन्छ जसमा भुसमात्र हुन्छ | यस्तो सुकेको बालालाई ‘ह्वाइट हेड’ (White Head) भनिन्छ |
गभारोको रोकथाम:
- गभारोका लाभ्रेहरु धानको डाठमा जमिनको नजिकै बस्ने हुनाले धान काट्दा जमिनको सतहनजिकैबाट काट्ने |
- धानकाटिसकेपछिठुटाहरु सङ्कलन गरेर जलाउने अथवा ठुटाहरु डुब्ने गरी ५-७ दिन सम्म पानी जमाईदिने वा खेतलाई गहिरो गरि जोत्ने |
- कतिपय गभारोका पुतली बत्तीमा आकर्षित हुन्छन्, तिनलाईबत्तीको फन्दामा पारेर मार्न सकिन्छ (५-७वटा पासो प्रति हेक्टर) |
- माकुरा, फटयान्ग्रा जस्ता प्राकृतिकशत्रुहरुको संरक्षण गर्ने |
- धान चाँडो रोप्ने, चाडै पाक्ने र होचो जातहरु(जस्तै: घैया-१, घैया-२,तरहरा-१, राधा-४ आदि) लगाउने|
- निमको पिना १० के.जी. प्रतिकठ्ठाका दरले प्रयोग गर्ने |
- निमजन्य बिषादी एजाडिराक्टिन०.०३% ई.सी. ३-५ मिलिलिटर प्रति लिटर पानीका दरले मिसाएर छर्कने |
- सिफारिस मात्रामा मलाखाधको प्रयोग गर्ने | नाइट्रोजनयुक्त मल सिफारिस भन्दा बढी मात्रमा प्रयोग नगर्ने |
- ट्राइकोग्रामा परजीवी किरा ५००००-१००००० प्रति हेक्टरका दरले रोपाइँ गरेको ३-४ हप्तापछि छाडने |
- गभारोहरु धेरै लाग्ने ठाउँमा निम्न विषादीको प्रयोग गर्ने र विषादी छरेपछि ४-५ दिन सम्म खेतबाट पानी बाहिर जान नदिने |
-फिप्रोनिल(Fipronil 0.3% GR) वा कारटाप हाइड्रोक्लोराइड(Cartap hydrochloride 4% G) विषादी १ के.जी. प्रति रोपनीका दरले छिपछिपे पानी भएको खेतमा छर्ने |
-क्लोरोपाइरिफस ५०%+साइपरमेथ्रिन५%इ.सी (Chloropyriphos 50% + Cypermethrin 5% EC) १.५ मिलिलिटर प्रति लिटर पानीका दरले घोलेर स्प्रे गर्ने |
-फोलिथायान (५०%) झोल ६००-८०० मिलिलिटरलाई ६००-८०० लिटर पानीमा मिसाएर प्रतिहेक्टरमा छर्ने |
(लेखक पक्लिहवा कृषि क्याम्पका स्नातक हुन)