गाई संरक्षण गर्न रामपुरमा महायज्ञ हुदै

रामपुर (पाल्पा), ३ फागुन ः गौमाताको संरक्षण गर्न रामपुरमा महायज्ञ आयोजना गरिएको छ ।रामपुर नगरपालिका वडा नं ६ स्थित तातोपानीधाममा गौमाता संरक्षण गर्न रामपुर नगरपालिकाको आयोजनामा श्रीमदभागवत नवाह ज्ञान महायज्ञ हुने भएको छ । आउँदो फागुन १२ देखि २० गतेसम्म संचालन हुने महायज्ञको तयारी तीव्र पारिएको छ ।

गाई संरक्षणका लागि रामपुर नगरपालिकाले गौशाला निर्माणको काम गरिरहेको छ । यसको लागि आर्थिक रकम अभाव भएपछि महायज्ञ गर्न लागिएको हो ।

गौशाला निर्माण गर्न रामपुर नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा रु २० लाख र आर्थिक वर्ष ०७६÷०७७ मा रु २० लाख रकम विनियोजन गरी भौतिक संरचना निर्माणका कामहरु भइरहेको छ ।महायज्ञ अवधीभर रु पाँच करोड दान संकलन गर्ने लक्ष्य रहेको महायज्ञ मुल आयोजक समितिका संयोजक तथा नगर प्रवक्ता हुमनाथ न्यौपानेले बताउनुभयो ।

“गाईलाई पछिल्लो समय हेयका रुपमा लिइएको छ, यसको संरक्षण गर्न महायज्ञ गर्न लागिएको हो, महायज्ञ सकिएपछि भौतिक संरचना छिट्टै नै सम्पन्न गरी गाईलाई गौशालामा राखिनेछ” उहाँले भन्नुभयो ।

महायज्ञबाट उठेको रु पाँच करोड रकममध्ये तीन करोड रकम धर्मशाला निर्माणमा खर्च गर्ने र बाँकी दुई करोड रकम गौशालाको दीगो विकासका लागि प्रयोग गरिने उहाँले बताउनुभयो । एक जना अपाङ्गमैत्री र एक सय जना अन्य व्यक्ति अट्ने खालको सुबिधा सम्पन्न धर्मशाला बनाउने योजना छ ।

तातोपानीधाममा निर्माणाधिन अवस्थामा रहेको गौशाला परिषरमा हुने भएको महायज्ञमा पण्डित नारायणप्रसाद न्यौपानेले संगितमय शैलीमा कथावाचन गर्नुहुनेछ ।महायज्ञको प्रचार प्रसारको कामलाई तीव्र रुपमा अगाडी बढाइएको प्रचार प्रसार उपसमितिका संयोजक दुर्गेश मल्लले बताउनुभयो ।

हाललाई भने गौशाला सम्पन्न नहुदा सम्मका लागि साउनबाट यता वडा नं ६ को कार्यालय परिषरमा नै अस्थायी बारबन्देज गरेर गाईहरु संरक्षण गरेर राखिएको छ । यहाँ अहिले करिव ५० गाई छन् । साउन देखि नगरपालिकाले दुई जना हेरालुको व्यवस्था गरेको छ ।

रामपुर नगरपालिका क्षेत्रमा छाडा गाईले कृषकका खेतबारीमा पुगेर अन्नबाली खाएर सताउन थालेपछि गौशाला निर्माण सुरु गरिएको हो । करिव पन्ध्र रोपनी क्षेत्रफलमा गौशाला निर्माण गर्ने काम भएको छ ।

© 2025 krishipatra All right reserved