(पाल्पा), १० माघ ः पाल्पाको रामपुरमा परीक्षणका रुपमा लगाइएको गोलभेंडा यतिखेर सर्वसाधारणको भान्छामा पुगेको छ ।
परीक्षणमा नै उत्पादन राम्रो भए पछि यसमा संलग्न प्राविधिक हर्षित बनेका छन्, उत्पादित गोलभेंडाको माग पनि बढेको छ ।जिल्लामै नमूनाका रुपमा ठूलो क्षमताको उच्च प्रबिधिको (हाइटेक) टनेलमा गत असोजमा बेर्ना तयार पारी कात्तिकमा लगाइएको नगरपालिकाका प्रवक्ता तथा आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपानेले जानकारी दिनुभयो । “पहिलो पटक लगाइएको हुदा उत्पादन कस्तो हुन्छ भन्ने जिज्ञाशा थियो,” उहाँले भन्नुभयो, “कृषि शाखाका प्राबिधिकको राम्रो हेरचाह र मिहिनेतले सोचेभन्दा राम्रो उत्पादन दिन थालेको छ ।
उहाँका अनुसार टनेलमा करिब तीन हजार सिर्जना जातका गोलभेँडाका बिरुवा लगाइएको छ । एक हप्तादेखि बजारमा टनेलको गोलभेडा बिक्री गर्न थालिएको जानकारी दिदै उहाँले करिव ५० किलो जति बजारमा पु¥याइसकिएको बताउनुभयो । टनेलभित्र अनुमानित नौ हजार किलो गोलभेँडा उत्पादन हुने अनुमान गरिएको नगरपालिकाका सूचना अधिकारी तथा कृषि शाखा प्रमुख रामहरी पाण्डेय बताउनुहुन्छ ।
“बजारमा प्रचलित मुल्य अनुसार हाल प्रतिकिलो रु ५० मा बिक्रि गर्न थालेका छौं, माग पनि राम्रै छ,” पाण्डेयले भन्नुभयो ।
सिर्जना जातको गोलभेँडा एक बोटमा पाँच किलोसम्म उत्पादन हुने भएपनि यहाँ लगाइएको गोलभेँडा तीन किलोसम्म उत्पादन लिन सकिने देखिएको प्राविधिकहरू बताउँछन् ।
यहाँ टनेल निर्माण भएपछि अहिले रामपुरमा विभिन्न क्षेत्रबाट कृषि समूह, विद्यार्थी, विभिन्न सङ्घसंस्था, व्यक्ति यसको अवलोकन तथा जानकारी लिन आउने गरेका छन् । व्यावसायिक कृषिमा कृषकलाई नयाँ प्रविधि सिकाउनका लागि टनेल निर्माण गरिएको हो ।
कृषि शाखाको परिसरमा साढे दुई रोपनी क्षेत्रफलमा ३६ मिटर लम्बाइ र ३६ मिटर चौडाइ रहेको टनेल निर्माण गरिएको हो । प्रदेश सरकारको रु २५ लाख सहयोग र रामपुर नगरपालिकाको रु ३१ लाख गरी रु ५६ लाखको लागतमा निर्माण गरिएको हो । समूहमा अवलोकन गर्न आउनेलाई रु एक हजार शुल्क, प्रतिव्यक्ति रु एक सय र विद्यार्थीका लागि रु ५० टिकट कायम गरिएको छ । अहिलेसम्म एक हजार भन्दा बढीले टनेल अवलोकन गरिसकेको कृषि प्राबिधिक सुशील अधिकारीले बताउनुभयो ।
नगरपालिका स्वयंले विभिन्न बेमौसमी जातका तरकारी उत्पादन गरी रामपुरलाई कृषिबाटै आत्मनिर्भर बनाउने सोच राखिएको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।
“बाहिरबाट आउने तरकारी निरुत्साहित गर्दै यहीँको उत्पादनले बजारको माग आपूर्ति गराउने हाम्रो दीर्घकालिन सोच हो,” उहाँले भन्नुभयो, “कृषकको जनजीवन उकास्न, रामपुरलाई नमुना कृषिका रुपमा विकास गर्नका साथै कृषिमा नयाँ प्रबिधिको प्रयोगमा अभिप्रेरित गर्न टनेल निर्माण गरेका हौँ ।”
यो प्रविधिको टनेल समयसमयमा मर्मतसम्भार गरिएको खण्डमा १० देखि २० वर्षसम्म प्रयोग गर्न सकिन्छ ।
टनेलको प्रयोग आवश्यकता अनुसार तापक्रमको सन्तुलन, थोपा सिँचाइ प्रविधि, हावामा सापेक्षिक आद्रता कायम गर्ने, घामको तापक्रम छेक्ने, कीरा लाग्नबाट बचाउन आदिका लागि उपयोगी छ । यसको प्रयोगबाट मौसमी तथा बेमौसमी तरकारी लगाउन सकिने प्राविधिकहरू बताउँछन् ।
टनेलभित्र तरकारी लगाउँदा गर्मीयाममा सेन्सरमार्फत कुलिङ प्याड र फ्यानको प्रयोग गरी चिसो तापक्रम र हावामा सापेक्षित आद्रता कायम गरिन्छ ।त्यस्तै थोपा सिँचाइ प्रविधि, सेड नेटद्वारा घामको तापक्रम छेक्ने, कीरा छेक्ने जालीको प्रयोगले बिरुवामा कीरा लाग्नबाट बचाउने गरिन्छ ।
जाडोयाममा रोलिङ युभी प्लास्टिकद्वारा बाहिरको भन्दा तापक्रम वृद्धि गराई बिरुवालाई आवश्यक तापमान कायम गर्ने जस्ता यसका धेरै विशेषता छन् ।
यसले कृषकलाई आधुनिक प्रविधिबारे जानकारी गराउन सहयोग पुग्दछ । यसको मुख्य उद्देश्य बेमौसमी तरकारी उत्पादन गर्नु हो ।
नविनतम प्रविधि रामपुरमा भित्रिएसँगै युवामा कृषिप्रतिको आकर्षण पनि बढ्दै गएको स्थानीयवासी बताउँछन् । पछिल्ला यस क्षेत्रमा दुग्ध डेरी उद्योग, आधुनिक प्रविधिबाट तरकारी खेती विस्तार, कृषिजन्य यान्त्रिकीकरणको प्रयोग बढ्दो छ ।पाल्पा जिल्लामै ठूलो क्षमताको टनेल निर्माण भएपछि रामपुरमा धेरैले नयाँ प्रविधिको अवलोकन गरी घरघरमा आधुनिक कृषि प्रविधि अवलम्बन गरी उत्पादन बृद्धि गर्न थालेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताउनुभयो ।
नयाँ नयाँ प्रविधि रामपुरमा भित्रिन थालेपछि परम्परागत निर्वाहमुखी कृषि व्यवसाय गरेका कृषक व्यावसायिक कृषिमा आकर्षण बढ्दै जानुलाई महत्वका साथ हेरिएको छ