रामपुरमा युवा स्वरोजगार कार्यक्रम सुरु, २८ व्यवसायीलाई व्याज अनुदान (फोटो फिचरसहित)

पाल्पा / पाल्पाको रामपुर नगरपालिकामा युवा स्वरोजगार कार्यक्रम शुभारम्भ भएको छ । कृषि तथा पशुपालन व्यवसाय गर्न चाहने युवाहरुलाई छनौट गरी नगर प्रमुख रमणबहादुर थापाले कार्यक्रमको शुभारम्भ गर्नुभयो । बाहिरबाट निर्यात हुने तरकारी, फलफूल लगायतका कृषि उपज निरुत्साहित गर्न नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम ल्याएको नगर प्रमुख थापाले बताउनुभयो ।

रामपुर नगरपालिकालाई कृषि र पशुपालनबाट आत्मनिर्भर बनाउन र स्थानीय उत्पादनलाई प्राथमिकता दिन यो कार्यक्रम सुरु गरेको नगर प्रमुख थापा बताउनुहुन्छ ।
नगरपालिका भित्रका ९२ जना व्यवसायीले यस कार्यक्रममा आवेदन दिएका थिए । जसमध्ये उनीहरुको व्यवसाय अनुमगन तथा मुल्याङ्कन गरेर २८ जना युवा उद्यमी छनौट गरिएको प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले बताउनुभयो । नगरपालिका आफैले कार्यविधि बनाएर युवा उद्यमी छनौट गरी व्याज अनुदान दिने अर्यालको भनाई छ ।

गत आर्थिक वर्ष विनियोजन गरिएको रु ५० लाख रकमबाट यो वर्ष व्यवसाय गर्न चाहने युवा उद्यमीलाई दुई वर्ष सम्मको लागि ऋण अनुदान नगरपालिकाले उपलब्ध गराउने युवा स्वरोजगार कार्यक्रमका सदस्य सचिव तथा नगरपालिकाका सुचना अधिकारी रामहरी पाण्डेयले बताउनुभयो ।

छनौटमा परेकामध्ये सात वटा कुखुराफार्म, छ वटा भैसीफार्म, आठ वटा बाख्राफार्म, चार वटा गाईफार्म, एक बंगुर र एक आलुको वीउ उत्पादन गर्ने व्यवसायीलाई ऋण अनुदान उपलब्ध गराउने सुचना अधिकारी पाण्डेयले बताउनुभयो ।
“कृषकले समितिले तोकेको कार्यविधि अनुसार व्यवसाय गर्नुपर्नेछ, दुई वर्ष सम्म जुनसुकै बैंकबाट ऋण लिएपनि नगरपालिकाले व्याज अनुदान दिनेछ, एउटा व्यवसायका लागि रु १२ लाख सम्म बढीमा अनुदान दिइनेछ” पाण्डेयले भन्नुभयो ।
तरकारी, फलफूल खेती, नर्सरी स्थापना वा नबिन कृषि प्रबिधिको हकमा व्यक्तिगत कम्तिमा दुई रोपनी जग्गामा एकै खेती वा सामुहिक रुपमा दश रोपनीमा खेती गरेको हुनुपर्नेछ कार्यविधिमा उल्लेख छ ।
कुखुरापालनका लागि व्यक्तिगत कम्तिमा ५०० कुखुरा र सामुहिक कम्तिमा तीन हजार कुखुरा (लेयर्स जातको हकमा दुई हजार) पाल्ने योजना सहित कुखुरा अट्ने भौतिक संरचना भएको वा सोही संरचना बन्ने जग्गा हुुनुपर्नेछ ।


माछा पोखरीको हकमा व्यक्तिगत दुई रोपनी र सामुहिक १० रोपनीमा हालसालै निर्माण भएको वा निर्माण गर्न सक्ने जग्गा हुनुपर्नेछ ।

बाख्रापालनको हकमा व्यक्तिगत १० माउ र सामुहिक १०० वटा बाख्रा पालन गर्नुपर्ने, मौरीपालनको लागि व्यक्तिगत २० घार र सामुहिक १०० घार हुनुपर्ने, च्याउ खेतीमा व्यक्तिगत तीन डुमहाउस र सामुहिक १० डुमहाउस, बंगुरपालनमा व्यक्तिगत पाँच माउ र सामुहिक २५ माउ हुनुपर्ने, गाईभैसीमा व्यक्तिगत पाँच माउ र सामुहिक २० माउ हुनुपर्नेछ ।

यस कार्यक्रमले व्यवसायमा हौसला बढेको भैसीपालक कृषक सागर रेग्मी बताउनुुहुन्छ । उहाँले वैदेशिक रोजगरबाट फर्केर भैसीपालन व्यवसाय गर्नुभएको छ । व्यवसायका लागि यस कार्यक्रममा छनौटमा परेपछि रु आठ लाख रकम ऋण लिनुभएको छ ।

“विदेशबाट फर्केर गाउँमै केही गर्छु भन्ने हामीजस्ता युवाहरुका लागि यो कार्यक्रमले व्यवसायमा उर्जा मिलेको छ, दुई वर्ष सम्म आठ लाखको व्याज नगरपालिकाले तिरिदिने भएपछि खुशी लागेको छ” उहाँले भन्नुभयो ।

यस कार्यक्रमम २१ वर्ष उमेर पुरा भई ५० वर्ष भित्रका व्यक्तिलाई मात्र समावेश गरिएको छ । यस आर्थिक वर्षमा पनि नगरपालिकाले युवा स्वरोजगार कार्यक्रमकै लागि रु ४० लाख रकम विनियोजन गरिसकेको नगर प्रवक्ता तथा आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपानेले बताउनुभयो ।

शुभारम्भ कार्यक्रममा इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोक आचार्य, नगरपालिकाका सल्लाहकार देवराज ढकाल, लेखनाथ पोखरेल, नेपाली कांग्रेसका नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा नगर कमिटि अध्यक्ष कमलराज भट्टराई, रामपुर नगरपालिका वडा नं ४ का अध्यक्ष एकबहादुर नेपाली, युवा उद्यमी सूर्यप्रसाद रेग्मी, गरिमा विकास बैंक रामपुर शाखा प्रमुख रमेश ढकाल, पत्रकार छबि खनाल लगायतले बोल्दै नगरपालिकाले सुरु गरेको यो कार्यक्रम अत्यन्तै राम्रो रहेको र व्याज अनुदानबाट राम्रो व्यवसाय गर्न आग्रह गर्नुभएको छ ।नगर प्रवक्ता तथा आर्थिक विकास समितिका संयोजक हुमनाथा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन युवा स्वरोजगार कार्यक्रमका सदस्य सचिव तथा नगरपालिकाका सुचना अधिकारी रामहरी पाण्डेयले गर्नुभएको हो ।

© 2022 krishipatra All right reserved