गृहजिल्ला आएर कृषि मन्त्री भुषाल भने–‘माटो सुहाउँदो काम गर्ने छु’

  • “म जहाँ पुगें, त्यो यहीं माटोकै योगदान हो, त्यसैले यहाँका जनताको लागि म खराव ऋणी छु”
  • बुटवल, मंसिर
    मन्त्री भएपछि धन्यावाद ज्ञापन गर्न गृहजिल्ला रुपन्देही आएका कृषि तथा पशुपंक्षि विकास मन्त्री घनश्याम भुषाले देशको माटो सुहाउदो विकास गर्ने बताएका छन् । रुपन्देहीको भैरहवा, मणिग्राम फर्साटिकर लगायतका स्थानमा कार्याकर्ता तथा शुभेच्छुकहरुको भेटघाटमा व्यस्त रहेका मन्त्री भुषालले गरिबी निवारण, विकास, उत्पादन र उत्पादकत्व वृद्धि जस्ता कुरा कृषि क्षेत्रसँग जोडिएकोले कृषिमा क्रान्ति नभएसम्म समाजवादमा पुग्न नसकिने बताएका थिए ।

    मदन भण्डारी अध्ययन केन्द्र तिलोत्तमा नगर कमिटीले शनिबार मणिग्राममा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै कृषिमन्त्री भुसालले यस्तो बताएका हुन् । मुलुकको कृषि प्रणाली परम्परागत रहेकाले यसलाई तोड्नैपर्ने आवश्यकता औंल्याउँदै उनले भने–“परम्परागत र निर्वाहमुखी कृषिप्रणाली तोडेर व्यावसायिक कृषि नगरेसम्म कृषि क्रान्ति सम्भव छैन ।”

    मन्त्री भएपछि पहिलोपटक गृहनगर आएका भुसालले आफ्नो ध्यान परम्परागत कृषिप्रणाली तोड्नेतर्फ नै हुने बताए । “अहिले बजेटले निर्दिष्ट गरेका कुरा इमान्दारीपुर्वक कार्यान्वन गर्नेतर्फ नै मेरो ध्यान जान्छ, तर आगामी वर्षको नीति कार्यक्रम बनाउने बेला कृषि क्रान्तिलाई बल पुग्ने गरी योजना बनाउने प्रयास रहने छ”–उनले भने ।

    विकास सजिलो कुरा नभएको तर यो सम्भव रहेको भन्दै मन्त्री भुसालले कृषि क्षेत्रमा रहेको श्रम शक्तिलाई कृषि क्रान्तिमा रुपान्तरण गर्ने आफ्नो योजना रहेको सुनाए । जिम्मेवारी निर्वाह गरिरहँदा आफू कुनै लोभ र डरबाट भने प्रभावित नहुने उनले बताए ।
    आफू निर्वाचन क्षेत्रका मतदातासँग भेटघाटका लागि रुपन्देही आएको भन्दै मन्त्री भुसालले यस क्षेत्रका जनताका लागि आफू खराव क्रृणिको रुपमा रहेको बताए । “म जहाँ पुगें, त्यो यहीं माटोकै योगदान हो, त्यसैले यहाँका जनताको लागि म खराव क्रृणि छु”–उनले भने–“क्रृण चुक्ता गर्न त सक्दिन, तर अन्तिम आनासम्म तिर्नका लागि निरन्तर खडा हुनेछु ।”

    आफूमाथि जनताले गरेको ठूलो अपेक्षाप्रति संकेत गर्दै कृषिमन्त्री भुसालले आफूमाथि क्रृणको दायरा अझै बढेको बताए । कृषि क्षेत्रको विकास नभएसम्म मुलुकको प्रगति संभव नभएकोले प्रधानमन्त्रीले कृषि मन्त्रालय सम्हाल्न आग्रह गरेको र आफूले त्यो आग्रहलाई सहर्ष स्वीकारेको पनि मन्त्री भुसालले स्पष्ट पारे ।
    उनले पार्टीका अध्यक्षद्वयको कार्यविभाजनपछि अव पार्टी र सरकारको काम व्यवस्थित ढंगले अघि बढ्ने पनि बताए । “अव पार्टी र सरकार दुवै मोर्चा व्यवस्थित ढंगले अघि बढ्ने अवस्था सिर्जना भएको छ”–उनले भने ।

    © 2024 krishipatra All right reserved