बुटवल, कार्तिक ।
बीस बर्ष शिक्षक जागिरे, ७ बर्ष नेपाल आर्मिको जागिर खाएका अर्घाखाँची जिल्लाको भुमेकास्थान नरपालिका वडा नम्बर –३ लेमसेका किसान रुमलाल पौडेल व्यवसायिक किसानको पहिचान बनाउने योजनामा अगाडि बढेका छन् । विभिन्न स्थानको अध्ययन अवलोकन गरेका उनले सोही अनुसारको कृषि फर्म स्थापना गरी नमुना कार्य गर्ने योजनाको रूपमा अगाडि बढेका हुन् । हाल वडा नम्बर ३ को वडा सदस्य समेत रहेका पौडेलले आफ्नो फर्ममा अहिले विभिन्न प्रजातिका फलफूल, पशुपालन देखि लिएर अध्ययन तथा अन्वेषणको काम समेत गर्दै आएका छन् ।
वि.सं. २०६० सालमा पौडेल कृषि फर्म दर्ता गरेर व्यवसायिक रूपमा कृषिमा लागेका पौडेलले सुन्ता, मौसम, कागतीको अलवा अलैजी खेती, चिया खेती समेत गर्दै आएका छन् । कुल १६ रोपनी क्षेत्रफलमा पौडेलले कागती १ सय ५० बोट, सुन्तला १२० बोट ३ रोपनी क्षेत्रफलमा लगाएका छन् । यस्तै मौसम १ सय वटा बोट ३ रोपनीमा र अलैची २ रोपनीमा ३ सय बोट लगाएका छन् ।
यस्तै चियाको बोट ४ सय वटा समेत रोपेका छन् । पौडेलले अनुसन्धान र अध्ययनको लागि स्टेभरी, दाते ओखर समेत लगाएका छन् । गाउँ घरमा पाईने आरु बखडा, नास्पाती देखि लिएर बेलाउती, अनार लगायतका विरुवाहरू समेत रहेका उनले जानकारी दिए ।
केही समय पहिला विभिन्न स्थानमा तालिम गोष्ठीमा सहभागी भएका पौडेलले व्यवसायिक खेतीको संभावना, सिक्नको लागि विभिन्न स्थानको स्थलगत भ्रमण समेत गरेको जानकारी दिए । उनले भने –‘लगाउने मात्रै भएन, सिक्न आवश्यक प¥यो, त्यसैले गोखरा, भैरहवा, पोखरा लगायतका स्थानमा सिक्नको लागि गएको थिए । ’
शिक्षण पेशा गर्दा समेत कृषिका काम गर्दै आएको जानकारी दिँदै पौडेलले अवकास पछि अझ बढि उर्जा प्राप्त भएको जानकारी दिए । आफ्नै पखेरो बारीमा हराभरा बनाउने योजना अनुरूप आगामी दिनमा थप मौसम, कागतीका बिरुवाहरू रोप्ने योजना बनाएको उनले जानकारी दिए ।
पौडेलले फलफूलको अलवामा पशुपालन समेत गर्दै आएका छन् । हालसम्म कृषि तर्फ करिब १५ लाख रूपैयाँ आम्दानी गर्दै आएको पौडेलले २५ वटा बाख्रा र ६ वटा भैसी समेत पालन गरेका छन् । अगामी दिनम बाख्रा पालन लाई थप जोड दिने योजना बनाएको उनको भनाइ छ ।
प्लाष्टिक पोखरी स्थापना गर्र्नको लागि भुमेकास्थान नगरपालिका बाट १ लाख अनुदान समेत प्राप्त गरेको पौडेलले बिरुवा उत्पादनको लागि आफ्नै नर्सरी बनाउने योजना बनाएका छन् ।
सरकारी निकायबाट हाल सम्म अनुदानको रूपमा ठोस सहयोग प्राप्त नभएको भन्दै उनले यसमा पहुँचवालाहरूलाई भन्दा पनि बास्तविक किसान छनौट गरेर स्थानिय सरकार, प्रदेश र केन्द्रीय सरकारले सहयोग गर्नुपर्ने बताए । उनले भने–‘काम गर्ने एउटा हुन्छ, तर बोलबाला काम नगर्नेहरूकै भएको पाएको छु, त्यसकारण किसानलाई सहयोग गर्दा छनौटमा विशेष ध्यान दिन आवश्यक छ ।’
हाल बार्षिक २ लाख रूपैयाँ सम्म आम्दानी फलफुल विक्रिबाट हुने गरेको जानकारी दिँदै उनले यसलाई अझ बढि बढाउने योजना भएको जनाएका छन् । #butwaltoday