रामपुरका कृषकलाई अनुदानमा कृषि सामग्री वितरण

 पाल्पा पाल्पाको रामपुर नगरपालिका कृषि शाखाले कृषकलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ । तरकारी खेती गर्ने कृषकलाई प्लाटिक सिट, प्लाष्टिक टनेल, ग्रीननेट (सेडनेट) वितरण गरिएको छ ।

रामपुर नगरपालिका वडा नं ९ को हरियाली जब्गादी कृषक समुह, वडा नं ३ को समृद्धि बहुउद्धेश्यीय कृषक समुह, वडा नं ४ को मौलाथर कृषक समुह र १० को सिद्धबाबा फलफुल कृषक समुहलाई प्लाष्टिक पोखरी निर्माणका लागी निशुल्क प्लाष्टिक सिट उपलब्ध गराइएको छ ।

पचास प्रतिशत अनुदानमा २९ कृषकलाई ४५ वटा प्लाष्टिक टनेल, चार कृषकलाई ग्रीननेट (सेडनेट) वितरण गरिएको कृषि शाखा प्रमुख रामहरी पाण्डेयले बताउनुभयो । कृषकको मागको आधारमा अनुदानमा विभिन्न कृषिजन्य सामग्री वितरण गरिएको हो ।

भकारो सुधार कार्यक्रमतर्फ ९७ कृषकलाई छनौट गरी प्रतिव्यक्ति रु पाँच हजार दुई सय रकम उपलब्ध गराइने शाखा प्रमुख पाण्डेय बताउनुहुन्छ । रामपुर नगरपालिका क्षेत्रमा धान बालीमा देखिएको फौजी किराको प्रकोप नियन्त्रण गर्न प्रभावित क्षेत्रका २२ जना कृषकलाई निमजन्य नामक विषादी निशुल्क वितरण गरिएको छ ।

रामपुर नगरपालिकाको वडा नं १, ४ र १० मा करिव २० हेक्टर क्षेत्रफलमा धान बालीमा फौजी किराले आक्रमण गरेपछि कृषि शाखाले नियमित कृषकको खेतबारीमा स्थलगत अनुगमन तथा आकस्मिक बाली उपचार सेवा प्रदान गरिरहेको छ ।

शाखा प्रमुख पाण्डेयको अध्यक्षतामा भएको कर्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले रामपुरको उत्पादनलाई बढाउन बाहिरबाट रामपुरमा भित्रने कृषिजन्य सामग्रीलाई आउदो पुष १ गते देखी निरुत्साहित गर्ने कार्यपालिकाले निर्णय गरेको बताउनुभयो ।

रामपुर बजारलाई धान्ने गरी कृषिजन्य सामग्री उत्पादन गर्न कृषकलाई नगर प्रमुख थापाले अनुरोध गर्दै कृषि व्यावसायमा आबद्ध कृषकलाई आवश्यक सहयोग गर्दै जाने बताउनुभएको छ ।

प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले कृषकलाई व्यावसायमा हौसला बढाउन वितरण गरिएको सामग्रीको सही सदुपयोग गरी उत्पादन बृद्धि गरेर आयस्तर बढाउन सकिने बताउनुभयो ।

नगरपालिकाले कृषकको मागका आधारमा विभिन्न कृषिजन्य सामग्री सहयोग गरिरहेको जानकारी दिदै प्रमुख प्रशासकिय अधिकृत अर्यालले समय अनुसार कृषिमा भित्रिएका आधुनिक प्रबिधि अवलम्वन गरेर व्यावसाय गरियो भने मनग्य आम्दानी लिन सकिने बताउनुभयो ।

रामपुर नगरपालिकाका आर्थिक विकास समितिका संयोजक तथा वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपानेले नगर तथा वडाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

अध्यक्ष न्यौपानेले रामपुरमा निर्माण भएको उच्च प्रबिधिको (हाईटेक) टनेल निर्माण भएपछि कृषकले नयाँ प्रबिधिबाट कृषि व्यावसायमा बिस्तारै जोड दिन थालेको बताउनुभयो । कार्यक्रम संचालन कृषि प्राबिधिक सुशील अधिकारीले गर्नुभएको हो ।

© 2024 krishipatra All right reserved