
बुटवल, कात्तिक ।
पछिल्लो समय रूपन्देहीमा पुष्पखेतीतर्फ आकर्षण बढ्न थालेको छ । रूपन्देहीको बुटवल, तिलोत्तमालगायतका स्थानमा महिलाहरूले समूह नै गठन गरेर अहिले पुष्पखेती गरिरहेका छन् । थोरै लगानीबाट बढी आम्दानी हुने भएपछि महिला समूहहरूले सिजनल पुष्पखेती गर्न थालेका हुन् । तिहार नजिकिँदै गर्दा अहिले कृषकको बारीमा सयपत्री फूल ढकमक्क फुल्न लागेको छ । तिलोत्तमा नगरपालिका–४ मा रहेको क्षितिज नमूना कृषक समूहले यसै वर्षदेखि पुष्प खेती गर्न सुरू गरेको छ । ९ जनाको समूहले ५ कट्ठा क्षेत्रफलमा पुष्पखेती सुरू गरेका हुन् । तिहारमा मात्र यो समूहले करिब २० हजार माला बिक्री गर्ने लक्ष्य लिएको क्षितिज नमूना कृषक समूहकी अध्यक्ष नविना भण्डारीले बताइन् ।
कुल २ लाख रुपैयाँको लगानीमा सुरू गरिएको यो पुष्पखेती अहिले परीक्षणको वर्षमा रहेको समूहले बताएको छ । यस वर्ष लगाएको फूल अपेक्षाकृत फुलेपछि समूहले अर्को वर्ष थप जग्गा भाडामा लिएर पुष्पखेती गर्ने योजना बनाएको छ । त्यस्तै, बुटवलको बेलबासमा पनि चार जना महिलाको सक्रियतामा १४ कट्ठामा पुष्पखेती गरिरहेका छन् ।पौरवी कृषि नारी फार्म स्थापना गरेर सीता खनाल, बोनिका भण्डारी, टीका भण्डारी र कान्ता बेलबासेको समूहले ४ लाख रुपैयाँको लगानीमा यस वर्षदेखि सयपत्री फूलको खेती सुरू गरेका हुन् । समूहकी सदस्य सीता खनालले यस वर्ष २० देखि ३० हजार माला बिक्री गर्ने लक्ष्य लिएको बताइन् ।
त्यसबाहेक रूपन्देहीमा हुने विभिन्न औपचारिक कार्यक्रममा समेत फूल र माला खरिद गर्न सरोकारवालाहरूलाई अनुरोध गरेको उनको भनाइ छ । भारतबाट करोडौंको फूल तिहारमा आयात हुने भएपछि त्यसलाई कम गर्न पनि समूहहरू लागिपरेका छन् ।
त्यस्तै, तिलोत्तमाकी देवी वाग्लेले पनि यस वर्ष व्यावसायिक पुष्पखेती गरेकी छिन् । गतवर्ष उनको समूहले २० हजारभन्दा बढी माला तिहारको समयमा मात्र बिक्री गरेको थियो ।
तिहारको समयमा प्रदेश ५ मा ५ लाख माला आवश्यक रहेको अनुमान पुष्प व्यवसायीको छ । गत वर्षबाट मात्र सुरू भएको पुष्पखेती आगामी ५ वर्षमा प्रदेशभित्र आत्मनिर्भर हुने अपेक्षा गरिएको लुम्बिनी पुष्प व्यवसायी संघका जिल्ला अध्यक्ष एवं प्रदेश ५ का संयोजक रमेश पाण्डेले बताए । ‘गतवर्ष यो प्रदेशमा पुष्पखेती नगन्य थियो तर यो वर्ष प्रदेशका १२ वटै जिल्लाका व्यावसायिक पुष्पखेती गर्ने किसानले २ लाख माला उत्पादन गर्ने अनुमान हामीले गरेका छौं,’ उनले भने ।
प्रदेश सरकारले पुष्पमा आत्मनिर्भर गराउने उद्देश्यले जेठ २४ गते व्यावसायिक पुष्पखेती तथा बगैंचा व्यवस्थापन तालिम दिएपछि संयोजक पाण्डेले अहिले कृषक समूहरूलाई प्राविधिक सहयोगसमेत गरिरहेका छन् ।‘व्यावसायिक पुष्पखेती गरौं, आत्मनिर्भर बनौं, आयात होइन, निर्यात गरौं’ भन्ने प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ को नारा छ । त्यहीअनुसार प्रदेश सरकारले पुष्पखेती गर्नेहरूका लागि अनुदानसमेत दिने गरेको छ ।
source: shilapatra