कोल्डस्टोर निर्माणले पाणिनिका जनतामा खुसियाली

  • पोखराथोकमा कोल्डस्टोर स्थापना हुने
  • अर्घाखाँची 
    अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकाका कृषकहरुमा खुसियाली छाएको छ ।
    प्रदेश सरकार भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोग र शिवशक्ति मिश्रित कृषक समूहको सकृयतामा पोखराथोकमा कोल्डस्टोर स्थापना हुने भएपछि यहाँका कृषक उत्साहित भएका छन् । मन्त्रालयको १ करोड ८७ लाख ७५ हजार तथा शिवशक्ति मिश्रित कृषक समुहको ६२ लाख ५८ हजार गरि कुल २ करोड ५० लाख ३३ हजार को लागतमा ३ सय मेट्रीकटन क्षमताको चिस्यान केन्द्र बन्न लागेको हो । जिल्लामा शुन्तलाको पकेट क्षेत्रको रूपमा रहेको पोखराथोक र पणेनाका कृषकमा कोल्डस्टोरको निर्माण सँगै निक्कै उत्साहित भएका छन् । आफुले उत्पादन गरेको शुन्तलाले राम्रो बजारभाउ पाउने उनिहरुको बिस्वास छ ।

    कोल्ड स्टोरको एक समारोहका बीच प्रदेश सांसद रामजी प्रसाद घिमिरेले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा मन्तव्य राख्दै उहाँले कृषि ,पशुपालन र पर्यटनका माध्यम बाट जिल्ला लाई समृद्ध पार्ने बताउनुभयो । भौतिक निर्माणका अतिरिक्त कृषि र पर्यटनको कामलाई तिब्र पार्न नसके जिल्लाका बासिन्दाको जीवन स्तरमा सुधार गर्न नसकिने बताउदै घिमिरेले कृषिमा व्यवसायीक र आधुनिकी करणको निम्ति हरेक किसिमको सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो । सडक मात्रै बिकास ह‍ो भन्ने मान्यता बाट माथि उठ्न आग्रह गर्दै सांसद घिमिरेले भएका सडक लाई स्तर वृद्धि गर्दै नयाँ ट्र्याक खोल्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताउनुभयो । डांडा काँडा भत्काउनाले पानीका मुहान सुक्नुका साथै भुक्षय र बाढी पहिरोको खतरा बढ्दै गएको भन्दै उहाँले अर्घाखाँची जस्तो सानो जिल्लामा२ हजार भन्दा बढी सडक निर्माणाधिन रहेको र सबै तिर बजेट छर्दा प्रमुख सडकको काम अधुरो रहेको बताउनुभयो ।

    नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता समेत रहनुभएका घिमिरेले वर्तमान सरकार ईतिहासकै नमुना सरकार भएको बताउनुभयो । राष्ट्रिय स्वाधीनताको जगमा निर्माण भएको सरकारले बिकासका पुर्वाधारको निर्माणमा तिब्रता दिनुका साथै जनताका दुरगामी महत्वका असंख्य कामहरू सम्पन्न गरेको दाबी गर्नुभयो । सरकारको काम बाट अत्तालिएकाहरुले सरकारका बिरुद्ध विषबमन गर्दै जनतालाई दिग्भ्रमीत पार्ने काम गरेको बताउँदै उहाँले सचेत रहन जनता लाई आग्रह गर्नुभयो ।
    पाणिनि गाउँ पालिकाका अध्यक्ष अच्युत गौतमले कृषि र पर्यटनको बिकास गरि पालिकालाई समृद्ध पार्ने योजना रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले जिल्लामा पहिलोपटक पाणिनि गाउँपालिकामा कोल्डस्टोर निर्माणको तयारी गरेको भन्दै आफ्नो तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    नेपाल कम्युनिस्ट पार्टी नेकपा क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष जिबनारायण कोईरालाले कोल्डस्टोर निर्माण पछि कृषि उपजले मुल्य पाउने बताउनुभयो । बिचौलिया बाट ठगिदै आएका कृषकलाई कोल्डस्टोरले ठुलो राहत पुर्‍याउने उहाँको भनाइ थियो ।
    शिवशक्ति मिश्रित कृषक समूह पाणिनिका अध्यक्ष चिरञ्जीवी पौडेलको अध्यक्षता र संस्थापक अध्यक्ष रेवती पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा पाणिनि गाउँपालिकाका ईन्चार्ज बावुराम घिमिरे ,सचिव जिबलाल घिमिरे ,समाजसेवी तिलक बहादुर थापा,पत्रकार महासंघका प्रदेश सदस्य शोभाखर पन्थी ,संस्थाका कोषाध्यक्ष खगेन्द्र प्रसाद पौडेल लगायतका वक्ताहरूले मन्तव्य राख्दै कोल्डस्टोरको निर्माण पछि बेसिजनमा शुन्तला ,मौसम बिक्रीगरि स्थानीय कृषकहरूले मनग्ये आम्दानी लिनसक्ने बताउनुभयो ।

    २०७७ असार १५ गते सम्म निर्माण सम्पन्न हुने कोल्डस्टोर बाट पाणिनि गाउँपालिका भित्र र आसपासका जनताले प्रत्यक्ष लाभ लिन सक्नेछन् । पोख्राथोक र पणेना बाट बार्षिक करीब १० करोड भन्दा बढीको शुन्तला बिक्री हुनेगर्छ । पालिकाका करीब ५ सय कृषकले व्यबसायीक रुपमा तरकारी र फलफुल खेती गर्न थालेका छन् ।
    शिवशक्ति मिश्रित कृषक समूह स्थानीय कृषकहरु द्वारा स्थापित संस्था हो । संस्थामा १ सय २५ महिला र १ सय ५ जना पुरुष गरी २ सय ३० जना सदस्य छन् ।

    © 2024 krishipatra All right reserved