नेपाल मत्स्य व्यवसायी संघ रुपन्देहीमा नँया नेतृत्व चयन

रुपन्देही, असोज

नेपाल मत्स्य व्यवसायी संघ रुपन्देहीको दोस्रो साधारण सभा तथा अधिवेशनबाट दिवाकर भुषाल (दिपु) को अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वमम्मत चयन भएको छ ।
शनिवार भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रेम पन्थी, उपाध्यक्षमा पार्वती बुढाथोकी, सचिव धनपती खरेल९भुपती०, सह सचिव प्रेम अधिकारी र कोषाध्यक्षमा धनिराम चौधरी निर्वाचित हुनु भएको हो ।

त्यस्तै सदस्यहरुमा दिलीप मौर्या, ज्ञानु खड्का, हेम कुमार कुर्मी, ज्ञानेन्द्र खनाल, कविता थारु र किशोर चौधरी हुनुहुन्छ । नव निर्वाचित अध्यक्ष दिपु भुषालले रुपन्देहीलाई मत्स्य पर्यटन केन्द्रका रुपमा विकास गर्ने गरि योजना बनाएको बताउनुभयो ।

सबै किसानको सहयोगमा व्यापार सँगसगै अब पर्यटनका रुपमा समेत आफ्नो व्यवसायलाई स्तरउन्नती गरी पर्यटकलाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो । लुम्बिनी आउने पर्यटकलाई आकर्षित गर्न माछा पोखरीमा माछा मार्ने व्यवस्था, पौडी खेल्ने, र्याप्टिङ्ग लगायतको प्याकेज बनाएर पर्यटन व्यवसायीसँग सहकार्य गर्ने भुषालको भनाई थियो ।

साधारण सभामा बोल्दै निवर्तमान अध्यक्ष पुण्य चौधरीले नेपालको माछा उत्पादनले नेपालको बजारमै अपुग रहेको बताउनुभयो । त्यसको लागि उत्पादन बढाउनुपर्ने उहाँले बताउनुभयो । परम्परागत तरिकाले गरिदै आएको माछा पालनलाई सुधार गर्दै आधुनिकिकरण गर्न अहिलेको आवश्यकता रहेको चौधरीले बताउनुभयो ।

बिशिष्ट अतिथी प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मत्स्य सुपर जोनका प्रमुख मकबुल अलीले किसानहरुले उत्पादन गरेको माछाबाट लागत अनुसारको मुनाफा लिन नसकेको बताउनुभयो । शुरुमा किसानहरु व्यवसायी बन्न जरुरी छ त्यसका लागि उनीहरुले साना पोखरीहरु चक्लाबन्दी गरी ठूलो बनाउनुपर्ने उहाँले बताउनुभयो ।

ठूलो क्षेत्रफमा प्रविधियुत्त माछा पालन गरे उत्पादकत्व बढ्ने र फाइदा बढी लिन सकिने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी केन्द्रिय अध्यक्ष अम्बिका प्रसाद अधिकारीले भारतीय माछासँग प्रतिस्पर्धा गर्न नेपाली माछाले नसकेको गुनासो गर्नुभयो । भारतबाट १५, २० दिन अघि मारेका माछा फर्मालिन प्रयोग गरेर नेपालमा आयात हुँदा समेत नेपाल सरकारले गुणस्तर ठिक भनेर भित्राउँदै आएको आरोप लगाउनुभयो । सरकारले मरेका गुणस्तरहिन माछा आयातमा रोक लगाई नेपाली उत्पादनलाई बढवा दिनुपर्ने बताउनुभयो । नेपाली बजारमा अपुग माछालाई पुर्याउन सरकारले नर्या उन्नत जातका भुरा उपलब्ध गराउने, गुणस्तरको दानको व्यवस्था, सरकारी अनुदान बढाउने जस्ता कार्यक्रम आवश्यक रहेको मत्स्य व्यवसायी संघका केन्द्रिय अध्यक्ष अधिकारीले बताउनुभयो ।

© 2024 krishipatra All right reserved