
दाङ भदौ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत दाङमा मकैको सुपरजोन र तोरीको जोन कार्यक्रम सञ्चालनमा छन् । चालू आर्थिक वर्षदेखि जिल्लामा फेरि अर्को जोन कार्यक्रम शुरु भएको छ । दाङको जोन क्षेत्र निर्धारण समितिको छनोटको आधारमा र जनताको माग बढेपछि जिल्लामा मौरीको पनि जोन कार्यक्रम थपिएको हो ।
जिल्लामा लामो समयदेखि मह उत्पादन हुँदै आइरहेको छ भने दाङ जिल्ला मौरीपालनमा उपयुक्त पनि मानिन्छ । दाङमा वार्षिक २ सय ७५ देखि ३ सय मेट्रिक टन मह उत्पादन हुने गरेको जिल्ला माहुरी पालक महासंघका अध्यक्ष विष्णुराज श्रेष्ठले जानकारी दिए । दाङमा गएको वर्ष ३ सय मेट्रिकटन मह उत्पादन भएको अध्यक्ष श्रेष्ठले बताए । जिल्लामा मह धेरै उत्पादन भएपनि मह खानेहरुको सङख्या भने कम रहेको उनको भनाई छ । दाङ जिल्ला भर अहिले ६ सय जना कृषकहरुले माहुरी पालन व्यवसाय गदै आएको माहुरी पालक महासंघ दाङले जनाएको छ । जिल्लामा हाल करिव १० हजार माहुरीको गोला रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।
मह उत्पादनका लागी दाङ उपयुक्त भएका कारण यस वर्षदेखि मौरीको जोन कार्यक्रम शुरु गरिएको जोन निर्धारण समितिका संयोजक तिलबहादुर केसीले जानकारी दिए । उनका अनुसार दाङको घोराही उप महानगरपालिका, तुलसीपुर उप महानगरपालिका र जिल्लाका पहाडी क्षेत्र बङ्गलाचुली गाउँपालिकालाई मौरीको जोन क्षेत्रको रूपमा निर्धारण गरिएको हो । उनले जिल्लामा मौरीपालक किसानले आफूले पालेको मौरी जुनसुकै ठाउँमा लगेर पनि पाल्न सकिने जानकारी दिए । त्यसकारण पनि दाङमा यहाँका किसानभन्दा पनि जिल्ला बाहिरबाट चरिचरनका लागि आउनेहरुले दोब्बर मह उत्पादन गरिरहेका छन् ।
परियोजना ईकाइले २० घारभन्दा धेरै आधुनिक मौरीपालन गर्दै आएका किसानलाई मौरी जोनमा आवद्ध गर्ने निर्णय गरेको छ । मौरी जोन कार्यान्वयन इकाइका प्रमुख महेश रेग्मीले १० वर्षे कार्यक्रमको रूपमा जिल्लामा मौरीको जोन कार्यक्रम लागु भएको जानकारी दिए । उनले मौरी जोन लागू भएको पहिलो चरणमा जिल्लामा मौरी जोनका रूपमा छनोट भएको क्षेत्रको थप अध्ययन गर्ने, मौरीपालक व्यवसायीको क्षमता विकास, सीप विकासमा जोड दिने, मौरी व्यवसायीलाई यान्त्रिकीकरणतर्फ जोड दिनका लागि मेसिन उपलब्ध क्षेत्र छनोट गर्ने लगायतका काम गरिने जानकारी दिए ।
जोन कार्यक्रमको मौरीपालन व्यवसायीको सहजताका लागि मौरीको रानो उत्पादन गर्ने नर्सरी तथा स्रोत केन्द्र स्थापना पनि गरिने योजना रहेको छ । दाङमा उत्पादनहुने महको २० प्रतिशत मात्रै जिल्लामा खपत हुने गरेको छ भने ८० प्रतिशत मह वाहिरी जिल्लामा जाने गरेको छ । जिल्लामा उत्पादन भएको मह जिल्लामै खपत नहुँदा माहुरी पालक कृषकहरु सस्तो मुल्यमा मह विक्रि गर्न वाध्य भएका छन् । मौरी जोन कार्यक्रम लागु भएपछि कृयाकहरु समेत उत्साहित बनेका छन् । जोन कार्यक्रम लागुभएपछि आफुले उत्पादन गरेको महले उचित मुल्य पाउनेमा कृयाकहरु आाशावादी रहेका छन् ।