युवा उद्यमशिलता अभिवृद्धिका लागि प्रतियोगिता

बुटवल, भदौ ।
०६० सालबाट विसी पार्वती अर्गानिक च्याउ तथा तरकारी फर्म संचालन गरिरहेका तिलोत्तमा – ९ का वशन्त छन्त्यालले सिजनका बेला ३ सय किलोसम्म उत्पादन गर्छन् भने अफसिजनमा १ क्वीन्टल सम्म उत्पादन गरी विक्री गर्छन् । कृषिमा च्याउबाट सन्तुष्ट छु , उनले भने , यही पेशामा अझ मेहनत गरी अघि बढ्ने तयारीस्वरुप फर्ममा निरन्तर काम गरिरहेको छु । कृषिमा सरकार र स्थानीय तहले दिने अनुदान र तालिमले सहयोग गरेको उनले बताए ।

तिलोत्तमा – १७ का अभय चौधरीले कृषि पर्यटन प्रवद्र्धन तथा भिलेज रिसोर्ट एण्ड रिसर्च प्राली संचालन गरेको ढाई वर्ष भयो । एक्वा टुरिजम नाम दिइएको उनको उद्यमले ६ विघा जग्गा ओगटेको छ । जग्गामा माछापालन गरी माछाका परिकार, थारु परिकार पाइने रिसोर्ट चलाएका छौं, उनले भने , कृषितर्फ कागती खेती छ । ६ सय २० कागतीको बोट रहेको उनले बताए ।
सुनिल कुमार पाण्डेले लुम्बिनी गोट फार्ममा ८० बाख्रा पालेका छन् । २ सय अंट्ने क्षमताको उनको फार्म विकास गर्नेतर्फ उनले मेहनत गरिरहेका छन् । विदेशको भुमिमा दु ः ख गर्न जानुभन्दा यही काम ठीक लागेको उनले बताए ।

लकासी अचार उद्योगमा १९ प्रकारको अचार पाइन्छ । यसको संचालक पार्वती गिरीले तिलोत्तमा– ३ मा अचार बनाउने उद्यम चलाएकी छन् । अर्डरअनुसार विदेशसम्म पनि उनले बनाएको अचार निर्यात हुने गर्दछ ।
त्यस्तै रेसुंगा दूध विक्री केन्द्रबाट २ सय लिटर दूध विक्री हुने गरेको छ । यसका संचालक क्रृषिराम ज्ञवालीले यो सिजनमा दूध कम पाइने हुंदा माग भएपनि पुरयाउन नसकेको बताए ।
विभिन्न उद्यम गरिरहेका यीनै र अन्यलाई समेटी रुरल इन्टरप्राइज एक्सलरेन्सी कार्यक्रम र तिलोत्तमा नगरपालीकाको समन्वयमा नगरप्रमुख दायित्व ग्रामिण उद्यम द्ुतीकरण कार्यक्रम अन्तर्गत उद्यमशिलता प्रतियोगिता सुरु भएको छ । तिलोत्तमा नगरपालीकाका ८० उद्यमीबाट छानिएका २० उद्यमीले प्रतियोगितामा भाग लिने मौका पाएका छन् । कार्यक्रमका स्थानीय सदस्यले संकलन गरेको तथ्यांकका आधारमा निवेदन मार्फत उद्यमीको उद्यमशिलता क्षमता हेरेर पहिलो चरणमा छनोट गरिएका कार्यक्रमका परियोजना प्रमुख सायुज्य शर्माले बताए । २० युवा उद्यमीबाट १० र तीबाट ५ गरी अन्तिममा १ जनाले उत्कृष्ट पुरस्कार १ लाख रुपैयां पाउनेछ , उनले भने , ५ जनालाई उद्यम विकास तालिम तथा कार्यान्वयनको सिकाइको व्यवस्था हुनेछ । प्रतिष्पर्धा नै भएकाले २० उद्यमीको निर्णयक मण्डलले दिने ६० अंक र एसएमएस भोटिङ मार्फत जोडिने ४० गरी अघिल्लो चरणका लागि मूल्यांकन हुने उनले बताए । सन् ०१४ बाट सुरु भएको यो कार्यक्रम मकवानपुर, पाल्पा , गुल्मी, रामेछाप हुंदै रुपन्देहीको तिलोत्तमामा ल्याइएको उनले जनाए ।

प्रतिष्पर्धामा उद्यमीले नगरका घरघरमा या नागरिकसंग भेट गरी आफ्नो उद्यमको बारेमा जानकारी गराउंदै भोटका लागि अपिल गर्नुपर्नेछ । सोही अपिलबाट आएको भोटका आधारमा अंक जोडिने आयोजक संस्थाले बताएको छ ।
उद्यमी आफनो कामप्रति अझ बढी लगनशिल भएर लाग्न र युवालाई उद्यममा उत्प्रेरित गर्न संस्थासंग समन्वय गरिएको नगरका प्रवक्ता सुरेन्द्र श्रीले बताए । आयआर्जन र शिप विकासको लागि कार्यक्रम उपयोगी रहनेछ , उनले भने , उद्यमीको सफलताबाट अन्यले समेत ज्ञान लिई आकर्षित हुन सक्छन् । नगरपालीकाले यस्ता उद्यमशिलता र शिप सिकाउने कार्यक्रममा नगरबासीलाई अघि बढाउने उनले बताए ।

भोटिङ बुधवार राति १२ बजेबाट सुरु भइ असोजको १८ गते सकिनेछ । यो अवधीमा नगरपालीकाको १, आयोजक संस्था रिपबाट १, उद्यमीका तर्फबाट १ र वित्तिय क्षेत्रका १ गरी बनेको निर्णायक मण्डलको टोलीले उद्यम अनुगमन गरी अंक दिनेछ । त्यसपश्चात बांकी रहने १० जनालाई व्यापार साक्षरता तालिम दिइने प्रमुख शर्माले बताए । तालिम लिइसकेका १० को निर्णयकबाट भएको अनुगमनका आधारमा अंक दिई ५ जना बाहिरीनेछन् । बांकी ५ ले नेतृत्व विकास र व्यवसाय पाटी तालिम पाउने उनले बताए । तालिमपछि गरिने अनुगमन र उनीहरुको उद्यम उत्पादन अभिवृद्धिका आधारमा २ महिनापछि एकै ठाउंमा जम्मा गराई प्रगति विवरणको प्रतिवेदन सुन्ने र त्यहीबाट १ प्रतियोगि विजेता बन्दै थप १ लाख रुपैयां पुरस्कार पाउने उनले जनाए ।

© 2023 krishipatra All right reserved