पाल्पामा सिकाइ केन्द्र बन्दै सामूहिक तरकारी खेती

  • राजमार्गबाट डेढ किमिनजिक ३५ रोपनी भाडामा लिएर किसानहरूले सामूहिक खेती गरेका छन्
  • पाल्पा — तानसेन नगरपालिका ७, प्रवासमा गरिएको सामूहिक तरकारी खेती सिकाइ केन्द्र बनेको छ । नयाँ प्रविधिबाट भइरहेको सामूहिक खेती सिक्ने थलो बनेको हो । सामूहिक खेतीबाट किसानको वास्तविक लगानी र नाफा/घाटा पनि थाहा पाइन्छ ।
    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारी जोनको ७ लाख ४० हजार रुपैयाँ सहयोगमा यहाँ तरकारी खेती भइरहेको हो । सामूहिक तरकारी खेतीलाई किसानको भ्रमण गर्ने थलोका रूपमा परिचित गराउने जोनको योजना छ । मिनी टिलर, थोपा सिंचाइ, मल्चिङ गर्ने तरिका, टनेलको प्रयोग गरेर खेती गरिएको छ ।

    ‘प्रविधि अवलोकन गर्ने थलोका रूपमा परिचित छ,’ तरकारी जोन सञ्चालक समिति अध्यक्ष पदम पौडेलले भने, ‘सामूहिक तरकारी खेतीबाट आम्दानी र लागत खर्च पूर्ण रूपमा निकालिएको छ ।’ राजमार्गबाट डेढ किमि नजिक ३५ रोपनी जग्गा भाडामा लिएर किसानले सामूहिक खेती गरेका छन् । माघबाट सुरु भए पनि जेठ १५ बाटमात्रै आम्दानी लिएका हुन् ।

    ‘सुरुमा पानीको समस्या भयो,’ सञ्चालक समिति पूर्वअध्यक्ष ध्रुव भण्डारीले भने, ‘त्यसपछि अन्य व्यवस्थापनमा पनि समय खर्चिनु परेको थियो ।’ सुरुमा गोलभेडा, काँक्रो र सिमी लगाएका छन् । चार महिनामा १६ टन उत्पादन भएको छ । काँक्रो दुई टन र सिमी एक टन उत्पादन भएको छ । ‘सुरुमा भाउ पाउने अवस्था थिएन,’ उनले भने, ‘अहिले आकासिएको छ । पहिला र अहिलेको अवस्था बराबरी जस्तै छ ।’ भाडामा लिएको जग्गामा काम गर्ने जिम्मा भने पूर्वअध्यक्ष भण्डारी र पूर्वसचिव महेश पन्तले लिएका छन् ।

    ‘हामीले प्रत्येक कामको टिपोट राखेका छौं,’ सचिव पन्तले भने, ‘जसले गर्दा किसानले के कति काम गर्दा कति नाफा वा घाटा हुन्छ भन्ने निष्कर्ष निकाल्न सक्ने अवस्थामा पुगेका छौं ।’ कतिपय अवस्थामा काम गर्नलाई पनि समस्या हुने उनको अनुभव छ । ज्यालाकै विषयमा पनि सरकारी डोर हाजिरी फाराम भर्नलाई सरकारले तोकेको न्यूनतम ज्याला दिनुपर्ने हुन्छ । सरकारी ज्याला ६ सय छ । चलनचल्तीको ३ सय ५० रुपैयाँमा काम पाउँदा पनि स्थानीय खुसी छन् ।

    सामूहिक तरकारी खेतीले युवालाई रोजगारी दिएको छ । सामूहिक तरकारी खेतीबाट आठ जनाले निरन्तर काम पाएका छन् । उनीहरूले मासिक आठ/नौ हजार रुपैयाँ पाइरहेका छन् । तरकारी खेती गरेबापत वार्षिक ८० हजार रुपैयाँ जग्गाधनीलाई तिर्नुपर्छ । माघ १ गतेदेखि असार मसान्तसम्मका लागि भण्डारी र पन्तले कामको जिम्मा लिएका हुन् । सञ्चालक समितिको बैठकले दिएको जिम्मेवारीको समय सकिएको छ । अर्को निर्णयका लागि बैठक बसेको छैन । अहिलेसम्म चार महिनामा ६ लाख ५० हजार रुपैयाँ आम्दानी भएको पूर्वसचिव पन्तले बताए । by:KMG

    © 2025 krishipatra All right reserved