बाँके जिल्लामा खसीबोका आयातमा ४८ प्रतिशतले कमी

बाँके, साउन  नेपालगञ्ज नाकाबाट खसीबोका आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ६९ हजार ३३८ वटा खसीबोका आयात भएका छन् । जुन आव २०७४/०७५ को तुलनामा ४८ प्रतिशतले कमी हो । आव २०७४/०७५ मा एक लाख ४४ हजार १७२ वटा खसीबोका भारतबाट आयात भएका थिए ।

सीमानाका जमुनाहामा रहेको पशु क्वारेन्टाइन चेकपोष्टका अनुसार दोस्रोमा सुँगुर, बङ्गुर आयात भएको भएको छ । आव २०७४/०७५ मा आठ हजार ७७१ वटा सुँगुर, बङ्गुर आयात भएकोमा आव २०७५/०७६ मा आयात दर घटेर दुई हजार २१ वटा सुँगुर, बङ्गुर आयात भएको चेकपोष्ट प्रमुख रामसेवक त्रिपाठीले जानकारी दिनुभयो ।

त्रिपाठीका अनुसार, गत आवको फागुनसम्म ६९ हजार २४८ वटा खसीबोका, दुई हजार २१ सुँगुर, बङ्गुर, एक हजार १३० घोडा, खच्चड र ७१३ गोटा राँगा, भैँसी आयात भएका छन् । “काठमाडौँ, पोखरालगायतका शहरमा लैजान नेपालगञ्ज नाकाबाट खसीबोका आयात हुने गरेको थियो”, उहाँले भन्नुभयो ।

भारतबाट आयात हुने पशुचौपाया निरोगी भएको प्रमाण पेश गर्नुपर्ने नियम लागू भएपछि यस नाकाबाट पशुचौपाया आयात हुने क्रम घटेको उहाँको भनाइ छ । आव २०७४/०७५ मा एक लाख ५४ हजार ९५४ वटा अन्य पशुचौपाया आयात भएकोमा आव २०७५/०७६ मा ७३ हजार २०२ वटा पशुचौपाया मात्र आयात भएको उहाँले बताउनुभयो ।

स्वास्थ्य जाँच गराउन नयाँदिल्ली वा कलकत्ता जानुपर्ने भएपछि भारतबाट पशुचौपाया आयातमा कमी आएको उहाँको भनाइ छ । त्यस्तै आव २०७४÷०७५ मा ७६८ मेट्रिक टन दूध र २४ हजार २२१ मेट्रिक टन खाने माछा आयात भएकोमा आव २०७५/०७६ मा १७९ मेट्रिक टन दूध र ३३१ मेट्रिक टन माछा आयात भएको चेकपोष्टको तथ्याङ्कले देखाएको छ । “स्वास्थ्य जाँच गराएर मात्र माछा ल्याउन दिने नियममा कडाइ गरिएपछि माछा आयातमा पनि कमी आएको छ”, त्रिपाठीले भन्नुभयो । खसीलगायत पशुचौपाया आयात गर्ने व्यापारीले सम्बन्धित देशबाट पशुचौपायाको स्वास्थ्य जाँच गरेको प्रमाणपत्र ल्याउनुपर्ने नियम लागू गरेपछि भारतबाट पशुचौपाया कम आयात हुन थालेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “नाफाभन्दा झन्झट धेरै हुने भएपछि पशुचौपाया आयात ह्वात्तै घटेको छ ।” जुन देशबाट आयात गर्ने हो सोही देशको क्वारेन्टाइनबाट पशु स्वास्थ्य जाँचको प्रमाणपत्र ल्याउनुपर्ने नीति विसं २०५५ मा बने पनि पशु क्वारेन्टाइन चेकपोष्टले गत चैतदेखि मात्र यो नियम कडाइका साथ लागू गरेको छ ।

पशु सेवा विभागको निर्देशनमा भारतबाट निकासी हुने पशुको स्वास्थ्य जाँच प्रमाणपत्र अनिवार्य गरेको त्रिपाठीले बताउनुभयो । “आजभन्दा २१ वर्षअघि नै नीति आए पनि हालसम्म कडाइ गरिएको थिएन”, उहाँले भन्नुभयो, “अहिले आएर कडाइका साथ नीति कार्यान्वयन गर्ने आदेश आएपछि सोहीबमोजिम हामीले काम गरेका हौँ ।” चैतदेखि असार मसान्तसम्म ९० वटा खसीबोकाबाहेक अन्य कुनै पशुचौपाया आयात नभएको उहाँले बताउनुभयो । पशुको स्वास्थ्य जाँच भएको प्रमाणपत्र बुझाउनुपर्ने नियममा कडाइ गरिएपछि नेपालगञ्ज नाकाबाट पशुचौपाया आयातमा कमी आएको क्वारेन्टाइन प्रमुख त्रिपाठीले बताउनुभयो । (रासस)

© 2024 krishipatra All right reserved