
बुटवल, साउन ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेश नम्बर ५ का विभिन्न १२ वटा समुह, सहकारी तथा डेरी उद्योगलाई दुध बोक्ने ट्यांकर प्रदान गरेको छ ।
शुक्रबार मन्त्रालयका एक कार्यक्रमको आयोजना गरी ३ हजार लिटर क्षमता देखि ९ हजार लिटर क्षमताका ट्यांकरहरु प्रदान गरिएको हो ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले ३५ लाख रुपैयाँ देखि ५१ लाख रुपैयाँ सम्म पर्ने ट्यांकरको चावी १२ जना किसान, सहकारी संस्था तथा संस्थानलाई प्रदान गर्नुभयो ।
अनुदानमा ट्यांकर पाउने किसानहरुमा कपिलवस्तुको टुविन्स माईक्रो डेरी उद्योग, गुल्मीको ईश्वर दुग्ध स्टोर्स, सैनामैना रुपन्देहीको सालझण्डी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, कपिलवस्तुको महालक्ष्मी डेरी उद्योग, बर्दियाको भगवती दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, बासगढी नगरपालिकाको भटराई दुग्ध उद्योग प्रालि, लिवाङ्ग रोल्पाको रोल्पा नगरपालिका कार्यालय, नवलपरासीको चन्द्रोदय वहुउदेश्यक सहकारी संस्था लिमिटेड, लमहीको निल कमल सामाजिक महिला उद्यमी समुह रहेका छन् ।
यस्तै मन्त्रालयले लुम्बिनी दुग्ध वितरण आयोजना बुटवल र कोलहपुर दुग्ध वितरण आयोजना बाँकेलाई समेत दुई वटा मिल्क ट्यांकर प्रदान गरेको छ ।
कार्यक्रम भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीको अध्यक्षता, मन्त्रालयको पशुपंक्षि विकास महाशाखा प्रमुख डा. प्रदिप शर्मा पौडेलको स्वागत तथा पशु चिकित्सक देवीराम मरासीनीको सञ्चालनमा भएको थियो ।