बेझाड (पाल्पा), ३० असार
‘हलगोरु झरे खेताली झरे वेशीको रोपाईमा, संगी र साथीको झ—झल्को आउँछ एकलो बेलैमा’………………. ।
धान रोपाई गर्दा गाइने यस्ता पुराना मौलिक गीतहरु अहिले सुन्न पाइदैन । यी मौलिक संस्कृतीहरु गाउँघरमा हराइसकेका छन् ।
पहिले पहिले गाउँघरमा असारे गीत, उवाली गीत गाउने र पन्चेबाजाको तालमा खेतमा धान रोप्ने चलन थियो । अहिले भने यो परम्परा समुदायबाटै हराउन पुगेको छ ।
‘आज नि रोपाई भोली नि रोपाई पर्सी नि जानुछ, एकै र दिन गरेको खेती वर्षदिन खानुछ’……………… ।
काम संगै रंग रमाईलोका साथ कृषकले उत्सवका रुपमा धुमधामले धान रोप्ने गर्थे । अहिले गाउँघरमा कृषिका विभिन्न आधुनिक प्रबिधिहरु पुगे संगै पुरानो गएको रामपुरका स्थानीय लक्ष्मी तिवारी बताउनुहुन्छ ।
पन्चेबाजाको तालमा असारे गीत गाउँका मनका पिडा वेथा बेदना सबै हराउने गरेको उहाँले आफ्नो अनुभव सुनाउनुभयो ।
“असारका भाकामा गीत गाएर धान रोप्दा दिन गएको पत्तो हुदैनथ्यो, साथीहरु संग ख्याल ठट्टा गर्दै रमाउँदै साँझ मेलो सकाएर घर फर्कदा थकाईको अनुभुती नै भएन, अहिले पहिले जस्तो रमाईलो हुनै छाड्यो धान रोप्ने परम्परा” उहाँले भन्नुभयो ।
आजभन्दा २० वर्ष पहिले यस क्षेत्रमा पन्चेबाजाको तालमा असारे गीत गाउँदै रमाईलो संग धान रोप्ने परम्परा छ । अहिले यो चलन पूर्ण रुपमा हराईसकेको छ ।
गाउँमा विभिन्न कृषि यान्त्रिकरणको प्रयोग बढ्दै जानु, खेतीयोग्य भुमी घर घडेरीमा परिणत हुनु, युवा जनशक्ति रोजगारीको शिलशिलामा विदेश पलालयन हुनु जस्ता कारणले पुरानो मौलिक परम्परा, संस्कृती हराउन थालेको ज्येष्ठ नागरिक जयनारायण न्यौपाने बताउनुहुन्छ ।
“धान रोपाई सुरु हुनुभन्दा एक महिना अघि देखि नै आवश्यक सामग्रीको बन्दोबस्त हुन्थ्यो, हलगोरु खेतमा पुगेपछि दिनभर खेतालाले असारे गीत गाउँदै धान रोप्ने, पछि पछि दमाईले बाजा बजाउने गर्दा एउटा पर्व जस्तै रमाईलो हुन्थ्यो रोपाई, अहिले त एकैछिनमा ट्याक्टरले हिलो सकेपछि रोपेर सकिन्छ” न्यौपानेले भन्नुभयो ।
गाउँघरमा पालो लगाएर असार र साउन महिनामा दिनभर खेतमा धान रोपाई गरिन्थ्यो । अहिले पालो लगाएर धान रोप्ने चलनमा पनि कमी आउन थालेको छ ।
बिशेषगरी महिलाहरुले धान रोप्दा आफ्ना पिडा बेदना पनि गीतका माध्यमबाट व्यक्त गर्ने गदर्थे । घर माईत गर्दा भोगेका सुख दुखका गाथालाई असारे भाकामा धान रोप्दा गाउने र मलाई शान्त पार्ने गर्थे ।
‘असारलाई भनी कुटेका चिउरा चैतैमा घुन लाग्यो, छोरीलाई सुख छ भन्थ्यौ बाबा मैलैमा जुन लाग्यो’……………।
असारे गीतलाई कसैले रमाईलोको रुपमा त कसैले माया प्रेम, ख्याल ठट्टा, दुख वेदनाका रुपमा लिइने गरिन्छ । खनजोत गर्न पावर टिलर, मिनि टिलर, ट्याक्टरको सुबिधा गाउँ गाउँमा पुगेपछि खेती गर्ने परम्परामा परिवर्तन आउन पुगेको छ ।
एक हल गोरुले दिनभर जोतेर सकाउने जमिन ट्याक्टरले छोटो समयमा नै सकाउने हुदा कृषक आधुनिक प्रबिधितिर आकर्षित हुन थालेका छन् । यसले गर्दा पनि परम्परागत मौलिक संस्कृतीहरु हराउन पुगेको कृषि शाखा रामपुरका प्रमुख रामहरी पाण्डेय बताउनुहुन्छ ।
कृषकले पछिल्लो समय उत्पादन बढाउने तर्फ ध्यान दिन थालेकाले पुरानो प्रबिधि छाडेर नयाँ नयाँ प्रबिधि अंगाल्न पुगेका छन् । यसले गर्दा पनि परम्परागत रुपमा चलनचल्तिमा रहेका मौलिक संस्कृती हराउन पुगेका छन् ।