बुटवल, असार ।
रुपन्देहीको बुटवल र बाँके जिल्लाको नेपालगञ्जमा विगत केही समय देखि बन्द रहेका विषादी अवशेष द्रत विश्लेषण एकाई(प्रयोगशाला) प्रदेश नम्बर ५ सरकारले चलाउने भएको छ । यसरी बुटवलको बुटवल कृषि उपज थोक बजार केन्द्रमा रहेको विषादी अवशेष द्रत विश्लेषण एकाई(प्रयोगशाला) र बाँके जिल्लाको नेपालगञ्जमा रहेको विषादी अवशेष द्रत विश्लेषण एकाई(प्रयोगशाला) लाई सञ्चालन गर्ने तयारी आफुले सुरुवात गरेको प्रदेश नम्बर ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार अनुसार कर्मचारी अभावमा बन्द रहेका दुई वटा विषादी मापन गर्ने प्रयोशाला प्रदेश सरकारले जनशक्ती पठाएर सञ्चालन गर्न लागिएको हो ।
मन्त्री पौडेलले भन्नुभयो–‘केन्द्र सरकारबाट सञ्चालनको स्वीकृत लिई हामीले जनशक्ति व्यवस्थापन गरी सञ्चालन गर्ने योजना बनाएका छौं । ’ मन्त्री पौडेलले पहिलो चरणमा बुटवल कृषि उपज थोक बजार केन्द्र बुटवलमा रहेको प्रयोशाला सञ्चालन गर्ने योजना बनाएको जानकारी दिनुभयो । जसको प्रारम्भीक अनुगुमन गरेर के कस्तो अवस्थामारहेको छ भन्ने विषयमा जानकारी लिने र प्रदेश सरकारबाट कर्मचारी पठाएर सञ्चालन गर्ने योजना प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बनाएको छ ।
केन्द्रीय सरकारको मातहतमा रहेका नेपालभरका विषादी अवशेष द्रत विश्लेषण एकाई(प्रयोगशाला) कर्मचारी अभावको कारण बन्द भएका थिए । केही समय पहिला सञ्चालनमा रहेका प्रयोशाला कर्मचारी समायोजना पश्चात कर्मचारीहरु समायोजन भएर गएपछि बन्द भएका थिए । जसको कारण बुटवलमा रहेका विषादी अवशेष द्रत विश्लेषण एकाई(प्रयोगशाला) बन्द भएको थियो ।