
बुटवल, असार ।
आर्थिक योजना मन्त्रालय(अर्थमन्त्री) समेतको जिम्मेबारी सम्हाल्नुभएका मुख्य मन्त्री शंकर पोखरेलले प्रदेश सभामा प्रस्तुत गर्नुभएको बजेटमा २३ वटा बुँदा कृषिका समेटिएका छन् । आर्थिक वर्ष ०७६/७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको अनुमानित बजेट प्रस्तुत बजेटमा कृषिमा ४ अरव ७ करोड बजेट विनियोजन भएको छ ।
हेर्नुहोस बजेटमा कृषिका २३ बुँदा । जसमा समेटिएकाछन् बजेटका विभिन्न कुराहरु ।
माननीय सभामुख महोदय,
अब म क्षेत्रगत कार्यक्रम तथा विनियोजन प्रस्ताव प्रस्तुत गर्न चाहन्छु ।
कृषि, भूमि व्यवस्था र सहकारी
कृषि क्षेत्रलाई आधुनिकीकरण तथा व्यावसायीकरण गरी समग्र अर्थतन्त्रको विकासको आधार बनाउने, समाबेशी विकास गर्ने, रोजगारी सिर्जना गर्ने, आत्मनिर्भर बनाउने र गरिबी निवारण गर्नेगरी आवश्यक नीति तथा कार्यक्रमहरु तयार गरिएका छन् ।
1 “गरौं ब्यावसायिक कृषि, यसैबाट शुरु हुन्छ प्रदेशको समृद्धि” भन्ने मूल नारालाई आत्मसात गर्दै कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण तथा ब्यावसायीकरण गरी कृषि प्रवर्द्धन गर्न बित्तीय संस्थाहरुसंगको सहकार्यमा कृषकहरुलाई सुलभ कर्जा उपलब्ध गराउने कार्यमा सहजीकरण गर्दै ब्याजमा नगद अनुदान उपलब्ध गराइनेछ । यसका लागि रु. १० करोड बिनियोजन गरेको छु ।
2 कृषि क्षेत्रमा श्रमिकको अभाव र बजारमा बेरोजगारीको समस्या रहेको विरोधाभासपूर्ण स्थितिलाई सम्बोधन गर्न कृषिकर्मी रोजगार कार्यक्रम संचालनमा ल्याइनेछ । यस कार्यक्रमले उपलब्ध श्रमशक्तिलाई कृषि तथा पशुजन्य फर्म तथा उद्योगमा परिचालन गर्दै स्थानीय स्तरमा रहेका उत्पादनमूलक कृषिभूमिको समूचित प्रयोग गरी स्थानीय स्तरमै रोजगारी सृजना गर्नेछ । यसका लागि रु. १० करोड विनियोजन गरेको छु ।
3 कृषि उत्पादनदेखि बिक्री वितरणसम्मको मूल्य श्रृंखलाका प्रत्येक चरणमा कृषकलाई सहयोग गर्न, प्रविधि हस्तान्तरण गर्न, सामुहिक ब्याबसायीकरण गर्न र प्रसार प्रणालीलाई थप सवल तथा प्रभावकारी बनाउनका लागि चालू आर्थिक बर्षमा प्रारम्भ गरिएको “स्मार्ट कृषि गाउँ कार्यक्रम” लाई निरन्तरता दिइएको छ । यस कार्यक्रमलाई प्रत्येक स्थानीय तहसम्म पुर्याउने नीति अनुरुप आगामी आर्थिक वर्षमा थप २४ स्थानीय तहहरुमा विस्तार गर्नेगरी सम्पूर्ण प्याकेज कार्यक्रमका लागि रु. ३५ करोड विनियोजन गरेको छु ।
4 कृषि क्षेत्रमा रहेको यान्त्रिकीकरणको कमीलाई समाधान गर्न, उत्पादन तथा उत्पादकत्व वृद्धिका साथै रोजगारीको अवसर श्रृजना गर्न परम्परागत रुपमा रहेका आरनहरुलाई आधुनिकीकरण गर्नुका साथै कृषि यन्त्र निर्माण कार्यक्रमसँग आवद्धित गरिनेछ । यसका अतिरिक्त यान्त्रीकरणमा किसानको पहुँचमा बृद्धि, थप प्रतिस्पर्धी र समग्र कृषिको आधुनिकीकरण गर्न कष्टम हायरिङ् सेन्टर स्थापना गर्न रु. ६ करोड विनियोजन गरेको छु।
5 युवाको पौरख, प्रदेशको गौरव मूलमन्त्रका साथ युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गरी सीप र दक्षतासँग आबद्ध गराउँदै लगिनेछ । कृषि विषयमा उच्चशिक्षा हासिल गरेका युवाहरुलाई स्रोतव्यक्ति तथा उद्यमशीलता विकास कार्यक्रम र पढ्दै कमाउँदै अभियानका लागि कृषकसंग विद्यार्थी कार्यक्रम लगायतका युवा लक्षित कृषि ब्यवसाय प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि रु. १० करोड विनियोजन गरेको छु ।
6 कृषिभूमिको खण्डीकरणका कारणले उत्पादकत्व बढाउन कठिन भइरहेको स्थिति छ । यस समस्यालाई सम्बोधन गर्न र व्यावसायिक खेतीका लागि प्रोत्साहन गर्न चक्लाबन्दी सहितको नमूना फार्म स्थापना गर्ने कार्यक्रम संचालन गरिनेछ । यस कार्यक्रमको लागि रु ५ करोड विनियोजन गरेको छु ।
7 बाँझो रहेका खेतीयोग्य जमिन भूमिहीन किसानलाई करारमा दिने कार्यक्रम अनुरुप चालू आर्थिक वर्षमा ३५९ बिगाह जमिनमा करार खेति भइरहेको छ । यस कार्यक्रमको महत्वलाई मनन् गर्दै भूमिहीन किसानको पहुँचलाई सुनिश्चित गर्न कार्यविधिमा परिवर्तन गरी सो कार्यक्रमलाई निरन्तरता दिइनेछ । यस कार्यक्रमअन्तर्गत करारको पहिलो, दोश्रो, र तेश्रो वर्ष क्रमश: १०० प्रतिशत, ५० प्रतिशत र २५ प्रतिशत करार-भाडा प्रदेश सरकारले दिने ब्यबस्थालाई निरन्तरता दिएको छु । स्थानीय तहहरुको सहकार्यमा थप कार्यक्रम संचालन गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
8 भौगोलिक बिबिधताले दिएको तुलनात्मक लाभलाई उपयोग गर्दै फलफूलको उत्पादन बढाई आत्मनिर्भर हुन तराईका जिल्लामा आँप, मेवा, अनार र केरा तथा पहाड र हिमाली जिल्लामा कागती, सुन्तला, स्याउ आदिको व्यावसायिक उत्पादन गर्न प्रोत्साहन गर्ने नीति अनुरुप यस वर्ष २ लाख फलफूलका विरुवा रोप्नका लागि रु. ६ करोड विनियोजन गरेको छु ।
9 कृषकले तरकारी उत्पादन गर्दा रोग, किरा, झार आदिको समस्यालाई समाधान गर्न उत्पादन प्रविधिलाई आधुनिकीकरण गर्ने उद्देश्यले प्रोटेक्टेड हर्टिकल्चर प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ । साथै, स्वस्थ्य एवम् गुणस्तरीय बिरुवाहरु समयमा प्राप्त नहुँदा कृषकहरुले भोगिरहेको समस्यालाई समाधान गर्न एवम् कृषि व्यावसायीकरणमा थप टेवा दिन टिस्यू कल्चर प्लान्ट स्थापनाको लागि आवश्यक रकम विनियोजन गरेको छु ।
10 उत्पादित कृषि वस्तुहरुको उचित व्यवस्थापन, भण्डारण र बजारीकरणका लागि चालू आर्थिक वर्षमा छनौट भएका विभिन्न क्षमताका शीतभण्डारहरुको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ । साथै भौगोलिक क्षेत्र विशेषको आवश्यकताका आधारमा नयाँ शीतभण्डारहरुको निर्माण समेत गर्नका लागि रु. ३५ करोड विनियोजन गरेको छु ।
11 कृषियोग्य जमिनमा पानीको समस्या हुने क्षेत्रहरुमा नविनतम प्रविधिमा आधारित साना सिंचाइ कार्यक्रम ल्याइएको छ । यसका साथै खाद्य सुरक्षाको हकलाई सम्बोधन गर्न खाद्य भण्डारण गृह र सामुदायिक बीउ बैकं स्थापना गरिनेछ । यसवाट कृषि उत्पादन उत्पादकत्व र रोजगारीमा बृद्धि हुने अपेक्षा गरेको छु ।
12 विशेष सम्भावना भएका बाली तथा बस्तुहरु खासगरी लसुन, प्याज, कागती, सुन्तला, बाख्रा र बङ्गुरको मूल्य श्रृखंलामा आधारित रही उत्पादनदेखि बजारीकरणसम्मका मिसन कार्यक्रम संचालन गर्न रु १८ करोड विनियोजन गरेको छु ।
13 माछाको उत्पादन र उपभोग वृद्धिका लागि शुद्ध नश्लका माउ ब्यवस्थापन, भुरा उत्पादन, सघन मत्स्यपालन प्रविधि विस्तार, मत्स्य प्रजनन फर्म सुदृढीकरण, मत्स्य रोग अन्वेषण प्रयोगशाला स्थापना, मत्स्य प्रशोधन तथा दाना उद्योग संचालन तथा बजारीकरणसम्मका कार्यक्रम संचालन गरिनेछ । साथै पहाडी जिल्लामा ट्राउट तथा असला माछाको उत्पादन कार्यक्रम संचालन गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
14 निजी तथा सहकारी संस्थाहरुलाई प्रोत्साहन गर्दै प्राङ्गारिक खेतीका सम्भावित वस्तु र क्षेत्रहरुको पहिचान, उत्पादन र व्रान्डिङ् गरी बजारीकरणलाई सहज बनाउन पकेट क्षेत्र विशेष प्राङ्गारिक कृषि प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछ । कृषि तथा पशुपंक्षी क्षेत्रको औद्योगिकीकरणको लागि बाली, बस्तु तथा क्षेत्र विशेष मूल्य श्रृङ्खलामा आधारित प्रशोधन केन्द्र तथा उद्योग स्थापनामा सहयोग गर्न रु ५ करोड विनियोजन गरेको छु ।
15 कृषि पेशालाई सम्मानजनक पेशाका रुपमा स्थापित गर्न र कृषकहरुलाई सामाजिक सम्मान प्रदान र सहकारीलाई उत्पादनशील क्षेत्रमा क्रियाशील हुन प्रेरित गर्ने व्यवस्थाका लागि उत्कृष्ट कृषक तथा सहकारीहरुलाई प्रादेशिक पुरस्कार प्रदान गर्नका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
16 आयआर्जन, पोषण तथा खाद्य सुरक्षामा कमजोर देखिएका क्षेत्रहरुको पहिचान गरी त्यस्ता क्षेत्रहरुमा गरिबी निवारण र खाद्य तथा पोषण सुरक्षा कार्यक्रम संचालनको लागि सरोकारवाला निकायसँग समन्वय गरी कृषिजन्य बस्तु, दूध, अण्डा र मासुको उपलब्धता तथा पहुंच बढाउने कार्यक्रम सञ्चालन गरिनेछ । खाद्य संस्कृतिको विकासका साथै रैथाने तथा स्थानीय बालीनाली तथा पशुपंक्षीको संरक्षण, संबर्द्धन र प्रयोग अभिबृद्धि गर्न उत्पादन प्रोत्साहन तथा रैथाने बालीहरुको बजार प्रवर्द्धनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
17 उन्नत कृषि बाली, पशुपंक्षी तथा घांसेबालीहरुका श्रोतकेन्द्र स्थापनाका लागि रु ५ करोड ७० लाख बजेट विनियोजन गरेको छु ।
18 कृषि र पशुपालन क्षेत्रमा विभिन्न प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षतिको न्यूनीकरण र उद्धार तथा राहतका कार्यक्रम सञ्चालन गरिनेछ । किसानहरुलाई परेका समस्याहरुको तत्काल समाधान एवम् सूचनामा पहुँच बृद्धि गर्न एस.एम.एस सेवा तथा किसान कल सेन्टर संचालनमा ल्याउन आवश्यक बजेट विनियोजन गरेको छु ।
19 सञ्चालनमा रहेका भेटेरीनरी अस्पतालहरुको समयानुकूल सुदृढीकरण गरी भेटेरीनरी एम्बुलेन्समार्फत मोबाइल भेटेरीनरी सेवाका साथै बिरामी पशुपंक्षी भर्नासम्मका सेवा दिने कार्यक्रमको लागि आवश्यक बजेट ब्यवस्था गरेको छु ।
20 सहकारी क्षेत्रको पूँजीलाई घरेलु तथा साना उद्योग, कृषि उत्पादन, पशुपंक्षी विकास, फलफूल उत्पादन जस्ता क्षेत्रमा परिचालन गरी रोजगारी प्रवर्द्धन गर्न सहकारीमार्फत युवा तथा महिला उद्यमशीलता विकास कार्यक्रमका लागि रु. ८ करोड विनियोजन गरेको छु ।
21 सहकारी सदस्यहरुमा उद्यमशीलता विकास गरी सहकारी विकास कोषमार्फत व्यवस्थित तरीकाले लगानी गर्नको लागि उचित व्यवस्था मिलाई आयमूलक कार्यक्रमहरु संचालन गर्न रु.१५ करोड विनियोजन गरेको छु ।
22 कृषि तथा पशुपंक्षीजन्य र मत्स्य व्यवसायलाई दिगो बनाउन र थप आकर्षित गर्न कृषकले उत्पादन गरेका उत्पादनका आधारमा लक्षित वर्गको बैंक खातामै अनुदान पुग्नेगरी प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम संचालन गर्न रु.१५ करोड विनियोजन गरेको छु ।
23 आगामी आर्थिक वर्ष भूमि व्यवस्था, कृषि तथा सहकारी क्षेत्रका लागि कूल रु. ४ अर्व ७ करोड व्यवस्था गरेको छु ।