बुटवल, जेठ ।
फलफूल, खाद्यान्न, पुष्प, तेलहन, मसलावाली र मासुको क्षेत्रमा प्रदेशलाई अब्बल बनाउनको लागि पाँच नम्बर प्रदेश सरकारले विभिन्न जिल्लामा स्रोत केन्द्र निर्माण गर्ने भएको छ । गत बर्ष नै यस विषयमा संभाव्यता अध्ययन गरिएकोमा यस बर्षको बजेटमा नै उल्लेख गरी स्रोत केन्द्र स्थापना गर्ने कार्यक्रम अगाडि बढाउन लागिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले जानकारी दिइन् ।
उनका अनुसार स्रोत केन्द्रको रूपमा स्थापना भएका केन्द्रहरूले खासगरी उन्नत प्रविधि र जातका विउहरू उत्पादन गरी किसानहरूलाई प्रदान गर्ने गर्दछन् । जसको लागि सरकारी क्षेत्रबाट वा नीजि क्षेत्रबाट के कसरी स्रोत केन्द्र निर्माण गर्न सकिन्छ भन्ने विषयमा अहिले छलफल जारी रहेको मन्त्री पौडेलको भनाइ रहेको छ । एक ठाउँमा स्थापना गरिएको स्रोत केन्द्रबाट प्रदेश भरका विभिन्न जिल्लाहरूमा स्रोतको विस्तार (विऊ) गर्न सकिने गरी प्रदेशले योजना अगाडी बढाएको हो ।
प्रदेशका किसानहरूले एकै स्थानमा प्राप्त सहज रूपमा कुनै पनि बालि वा व्यवसायको उचित बीउ, स्रोत प्राप्त गर्न नसक्दा उत्पादनमा ह््रास आएको निष्कर्ष निकाल्दै प्रदेश सकारले स्रोत केन्द्र स्थापना गर्न लागिएको मन्त्री पौडेलको भनाई रहेको छ । उनी भन्छिन्–‘हामी प्रदेश सरकार आफै वा नीजिफर्म, सहकारी संस्थाहरू, समूहसंगको सहकार्यमा प्रदेश भरीलाई नै पुग्ने गरी विऊ, स्रोत उत्पादान गर्ने योजना अनुसार स्रोत केन्द्रको स्थापना गर्न लागेका हौं । ’
प्रदेश ५ का १२ वटा जिल्लाहरूमा बाख्राको लागि हाल अर्घाखाँची जिल्लाको डिर्भनामा समुदायमा आधारित ब्रिड केन्द्रलाई बाख्राको स्रोत केन्द्रको रूपमा विकास गरिने सोँच मन्त्रालयले बनाएको छ । जसबाट उत्पादन भएका खासगरी उन्नत जातको बोयर बाख्र, बोकाहरू अन्य स्थानमा समेत बिस्तार गर्ने गरी सरकारले यो योजना अगाडी बढाएको हो ।
यस्तै मौरीको स्रोत केन्द्रको लागि दाङ्ग जिल्ला छनौट गरेको छ । यद्यपी यसको अझै फाईनल भने भएको छैन । मौरी पालनको लागि राम्रो सं्रभावना बोकेको जिल्ला दाङ्ग भएको कारण यसलाई छनौट गर्न सकिने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी कृषि प्रशार अधिकृत आशा भण्डारीले जानकारी दिइन् । उनका अनुसार मसलावालीको स्रोत केन्द्रको लागि रोल्पा जिल्लालाई छनौट गर्न सकिने संभावना रहेको छ । यस्तै पुष्पा खेतीको लागि नवलपारी जिल्ला, फलफूलको लागि कपिलवस्तु जिल्लालाई छनौट गरी कार्य अगाडी बढाउन सकिने छ ।
मन्त्रालयले मुख्य मन्त्री संगको छलफलमा अहिले एउटा मात्रै स्रोत केन्द्र नमुनाको रूपमा अगाडी बढाउने गरी प्रारम्भीक छलफल भएको कारण बजेटमा उल्लेख भए अनुसार कुन क्षेत्रमा कुन क्षेत्रको स्रोत केन्द्र अगाडी बढाउने भन्ने विषयमा निर्कोल हुने सूचना अधिकारी भण्डारीको भनाइ रहेको छ ।
फलफूलमा केरा खेतीको लागि रूपन्देही, नवलपरासी, कपिलवस्तु जिल्ला छनौट गर्न सकिन्छ भने कागती खेतीको लागि गुल्मी, पाल्पा, अर्घाखाँची र बाँके जिल्ला समेत राम्रो रहेको उनको भनाई रहेको छ । प्रदेश ५ का १२ वटै जिल्लाले भिन्दा भिन्दै विशेषता बोकेको कारण सबै क्षेत्रलाई समेटेर लैजानु पर्ने आवश्यकता रहेको उनको भनाई रहेको छ ।
प्रदेश सरकारले गत बर्ष एउटा स्रोत केन्द्रको लागि करिब १ करोड बजेट विनियोजन गरी कार्य अगाडि बढाउने योजना ल्याएको थियो । जसको लागि सरकारी क्षेत्रको स्वामित्वमा नै अगाडी बढाउने योजना ल्याएको भएपनि प्रदेशमा कर्मचारी, प्राविधिकहरूको अभाव भएको कारण यसलाई अगाडी बढाउन सकेको थिएन । जसलाई पछिल्लो समयमा नीजी क्षेत्र, सहकारी संस्था, समूह वा अन्य निकाय संगको सहकार्यमा स्रोत केन्द्र अगाडि बढाउने गरी आगामी बजेटमा व्यवस्था गर्न लागिएको छ ।
के हो स्रोत केन्द्र ?
कुनै पनि जाती प्रजातीको प्रजनन् केन्द्रको रूपमा स्रोत केन्द्रलाई लिन सकिन्छ । स्रोत केन्द्रमा विभिन्न प्रविधिबाट उन्नत जातका विऊ प्रयोग गरी विरुवा उत्पादन गरिएको हुन्छ भने पशुजन्य स्रोतमा नश्ल सुधार गरिएका आधुनिक, स्थान र परिवेस सुहाउँदो गरी स्रोत विकास गरिएको हुन्छ । जसलाई मुल बीऊ समेत भन्न सकिन्छ । यसरी स्रोत केन्द्रमा विकास गरिएका उन्नत जात, बीऊ वा अन्य उन्नत स्रोतको विस्तार गरी अन्य परम्परागत रैथाने जातहरू भन्दा उच्च उत्पादन वृद्धिमा विशेष जोड दिने गरिन्छ । प्राविधिकको पुर्णरूपमा निगरानीमा उत्पादन भएका स्रोत (मुल) को बिस्तार गर्दा सोही प्रकृतिको प्राविधिक सल्लाह, रेखदेख हुने भएको कारण उत्पादनमा समेत वृद्धि हुने गर्दछ । (बुटवल टुडेबाट साभार)