बुटवलमा किसानलाई धानको विऊ नि:शुल्क वितरण

  • वडाबाटै किसानलाई प्रोत्साहन
  • बुटवल, जेठ ६ । बुटवल उपमहानगरपालिकाले कृषकलाई धानको बीउ वितरण गरेको छ । किसानलाई खेतीमा आकर्षित गर्दै उत्पादकत्व बढाउने अभियान अन्तर्गत यस्तो कार्यक्रम गरिएको हो ।

    उपमहानगरपालिकाले सोमबार बुटवल–१७ मोतिपुर स्थित सिम्रीक कृषि सहकारी संस्था लिमिटेडसंगको सहकार्यमा त्यहाँ दुईसय एक जना किसानलाई विभिन्न प्रकारका धानको विऊ वितरण गरेको हो । यहाँका किसानहरुले दुई सय १० विगाह क्षेत्रफलमा धान खेती गर्दै आएका छन् । सोही सहकारीको सहकार्यमा बुटवलले किसानको फसल (धान) धितो राखेर सहुलीयत ऋणसमेत प्रवाह गर्दै आएको थियो ।
    कृषकलाई धानको विऊ वितरण गर्दै उपमहानगरपालिकाका कार्यवाहक प्रमुख गुमादेवी आचार्यले किसानलाई खेतीमा आकर्षित गर्न र हौसला बढाउन यस्तो कामको सुरुआत गरिएको बताइन ।

    व्यवसायिक रुपमा खेती गरिरहेका र मूल पेशा नै कृषि भएका किसानहरुलाई लक्षित गरेर अभियान सञ्चालन गरिएको उल्लेख गर्दै उपप्रमुख आचार्यले उत्पादकत्व बढाउने र अरु किसानलाई पनि आकर्षित गर्ने उद्देश्य रहेको बताइन । प्रतिकृषक सात किलोका दरले करिब तीन लाख ४६ हजार एक सय १८ रुपैयाँ बारबरको धानको बीउ निःशुल्क वितरण गरिएको हो ।

    सहकारीमा किसानहरुलाई भेला गराई सावा, सब–१, राम, राधा–४, चैते–५ जस्ता धानका बीउहरु उपलव्ध गराइएको सहकारीका अध्यक्ष गणेशबहादुर गाहाले जानकारी दिए । सहकारीमा आवद्ध कृषकलाई बुटवल उपमहानगरपालिकाको सहकार्यमा धान र तरकारी खेती सम्बन्धी तालीम समेत सञ्चालन गरिएको सिम्रिक सहकारीका व्यवस्थापक खिमानन्द पाण्डेले बताए ।
    वडाबाटै किसानलाई प्रोत्साहन

    बुटवलले कृषि क्षेत्रमा आकर्षित गर्ने गरि अर्को नयाँ कार्यक्रम सुरु गरेको छ । यस्तो कार्यक्रम अब बुटवलका १९ वटै वडाहरुमा सञ्चालन हुने छ । अरुको जग्गा भाडामा लिएर कृषि व्यवसाय गर्नेलाई र उत्पादन गर्ने किसानलाई उत्पादनका आधारमा अब वडाबाटै प्रोत्साहन रकम उपलव्ध गराउन लागिएको बसटवल उपमहानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत भीमनाथ शर्माले जानकारी दिए ।
    यो कार्यक्रम अन्तर्गत छनौट भएका ३७ जना किसानलाई उनीहरुको वडामै पुगेर दुई लाख ९० हजार बराबरको रकम उत्पादनका आधारमा वितरण गर्न लागिएको उपमहानगरका वरिष्ठ अधिकृत विष्णु खनालले जानकारी दिए । यो कार्यक्रमको शुभारम्भ आज (मंगलबार) वडा नं. ११ बाट सुरु गरिने भएको छ ।


    जग्गा भाडामा लिएर कृषि व्यवसाय गर्ने (बालीनाली, फलफुल र तरकारी) लाई प्रोत्साहन अनुदान र उत्पादनका आधारमा अनुदान (तरकारी) कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै कावा प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले उत्पादकत्व बढाउने तर्फ बुटवलले ध्यान दिएको बताए ।

    © 2022 krishipatra All right reserved