पाल्पामा चैते धान हराउँदै

  • अहिले भने यहाँ चैते धान खेती हराउँदै गएको छ 
  • पाल्पा,चैत ।
    पाल्पामा चैते धान रोप्न छाडिएपछि कृषकका दिनहरू फुर्सदिला बनेका छन् । जिल्लाको दोस्रो बालीको रूपमा रहेको धान बाली अन्र्तगत पर्ने चैते धान खेती गर्ने परम्परा यहाँ वर्षेनी कम हुदै गएको छ । गाउँ गाउँका युवा जनशक्ति विदेश पलायन हुन थालेपछि पछिल्लो समय गाउँघरमा चैते धान लगाउन छाडिएको छ । गाउँघरमा युवाजनशक्ति वैदेशिक रोजगारका निम्ति जानेक्रम बढेपछि कामदारको अभावले गर्दा पनि कृषकले चैते धान खेती लगाउन छाड्दै गएका हुन्


    सिंचाईं सुबिधा पुगेका स्थानमा कृषकले अनिवार्यजसो चैते धान रोप्ने चलन थियो तर हिजोआज भने सिंचाई भएका स्थानमा पनि चैते धान रोप्न छाडिएको छ । अर्कोतर्फ शहरउन्मुख हुदै गरेका नगरपालिका तथा गाउँपालिकाका विभिन्न गाउँ गाउँमा पुगेर जग्गा दलालले खेतीयोग्य भूमि खरीद गरी प्लटिङ्ग गर्न थालेपछि खेती गर्न छाडिएको हो ।

    धान खेतीको लागि मुख्य अन्न भण्डारको रूपमा मानिएको माडीफाँटका खेत पहिले पहिले चैते धानले हरियाली हुन्थ्यो तर अहिले भने यहाँ चैते धान खेती हराउँदै गएको छ । सिंचाईको सुविधा भएको पूर्वखोला फाँटभरी नै चैते धान रोप्ने र यही धानबाट वर्षदिन सम्म खान पु¥याउने गरेका कृषकले हिजोआज भने कमै मात्रामा धान रोप्ने गरेको पाइन्छ । गाउँबाट पढाई, रोजगारको शिलशिलामा युवाजनशक्ति शहरतिर पस्न थालेपछि सिंचाई सुबिधा पुगेपनि खेती गर्न समस्या भएको कृषकहरू बताउँछन् ।

    धान उत्पादनको पकेट क्षेत्र रहेको रामपुर फाँटका विभिन्न खोला खेतमा सिंचाई सुबिधा पुगेपनि अहिले चैते धान लगाउन कृषकले छाड्दै गएका छन् । शहरउन्मुखतिर अगाडी बढ्दै गरेको रामपुर क्षेत्रका विभिन्न स्थानमा जग्गा प्लटिङ्ग गरेर लाखौँ मुल्यमा आनामा बिक्रि हुन थालेपछि कृषकले खेती गर्न छाडेका हुन् । यसले एकातिर खेतीयोग्य जमिन घट्दो अर्कोतर्फ कृषक सुख सुबिधाभोगी हुन थालेपछि चैते धान खेती गर्ने परम्परा हट्दै गएको हो ।
    रातारात दलालले खेतीयोग्य भुमी प्लटिङ्ग गरेर किनबेच गर्न थालेपछि खेती गर्ने कृषक पनि घट्दै गएका छन् । रामपुर फाँटमा सिंचाईको सुविधा भएपनि धान लगाउने जमिन दिनानुदिन घट्दै गएको छ । रामपुर नगरपालिका क्षेत्रमा एक हजार रोपनी भन्दा बढी क्षेत्रफलमा चैते धान लगाइदै आएकोमा हाल ५० रोपनीमा पनि बढो मुस्किलले धान लगाइने गरेको पाइएको छ ।

    जिल्लामा करिव सात सय हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिने कृषि ज्ञानकेन्द्र पाल्पाको तथ्यांक छ । कृषकले स्थानिय चैते २, चैते ३ र हर्दिनाथ जातको धान लगाउदै आएका छन् । जिल्लाको माडीफाँट, रामपुर, अर्गली, पूर्वखोला लगायतका स्थानमा चैते धान खेती लगाइदै आएकोमा अहिले यी स्थानका अधिकांश क्षेत्रफलमा धान लगाउनै छाडिएको छ ।

    असारमा लगाएको धानको तुलनामा चैतमा लगाएको धानको चामल बढी पर्ने गरेपनि कामदार अभाव, खेतीयोग्य भूमी घर घडेरीमा परिणत, सिंचाईको प्रयाप्त सुबिधा नुहुनु जस्ता कारणले उत्पादन क्षेत्रफल वर्षेनी घट्दै गएको छ । खेती गर्न भन्दा बजारमा खरिद गरेर खाने प्रवृत्ति कृषकमा पछिल्लो समय बढ्दै गएकोले पनि चैते धान हराउदै गएको छ ।
    चैते धान मोटा अन्र्तगत पर्ने हुनाले चिउराको प्रयोजनका लागि अत्यन्त राम्रो मानिन्छ । बर्षे धान भन्दा बढी मेहनत गर्नुपर्ने अर्कोतर्फ यसको व्याड तयार गर्न सजिलो नहुने, बर्षे धानको व्याडको तुलनामा चैते धानको व्याड उतार्न अत्यन्त कठिन, मौसम, तापक्रम राम्रो नभए विउ नउम्रने जस्ता समयाले गर्दा पनि धेरैले खेती गर्न बिस्तारै छाड्दै गएका हुन् । सिंचाईको लागि भरपर्दो माध्यम नै नभएको कारण बर्षे धानलाई समेत सिंचाई सुविधा पु¥याउन निकै कठिन भएको कृषकहरू बताउछन् ।

    वर्षे धान खेती, उत्पादन बढ्दो क्षेत्रफल घट्दो
    चैते धान खेतीसंगै वर्षे धान खेतीको क्षेत्रफलमा पनि साँघुरिन थालेको छ । पाल्पामा धान उत्पादन बढ्दो रहेपनि क्षेत्रफल वर्षेनी घट्दै जादा बाहिरी जिल्लाबाट धान, चामल निकासी गर्नुपर्ने अवस्था छ । आ.व. ०७५/०७६ मा ३६ हजार चार सय ८५ मेट्रिकटन वर्षे धान उत्पादन भएको छ । आठ हजार छ सय २० हेक्टर धान खेतीको क्षेफलमध्ये प्रतिहेक्टर ४.२४ प्रतिशतले उत्पादकत्व बृद्धि भएको छ । गतवर्षको तुलनामा यसवर्ष चार प्रतिशतले अनुमानित धानको उत्पादन बृद्धि भएको छ ।
    गतवर्ष जिल्लामा सोही क्षेत्रफलमा ३५ हजार ८२ मेट्रिकटन धान उत्पादन भएको थियो । उत्पादकत्व प्रतिहेक्टर ४.०७ र आ.व.०७३÷०७४ मा ३३ हजार आठ सय ९६ मेट्रिकटन धान उत्पादन भएको छ भने प्रतिहेक्टर ३.९४ उत्पादकत्व रहेको छ । यसवर्ष समयमा नै धान रोपाई, प्रयाप्त वर्षा, उन्नत जातको धानको वीउ प्रयोग, रोग किराहरूले आक्रमण कम गर्नु जस्ता कारणले धान उत्पादन बढेको पाइएको छ । कृषकले सावित्री, रामधान, सावा मन्सुली, सुख्खा, खुमल चार, उन्नततर्फ यएस ३१२, युएस ३८२ जातको धान लगाउँदै आएका छन् ।

    जिल्लाको रामपुरफाँट, माडीफाँट, अर्गलीफाँट, दोभान, हुँगी लगायतका क्षेत्र धान उत्पादनको लागी मुख्य पकेट क्षेत्र मानिन्छ । थोरै समथरभूमि र धेरै डाडाँकाडा भूभाग रहेको हुँदा धानखेती कमै क्षेत्रमा मात्र लगाइने गरिन्छ । यस जिल्लामा उत्पादन भएको धानले खान नपुगेपनि अन्य बालीहरू गहुँ, मकै, मौसमि तथा बेमौसमि तरकारी बालीमा कृषकहरू आत्मनिर्भर बनेका छन् । à

    © 2024 krishipatra All right reserved