टिकट काटेर कृषि फर्म हेर्ने किसानको घुइँचो

बुटवल,  चैत । रूपन्देही जिल्लामा रहेका विभिन्न कृषि फर्म, रिसर्च सेन्टरहरू पछिल्लो समयमा पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै आएका छन् । पर्यटकीय गन्तव्यको रूपमा विकास भएका कृषि फार्ममा प्रयोग गरिएको नौलो प्रयोगले अन्तरिक र वाह्य पर्यटकहरू तान्दै आएका छन् ।

नेपालकै सबैभन्दा ठूलो गाईफर्मको रूपमा रहेको रूपन्देही जिल्लाको तिलोत्तामा नगरपालिका वडा नम्बर–१४ मा रहेका लुम्बिनी एग्रो पोडक्टर एण्ड रिसर्च सेन्टर प्रालि पछिल्लो समयमा पर्यटक तान्ने स्थानको रूपमा परिणत हँुदै गएको छ । मेसिनबाट गाई दुहीएको हेर्ने र सबैभन्दा ठूलो गाई फर्मको विशेषता थाहा पाउन नेपालका विभिन्न जिल्लाहरू बाट सयौंको संख्यामा आगन्तुकहरू आउने गरेका छन् ।

नेपाल सरकारबाट विकास रत्न र जनसेवा श्री बाट सम्मानित शसी पौडेलले सञ्चालन गरेको नमुना गाई फर्म हेर्न अहिले दैनिकजसो २ सय देखि ५ सय जना व्यक्तिहरू आउने गरेका छन् । नेपालकै सबैभन्दा ठूलो गाई फर्मको रूपमा पहिचान बनाएको लुम्बिनी एग्रो प्रोड्क्ट एण्ड रिसर्च सेन्टर तिलोत्तमा नगरपालिका वडा नम्बर १४ मा रहेको छ ।

५ सय भन्दा बढि गाईहरू रहेको उनको फर्ममा नेपालका पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका कृषक समूह, सहकारी संस्था, सरकारी तथा गैर सरकारी संघ संस्था वा व्यक्तिहरू समूह नै बनाएर अध्ययन अवलोकनको लागि आउने गरेका हुन् ।

दैनिक फर्म अवलोकन गर्न आउने व्यक्तिहरूको लागि प्रति व्यक्ति ५० रूपैयाँ र समूहमा आउनेलाई २ हजार रूपैयाँ अबलोकन शुल्क लिँदै आइएको छ । बर्दियाको ठाकुरद्धारमा रहेको साना किसान कृषि सहकारी संस्थाबाट फर्म अवलोकनका लागि आएकी मेनुका पोखरेलले किसानले पनि व्यवसायिक रूपमा नमुना कार्य गर्न सक्दछन् भन्ने उदाहरण पेश गरेको बताइन् । उनले यसरी नै अध्ययन अवालेकन बाट कृषि क्षेत्रमा नै केही नयाँ कार्य गर्न प्रेरणा मिल्ने समेत बताइन् ।
उनले भनिन्–‘यहाँ आएर धेरै सिक्ने मौका मिल्यो, मेसिनबाट गाई दुहिन्छ भनेर सुनेकी थिई, पहिलो पटक आफ्नै आँखाले हेर्न पाए, खुसी लाग्यो । ’
१ सय ४० जना किसानहरू सहभागी भएर आएका गाई फर्ममा गाई मेसिनबाट दुहेको देखि त्यहाँ जडान गरिएका अत्याधुनिक उपकरणहरू अवलोकन गरेका थिए ।

अवलोकनबाट सिकेको सिप लाई व्यवहारमा लगाउनको लागि किसानहरूलाई थप प्रोत्साहन हुने साना किसान कृषि सहकारी संस्था ठाकुरद्वार बर्दियाका अध्यक्ष देवानन्द रेग्मीले बताए । रेग्मीले ७ हजार बढि सदस्य रको साना किसान कृषि सहकारी संस्थाले निकट भविष्यमा आफ्ना सदस्यहरू पहिचान गरी व्यवसायीक रूपमा पशुपालनको योजना बनाएको समेत जानकारी दिए । उनले भने–‘व्यवसायिक रूपमा पशुपालन गर्ने योजनामा रहेका सदस्यहरूलाई हामीले सहुलियत दरमा कर्जा समेत प्रदान गर्ने योजना बनाएका छौं ।’

वि.सं. २०६५ सालमा गाई फर्म निर्माण सुभारम्भ गरिएको लुम्बिनी एग्रो पोड्क्ट एण्ड रिसर्च सेन्टरले वि.सं.२०६७ सालदेखि गाईपालन सुरु गरेको हो । फर्ममा हाल ५ सय भन्दा बढि गाई रहेका छन् । यसलाई १ हजार गाईको संख्या पु¥याउने लक्ष्य लिएको उनको भनाइ छ ।

सञ्चालक पौडेलले यसलाई एग्रो टुरिजमको रूपमा विकास गर्ने लक्ष्य रहेको बताउँछन् । गाडी सहित आएका किसानहरूलाई प्रति गाडी २ हजार र व्यक्तिगत आएमा ५० रूपैयाँ प्रतिव्यक्ति टिकट शुल्क लिएर अवलोकनको लागि लिने गरेको जानकारी दिए । उनले भने–‘हामीकहाँ आउने जो कोहीलाई आफूले सिकेको, जानेको सिप सिकाउने गरेका छौं ।’ जसले अन्य व्याक्तिहरू पनि व्यवसायिक रूपमा किसान बन्न सकुन् भन्ने हाम्रो उद्देश्य हो ।
दैनिक दुई हजार लिटर दुध उत्पादन हुने उक्त फर्मले निकट भविश्यमा आफ्नै प्रोड्क्ट बजारमा लैजाने योजना बनाएको छ । अमेरिकाको ग्रीनकार्ड त्यागेर स्वदेशमा नै गाईको गोठालो बनेका कृषि उद्यमी शशी पौडेलको सफलताको कथाबाट धेरैले पाठ सिक्न जरुरी रहेको छ ।


यस्तै, तिलोत्तमा नगरपालिकाको गंगोलियामा रहेको अस्ट्रिच फार्ममा दैनिक एक हजारको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । त्यसबाट अस्ट्रिच नेपाल प्रालिले वार्षिक ५०–६० लाख रूपैयाँ आम्दानी गर्छ । लुम्बिनी आउने आन्तरिक पर्यटकमध्ये ५० प्रतिशतले अस्ट्रिच हेर्ने गरेका छन् । यहाँ १५–२० प्रतिशत बाह्य पर्यटक आउने गरेका छन् । विश्वका सीमित देशमा अस्ट्रिच पालन हुने भएकाले बाह्य पर्यटकलाई यसले आकर्षित गरेको हो । दक्षिण कोरिया, मलेसिया, चीन, जापान, नेदरल्यान्ड, इजरायल, भारतका राजदूत, उच्चपदस्थ अधिकारी तथा अनुसन्धान टोलीले फर्मको अवलोकनपछि यसलाई नमुनाको रूपमा विकास गर्न सुझाव दिएको अस्ट्रिच नेपाल प्रालिका सञ्चालक सिपी शर्माले बताए ।

यो फार्ममा अहिले माउ चल्ला गरी ६ हजार अस्ट्रिच छन् । एउटा वयस्क अस्ट्रिचको तौल दुई सय किलोसम्म हुन्छ । अण्डा दुई किलो । प्वाँख र छालाबाट जुत्ता, ज्याकेट बनाउन प्रयोग हुन्छ । बोसो सौन्दर्य क्रिमको कच्चा पदार्थ हो । कोलेस्ट्रोल फ्री हुने अस्ट्रिचको मासु स्वाथ्यका लागि सबैभन्दा उत्तम मानिन्छ । फर्म परिसरमा अस्ट्रिच, लोकल कुखुरा, माछा तथा अर्गानिक परिकारको रेस्टुराँ सञ्चालन गरिएको छ । सञ्चालक शर्माले यसलाई अस्ट्रिच अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने लक्ष्य लिएका छन् ।

यि केही प्रतिनिधि उदाहरण मात्रै हुन, रूपन्देहीका रहेका विभिन्न व्यवसायी कृषि फर्महरूले आन्तरिक र वाह्य पर्यटक तान्ने गरेका छन् । माछाको राजधानीको रूपमा पहिचान बनाएको सियारी गाउँपालिकाको छपिया क्षेत्रमा पनि दैनिक सयौं आन्तरिक र वाह्यक पर्यटकहरू जाने गरेका छन् ।

दैनिक दुई हजार लिटर दूध उत्पादन हुने उक्त फर्मले निकट भविष्यमा आफ्नै प्रोड्क्ट बजारमा लैजाने योजना बनाएको छ । अमेरिकाको ग्रीनकार्ड त्यागेर स्वदेशमा नै गाईको गोठालो बन्नुमा मलाई गर्व लागेको छ ।
शसी पौडेल
सञ्चालक, लुम्बिनी एग्रो प्रोड्क्ट एण्ड रिसर्च सेन्टर प्रालि

BY:butwal today

 

© 2022 krishipatra All right reserved