
बुटवल, चैत । तिलोत्तमा नगरपालिका वडा नम्बर–१२ मक्रहरका मुकुन्द बहादुर मल्ल अहिले मख्ख छन् । विगतका दिनहरूमा स्थानीय जातको गहुँ लगाउँदै आएका उनको खेतमा अहिले तिलोत्तमा नगरपालिकाले अनुदानमा उपलब्ध गराएको उन्नत जात गहुँ लटरम्म फलेको छ ।
बेला बेलामा खेतबारीमा धाईरहने उनी गहुँका बाला देखेर मख्ख छन् । ८ विघा क्षेत्रफलमा गहुँ खेती गरेका उनी विगतका दिनहरूमा भन्दा यस पटक गहुँको उत्पादन वृद्धि हुनेमा विश्वस्त छन् ।
उनी जस्तै तिलोत्तमा नगरपालिका वडा नम्बर–१७ गंगोलियाका किसान दयाराम थारु पनि उत्पादन वृद्धि हुनेमा ढुक्क देखिन्छन् । कारण हो तिलोत्तमा नगरपालिकाको कृषि विकास शाखाले ४० प्रतिशत अनुदानमा उपलब्ध गराएको उन्नत जातको गहुँको बीउ लगाएका उनी विगतका दिनहरूमा भन्दा यस बर्ष उत्पादन वृद्धि हुनेमा आशावादी देखिएका हुन । ५ विघा क्षेत्रफलमा गहुँ लगाएका उनको खेतमा लहलाउँदो गहुँका बाला झुलीरहेको छ । तिलोत्तमा नगरपालिकाले गहुँमा किसानहरूलाई आकर्षित गर्दै आत्मनिर्भर बनाउने उद्देश्यका साथ ४० प्रतिशत अनुदानमा गहुँको बीऊ उपलब्ध गराएको थियो ।

जीवन अचार्य बागवानी विकास अधिकृत(प्रमुख) कृषि विकास शाखा, तिलोत्तमा नगरपालिका ।
नगरपालिका कृषि विकास शाखा प्रमुख बागवनी विकास अधिकृत जीवन आचार्यका अनुसार नगरपालिकाले कुल ६३ हजार ८ सय २० किलोग्राम गहुँको बीउ किसानहरूलाई उपलब्ध गराएको थियो ।
सहकारी मार्फत व्यवसायिक रूपमा कृषि प्रणालीमा आवद्ध भएका किसानहरूलाई उनीहरूको आवश्यकता अनुसार गहुँको बीऊ अनुदानमा उपलब्ध गराइएको कृषिविकास शाखा प्रमुख आचार्यको भनाइ रहेको छ ।
कृषि विकास शाखा प्राविधिक सहायक (प्रास) युवराज ढकालका अनुसार जनउत्थान सहकारी संस्था र आनन्दबन सहकारी संस्था बापत किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराइएको थियो । जनउत्थान सहकारी संस्थाबाट ५१ हजार २ सय ४० किलोग्राम र आनन्दवन सहकारी संस्था मार्फत कुल १२ हजार ५ सय ८० किलोग्राम गहुँको बीउ वितरण गरिएको थियो । प्राविधिक सहायक ढकाल भन्छन्–‘किसानको खेतमा उत्पादन भैरहेको गहुँको उत्पादन अवस्था (ग्रोथ रेट) अनुसार जात हेरिकन ५ देखि ८ प्रतिशत सम्म उत्पादन वृद्धि हुने अनुमान हामीले गरेका छौं ।’
केही समय पहिला किसानले खेतमा लगाएको गहुँको उत्पादनको अवस्था, उत्पादन प्रक्रिया, किसानहरूको अपेक्षा÷प्रतिक्रिया बुझ्नको लागि तिलोत्तमा नगरपालिका कृषि विकास महाशाखाले अनुगमन समेत गरेको थियो ।

युवराज ढकाल, प्रासा, कृषि विकास शाखा ।
किसानलाई उन्तत जातको भृकुटी, विजय, एनएल २९७ नामका तीन वटा भिन्दा भिन्दै जातको गहुँको बीऊ प्रदान गरिएको प्राविधिक सहायक ढकालको भनाई रहेको छ । नगरपालिकाले उपलब्ध गराएको अनुदानको विउ सबैभन्दा बढि मुकुन्द बहादुर मल्लले मक्रहरमा ८ विघा लगाएका छन् । यस्तै दयाराम थारुले गंगोलियामा ५ विघा, कृष्ण बहादुर पुुनले ५ विघा, खेम थापाले मधवलियामा ३ विघा, राम गुप्तथारुले तिनपा–१५ मा २ विघा, छेकी प्रसाद यादवले तिनपा–१० मा २ विघा अनुदानको गहुँको बीऊ लगाएका छन् ।
किसानहरूले नगरपालिकाले अनुदानमा उपलब्ध गराएको बीऊ परिक्षण, लगायतका सबै प्रक्रियाहरू पुरा भएको गहुँ भएको कारण उत्पादन वृद्धि हुनेमा आफूहरू विश्वस्त भएको प्रतिक्रिया दिएका छन् । स्थानीय जातहरू भन्दा अनुदानमा उपलब्ध गराइएको जातहरू उन्नत बीऊ भएको कारण पनि उत्पादन वृद्धि हुनेमा आफूहरू विश्वस्त भएको किसान दयाराम थारुले बताए ।
तिलोत्तमा नगरपालिकाभित्र कुल खेतीयोग्य जमीन ८ हजार ७ सय ३६ हेक्टर रहेको छ । जसमा गहुँ वालीले ढाकेको क्षेत्रफल ६ हजार ८ सय ८८ हेक्टर रहेको छ । सोही क्षेत्रफल भित्र अनुदानको गहुँको बीऊ कुल ६ सय ३८ हेक्टर क्षेत्रफलमा र स्थानिय जातको गहुँको बीऊ ५० हेक्टर लगाइएको नगरपालिका कृषि विकास शाखाले जनाएको छ ।
तिलोत्तमा नगरपालिका पालिकाले कृषि शाखाले आगामी दिनमा नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउनको लागि किसानलाई सक्षम र आधुनिक प्रविधियुक्त बनाउने लक्ष्य लिएको जनाइको छ । कृषि विकास शाखा प्रमुख वागवानी विकास अधिकृत जीवन अचार्यले नगरपालिकाका विभिन्न स्थान÷ क्षेत्रलाई विशेष उत्पादन क्षेत्र घोषणा गरि प्राथमिकताको आधारमा किसानालाई सेवा सुविधा प्रदान गर्ने जानकारी दिए । उनले हाल तरकारी, मकै पटके क्षेत्र घोषणा गरी कार्यक्रम अगाडी बढाईरहेको जानकारी दिदै आगामी बर्षहरूमा किसानालई आवश्यक पर्ने कृषि औजार, सामग्रीहरू पुर्ण अनुदानमा उपलब्ध गराउदै कृषि उत्पादनमा दोब्बर गरी निर्यात समेत गर्ने लक्ष्य लिएको जानकारी दिए ।