यान्त्रीकरण सिक्दै रुपन्देहीका किसान

  • बिस्तारै किसानहरूले पनि यान्त्रीकरणमा जोड दिएको बताउँछन् 
  • बुटवल,  चैत ।  रूपन्देहीको सुद्धोधन गाउँपालिका वडा नम्बर २ हिरापुरका विष्णु पाण्डे विद्यार्थी हुन् । बुटवल बहुमुखी क्याम्पसमा विविएस दोस्रो समेष्टरमा अध्ययन गर्दै आएका उनले वाकिङ्ग रिपर अर्थात हिँड्दै धान र गहुँ काट्ने मेसिन चलाउँदै आएका छन् । सीजनको बेला उनलाई काम गर्नको लागि भ्याई नभ्याई हुन्छ । अहिले गहँु काट्ने सिजन भएको कारण उनलाई विभिन्न किसानहरूले बोलाउने गरेका छन् । एक घण्टामा १० कठ्ठा सम्म धान काट्न सकिने उनको वाकिङ्ग रिपरले सीजनको बेला राम्रै कमाउँछ ।

    २ लाख ४० हजार रूपैयाँ हालेर बुटवलबाट खरिद गरेका उनी आफै नै रिपर चलाउँदै आएका छन् । प्रति घण्टा १२ सय रूपैयाँ लिने गरेका उनले गाउँमा नै सोही मेसिनबाट राम्रो आम्दानी गर्दै आएका हुन् ।
    ‘गाउँमा खेताला पाउन मुस्कील छ, त्यसकारण रिपरबाट गहुँ तथा धान काट्नको लागि भ्याई न भ्याई हुन्छ’– उनले भने । गाउँमा उनी जस्तै एक सहकारी संस्थाले पनि सोही मेसिन खरिद गरी सञ्चालन गर्दै आएको छ । डिजल र पेट्रोल ईन्जीन दुबैमा उपलब्ध रहेको रिपर खासगरी स–सानो भू–भाग भएको जमिनको लागि उत्तम हो ।
    उनी जस्तै रूपन्देही रोहणी गाउँपालिका वडा नम्बर ५ का किसान रविन्द्र नाथ चौधरीले पनि आधुनिक यान्त्रीकरणको रूपमा कम्बाईन्ड हारभेष्टर खरिद गरेर सञ्चालन गर्दै आएका छन् । खासगरी ठूलो क्षेत्रफल रहेको स्थानमा कम्बाईन्ड हारभेष्टरको काम बढि हुन्छ ।

    चौधरीले हारभेष्टर चलाउनकै लागि भारतबाट चालक समेत ल्याएर राखेका छन् । कुल १६ लाख रूपैयाँ भारतीय मूल्यमा खरिद गरी ल्याएको कम्बाईन्ड हारभेष्टरले गहुँ, तथा धान काट्नुको साथै गहुँ र धानको गेडा नै छुट्टाएर एकै पटक सुकाउन मिल्ने गरी फाल्ने गर्दछ ।
    ज्यालादारमा काम गर्ने व्यक्तिहरू नपाउने गरेको कारण यसरी यान्त्रीकरणको माग बढि भएको उनको भनाई रहेको छ र रविन्द्र नाथ चौधरी भन्छन्–‘ज्यालादारी कर्मचारीको अभाव रहेको छ, जसले गर्दा यन्त्रीकरणमा विशेष जोड दिएको हो । ’


    उनले प्रति घण्टाको ५ हजार रूपैयाँ लिएर सेवा प्रदान गर्दै आएका छन् । यस्तै प्रति विघा जग्गाको धान वा गहुँ काट्न परेमा पनि छ हजार रूपैयाँ लिने गरेका हुन । ‘सिजनको बेला खोसा खोस हुन्छ, माग पु¥याउन नै मुस्कील हुन्छ ।’– उनले भने ।
    मेसिन विग्रीएमा नेपालमा सहज रूपमा मेकानी र उपकरण नपाइने समस्या भने रहेको किसान चौधरीको भनाइ रहेको छ । सरकारले मेसिन किन्नको लागि भन्सारमा कृषि छुट १ प्रतिशत गर्ने गरेको तर भागतबाट थप मर्मत संहारको लागि पार्ट पुर्जा ल्याउँदा छुट नदिने गरेको कारण आफू मर्कामा परेको उनको भनाइ रहेको छ ।
    किसानहरूले कम्बाईन्ड हारभेष्टरले धान, गहुँ काटेको हर्ने, सिक्न समेत विभिन्न स्थानबाट आउने गरेको किसान चौधरीको भनाइ रहेको छ ।
    रूपन्देही, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाहरूमा बढि मात्रामा धान र गहुँ खेती हुने भएको कारण यस क्षेत्रमा भारतबाट समेत भाडामा कम्बाईन्ड हारभेष्टर आउने र सिजनका धान र गहुँ काटेपछि फेरि भारत नै जाने गरेको पाइएको छ ।

    अन्तर्राष्ट्रिय मकै तथा गहुँ अनुसन्धान केन्द्र (सिमिट) परियोजना अन्तर्गतको सिसा परियोजनाका कृषि अर्थशास्त्री गोकुल प्रसाद पौडेलका अनुसार नेपालमा सन् २०१८ को तथ्यांक अनुसार ६ सय ५० वटा भन्दा बढि कम्बाईन्ड हारभेष्टर रहेको पाइएको छ । सिजनको बेलामा भारतबाट करिब ५० प्रतिशत जती कम्बाईन्ड हारभेष्टर नेपालमा आउने गरेको उनको भनाई रहेको छ । नेपालमा कुल ३२ लाख रूपैयाँ देखि ५० लाख सम्मको कम्बाईन्ड हारभेष्टर बिक्री हुँदै आएका छन् । नेपालमा सानो स्केलको धान र गहुँ काट्नको लागि प्रयोग हुने रिपरको संख्या करिब २८ सय भन्दा बढि रहेको पाइएको छ ।

    प्रधानमन्त्री कृषि आधुनीकरण परियोजनाका महानिर्देशक लक्ष्मण पौडेलका अनुसार कृषि पूर्वाधारको विकासमा पछिल्लो समयमा सरकार लागि परेको बताउँछन् । उनका अनुसार पछिल्लो समयमा किसानहरूले समेत यसमा बढि भन्दा बढि चासो दिने गरेको कारण समेत सरकारले समेत विशेष अनुदानमा उपकरण प्रदान गर्दै आएको बताउँछन् । ज्यादारी मजदुरहरूको अभावको कारण पनि किसानहरूले बिस्तारै यान्त्रीकरणमा चासो देखाएको महानिर्देशक पौडेलको भनाइ रहेको छ ।

    कृषि विभागका उप महानिर्देशक मधुसिंह कुमार बस्नेतले कृषि क्षेत्रको विकासको लागि सरकारले यान्त्रीकरणलाई पहिलो प्राथमिकतामा राखेको बताउँछन् । उनले किसानको नाफा भन्दा बढि लागत भएको कारण पनि सरकारले यान्त्रिकरणमा विशेष जोड दिएको बताए । नेपालमा कृषि सम्बन्धी यान्त्रिकरणको ढुवानी गर्दै आएको एच्.के.टी. नेपाल प्रालिका प्रमुख कृष्ण शर्माले बिस्तारै किसानहरूले पनि यान्त्रीकरणमा जोड दिएको बताउँछन् ।

    उनले किसानको उत्पादन लागत घटाउनको लागि यान्त्रीकरणले विशेष योगदान दिने भन्दै यान्त्रीकरणले २० प्रतिशत उत्पादन बढाउनुको साथै लागतमा २५ प्रतिशत सम्म कम गर्ने समेत बताए ।
    नेपालमा कृषि यान्त्रीकरणको लागि काम गर्दै आएको कृषि विभाग अन्तर्गतको कृषि पूर्वाधार विकास तथा यान्त्रीकरण प्रर्वद्धन केन्द्रका प्रमुख राजेन्द्र प्रसाद मिश्रले पनि सरकारले यान्त्रीकरणमा विशेष जोड दिनु उत्पादन लागत घटाउनु नै रहेको बताउँछन् । उनी भन्छन्–‘किसानको उत्पादन लागत घटाई बढि भन्दा बढि नाफा कमाउनको लागि प्रेरित गर्नु नै सरकारले यान्त्रीकरणमा विशेष जोड गरेको हो ।’ source: Butwal today daily

    © 2022 krishipatra All right reserved