बुटवल, चैत
प्रदेश पाँच सरकारले स्मार्ट कृषि गाउँ छनोट गरेको रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ पश्चिम पहुनीमा बाख्रा पालन कार्यक्रमको घोषणा गरिएको छ ।
सोमबार एक समारोहका बीच प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले बाख्रा पालन कार्यक्रमको घोषणा गर्नुभएको हो । त्यस अवसरमा उनले बाख्रापालनका लागि निर्माण गरिने भवनको समेत शिलान्यास गनुभएको थियो ।
कृषि स्मार्ट गाउँमा अव बाख्रा पालनका लागि भौतिक पूर्वाधार निर्माणको काम सुरु गरिने र यसका लागि गाउँका ५३ घरपरिवारलाई सहभागी गराइने छ । कृषि स्मार्ट गाउँका लागि प्रदेश सरकारबाट प्राप्त हुने ५० लाख र स्थानीयको १० लाख बजेट खर्च गरिने छ भने यो कार्यक्रम निरन्तर चार वर्षसम्म चल्ने छ ।
कार्यक्रममा बोल्दै उद्योगमन्त्री गिरीले आम युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाएर आत्मनिर्भर बनाउन कृषि स्मार्ट गाउँ उपयोगी सिद्ध हुने बताउनुभयो–“यसले गाउँका युवालाई विदेश पलायन हुनबाट रोक्ने छ भने आफ्नै गाउँमा स्वरोजगार बन्न सहयोग पुग्ने छ”–उहाँले भन्नुभयो ।
उहाँले कृषि क्षेत्रबाटै मुलुक आत्मनिर्भर हुने भएकाले प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिएर कृषि स्मार्ट गाउँको अवधारणा ल्याएको र कार्यान्वयन समेत थालेको बताउनुभयो । । कार्यक्रममा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अनुगमन महाशाखाका प्रमुख उप सचिव विनोद घिमिरेले प्रदेशमा छनौट भएका ५२ वटै स्मार्ट कृषि गाउँमा नमूना कार्यक्रम सञ्चालन गरिने र त्यो सबै युवायुवतीका लागि प्रेरणा बन्ने बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन कृषि स्मार्ट गाउँ कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।
तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले तिलोत्तमामा छनोट भएको कृषि स्मार्ट गाउँलाई नमूना बनाउन स्थानीय सरकारको तर्फबाट पूर्णरुपमा सहयोग पु¥याइने कताउनुभयो । कार्यक्रममा तिलोत्तमा वडा नम्बर ६ का वडाअध्यक्ष सुखदेव न्यौपानेले बाख्रा पालनको रुपमा घोषणा गरिएसँगै अव कृषि स्मार्ट गाउँमा पूर्वाधार निर्माणका काम अघि बढ्ने बताउनुभयो ।
प्रदेश पाँच सरकारले कृषि र पशुजन्य उत्पादन दोब्बर बनाउने उद्देश्यले प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रमा ५२ वटा स्मार्ट कृषि गाउँ बनाउने कार्यक्रम अन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ (१) को तिलोत्तमा नगरपालिका–६ स्थित पश्चिम पहुनी गाउँ बाख्रापालनका लागि छनोट भएको हो ।
बाख्रा मात्रै पाल्ने गरी स्मार्ट कृषि गाउँका लागि छनोट भएको यो पहिलो गाउँ बनेको छ । यहाँका ५३ घरधुरीबाट सबैको सामुहिक सहभागितामा पश्चिम पहुनी बाख्रापालन समूह गठन गरी यही आर्थिक वर्षभित्रै बाख्रापालन सुरु हुने छ ।
बाख्रापालनका लागि खोर बनाउन, घाँस लगाउन स्थानीय सत्यजित आधारभूत विद्यालयको साढे २ बिघा जग्गा १५ वर्षका लागि समूहले भाडामा लिएको छ । यहाँ उन्नत जातका बाख्रा पालनसंगै नश्न सुधार केन्द्र पनि स्थापना गर्ने लक्ष्य रहेको समूहका अध्यक्ष देवीप्रसाद भुसालले बताउनुभयो ।
अहिले यो गाउँमा स्थानीय जातका ५०० बाख्रापालन भइरहेको छ । सुरुमा पांचसय बाख्रा पालनबाट सुरु गरी अर्को वर्ष दुई हजार र ५ वर्षभित्र १५ हजार बाख्रा पु¥याइने भुसालले बताउनुभयो ।